प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि गरेको छ । मंगलबार विहान बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम (आधा किलो) मात्रै सक्कली सुन भएको पुष्टि भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताए । बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलन मार्फत उनले बताए ।
प्रहरीले मंगलबार विहान कृष्ण पाउनरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।
प्रकाशित: १३ श्रावण २०७७ ११:०२ मंगलबार





