नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार बारा परवानीपुर गाउँपालिका–४ निवासी १७ वर्षीय किशोरी र वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया जेष्ठ नागरिकको मृत्यु भयो। यससँगै प्रदेश २ मा कोरोनाबाट मृतकको संख्या ९ पुगेको छ। यस प्रदेशमा हालसम्म पर्सामा २, पहिचान नखुलेका १, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरी ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस प्रदेशमा संक्रमितको संख्या चार हजार ३ सय ८० पुगिसकेको छ। जसमध्ये शुक्रबारसम्म दुई हजार ८ सय ८० जना निको भएर घर फर्किसकेका छन्।
पछिल्लो समयमा समुदायमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। सप्तरीको राजबिराज, महोत्तरी र वीरगन्जमा लक्षणसहितका संक्रमित भेटिएका छन्। समुदायमा संक्रमित बढ्दै गएपछि राजबिराज र वीरगन्जमा स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।
साउनयता पर्सामा ५ जना भारतीय सहित ९१ जना नयाँ संक्रमित फेला परेका छन। जसमध्ये वीरगन्ज निवासी दुई जना कोरोना संक्रमितको मृत्युसमेत भइसकेको छ। महोत्तरी र राजबिराजमा एक/एक लक्षणसहितका कोरोना संक्रमितको मृत्यु भैसकेको छ।
राजबिराजमा समुदायस्तरमा परीक्षण सुरु गरेपछि धमाधम संक्रमित भेटिन थालेका छन। महोत्तरीको महोत्तरी गाउँपालिकामा समुदायका ५० जना सम्भावित संक्रमितको नमुना परीक्षणको रिपोर्ट आउन बाकी छ। कोरोना भाइरसको संक्रमण व्यापक बन्दै छ। पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितहरु समेत देखा पर्न थालेका छन। संक्रमित केहीको मृत्यु समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकोले संक्रमण थप फैलन नदिन स्थानीय प्रशासनले वीरगन्जमा निषेधाज्ञा जारी गरी संक्रमण नियन्त्रणको प्रयास गर्दैछ। निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश जारी भएको छ। सबै प्रकारका सार्वजनिक तथा नीजि यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
कोरोना पोजिटिभ देखिएकाहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्टयाक्ट ट्रेसिङ गरी परीक्षणलाई तीव्र पारिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झा बताउँछन। संक्रमणको बढी जोखिम भएका स्थानमा समेत पीसीआर जाँचका लागि ‘-यान्डम’ रुपमा स्वाब संकलन गर्नुपर्ने उनको भनाई छ।
सघन बसोबास, जनघनत्व, खुल्ला सीमानालगायत कारणले प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा छ। जोखिममाथि काबु पाउन प्रदेश सरकार कसरी अघि बढ्दै छ भन्ने बारे प्रदेश सरकारको समाजिक विकास मन्त्री नवलकिशोर साहसँग गरिएको कुराकानी:
कोरोना नियन्त्रण गर्न प्रदेशमा मुख्य चुनौती के छ ?
सबै प्रदेश भन्दा बढी जनसंख्या भएको प्रदेश हो यो। बसोबास पनि सघन छ। यस प्रदेशको आठ वटै जिल्लाको भारतसँग सीमा जोडिएको छ। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा छन। उता संक्रमण डरलाग्दो गरी फैलिएपछि उनीहरु घर फर्किरहेका छन। उनीहरुको सुरक्षित व्यवस्थापन पहिलो चुनौती हो। अर्को भारतबाट फर्किएकाहरु क्वारेन्टिनमा नबसेर सीधै घर बस्ने प्रवृती बढेको देखिन्छ। संक्रमित सहरको यात्रा इतिहास भएका व्यतिmहरुमा कोरोना संक्रमण पुष्टि हुनुले समुदायीक संक्रमणको चुनौती बढाइदिएको छ। यस प्रदेशमा भारतबाट संक्रमण बोकेर समुदायमा फैलाउनेहरुको व्यवस्थापन नै पछिल्लो समय प्रमुख चुनौती हो।
संक्रमितहरुको पहिचान र परीक्षणको कस्तो बन्दोबस्त छ ?
पछिल्लो समय संक्रमितहरु समुदायमा लुकेर बसिदिँदा पहिचानमा सकस भईरहेको छ। अहिले लक्षणसहितका संक्रमितहरु भेटिएका छन। जसको पहिचानमा जटिलता छैन तर उहाँहरु लुकेर बसिदिँदा समस्या भएको छ। संक्रमितहरु आफ्नो यात्रा इतिहास लुकाउनाले पनि पहिचानमा चुनौती थपिएको छ। घटनाहरु हेर्दा संक्रमितहरुको मृत्युपछि मात्र संक्रमित पहिचान भएको छ।
परीक्षणका लागि प्रदेश सरकार आफ्नो औकातले भ्याएसम्म गरिरहेको छ। राजबिराज, जनकपुर र वीरगन्ज गरी तीन वटा आरटी पीसीआर विधिबाट परीक्षण भइरकहेको छ। थप दुई थान आरटी पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया सुरु गरिएको छ। प्रदेश सरकारको क्षमताले भ्याएसम्म परीक्षणको दायरा र आयतन बढाउन लागिपरेका छौं।
संक्रमितहरुको उपचारका लागि कस्तो बन्दोबस्त छ ?
यो रोगको यकीन औषधि नभएकोले संक्रमितलाई आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गर्ने हो। त्यही भएर हामी आइसोलेसनको आयतन बढाएका छौं। नारायणी अस्पताल वीरगञ्जबाट सुरु भएको आइसोलेसन आठवटै जिल्लामा फैलाएका छौं। राजविराज, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संक्रमितलाई भर्ना गरेर उपचारको बन्दोबस्त मिलाइएको छ। गम्भीर बिरामीलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर र नारयणी अस्पताल वीरगन्जमा उपचारको सेवा उपलब्ध छ। हामीसँग भेन्टिलेटरको सेवा प्रयाप्त छैन। आइसियू सेवा पनि सीमित छ। थोरै क्षमताले धेरै गर्ने प्रयत्न गरिरहेका छौं। क्षमतावान, शतिmवान, धनवान ठूला देशहरुको त बेहाल छ भने हाम्रो के औकात ! हामीले सकेजति गरिरहेका छौंं।
भेन्टिलेटरको सेवा विस्तार किन गर्न सक्नु भएन ?
प्रदेश सरकारको निर्णयअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले हाम्रो मन्त्रालयलाई(सामाजिक विकास मन्त्रालय) ६८ करोड निकासा पनि दिएकै हो। यस रकमबाट ५० थान भेन्टिलेटर, आरटी पीसीआर मेसिनलगायत कोरोना संक्रमण नियन्त्रणमा आवश्यक सामग्री खरिद गर्ने निर्णय थियोे। हामीले भेन्टिलेटर खरिदका लागि सूचना पनि निकाल्यौ। तर, एउटै टेन्डर परेन। दुई वटा आरटी पीसीआर मेसिन लगायतका सामग्रीहरु खरिद गर्यौ। तर, भेन्टिलेटर खरिद गर्न सकेनौ। पैसा यथाबत छ। अहिलेपनि हामी भेन्टिलेटर खरिदका लागि प्रयासरत छौं।
कोरोना उपचारका लागि अस्पतालहरु भरपर्दो छ ?
हेर्नुस्, नढाटी भन्नुपर्दा पहिलादेखि नै यस प्रदेशमा अस्पतालहरुको गुणस्तरबृद्धिमा सरकारले चासो राखेनन्। जसका कारण गुणस्तरीय, सुविधासम्पन्न अस्पतालको अभाव अहिलेसम्म छ। सीमित स्रोत,साधनमा चिकित्सकहरुले कोरोना संक्रमितहरुलाई गर्दै आएको उपचार तारिफयोग्य छ। पीपीई, ग्लोब्स, मास्क अभावकाबीच यहाँका चिकित्सकहरु कोरोना विरामीको उपचार सुरुवात गरेको स्मरणीय छ। हामीले आफ्नो औकातले भ्याएसम्म अस्पतालहरुको स्तरबृद्धिमा लागिपरेका छौं। तर संघीय सरकार यस प्रदेशप्रती उदाशिनतामा परिवर्तण अझै आइसकेको छैन। हामी तन, मन र धनले कोरोना महामारीमाथी काबु पाउन प्रयासरत्त छौं। बाकी बाबा पशुपतिनाथ र माता जानकीको कृपा।
लकडाउन खुल्ला पछिको अवस्थालाई कसरी हेर्नुभएको छ ?
हेर्नुस्, हामी दुःख पर्दा मात्र भगवानलाई पुकार्ने समाजका मानिस हौं। दुःख दूर भएपछि हामी भगवानलाई त विर्सिदिन्छौं भने कोरोना कुन चिज हो। सुरुमा कोरोना नयाँ संक्रमण भएकाले सबै डराएका थिए। बिस्तारै समाजमा डर हराउँदै गएको छ। डर हराएपछि लापरबाही बढ्छ, त्यही भएको अवस्था हो। तर, लापरबाहीले महामारीलाई बल पुग्दैछ भने कुरा मानिसले विर्सेका छन। यो बिडम्बनापूर्ण अवस्था हो।
अहिले लकडाउन खोल्नु उचित थियो ?
यसबारे टिप्पणी गर्दा संघीय सरकारको आलोचना हुन्छ। अहिलेको अवस्थामा म कसैलाई दोष लगाउन चाहन्न। यो बेला मिलेर महामारी विरुद्ध लड्ने हो। बिरोध, आलोचना गर्ने बेला होइन। त्यसैले यसबारेमा म टिप्पणी गर्न चाहन्न।
प्रकाशित: ११ श्रावण २०७७ ०३:२९ आइतबार