८ वैशाख २०८१ शनिबार
समाज

साउन महिना र खानपान

सेफ प्रेमलाल तामाङ घिसिङ
नेपाली रैथाने खाना खोज तथा अभियन्ता

साउन महिनालाई हरियो महिनाको साथसाथै शाकाहारी महिना भनेर पनि चिनिन्छ । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बि नारीहरुले हातमा मेहन्दी हरियो र पहेँलो चुरा अनि हरियो र पहेलो पहिरन लगाउने चलन छ ।

साउन महिनाभरि माछामासु, लसुन, प्याज नखाने, नङ, कपाल नकाट्ने चलन रहेको छ । साउन भगवान शिवको महिना पनि हो र सोमबार मनपर्ने दिन । यही अवसरमा महादेवका उपासकहरु व्रत बस्ने तथा चोखो खाने चलन छ । पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्वका रुपमा लिने गर्छन् ।

शक्तिशाली र बुद्धिमानी हुन माछामासु नै खानुपर्छ भन्ने धारणा पनि रहेको पाइन्छ, तर त्यो सरासर गलत हो ।  स्टिभ जव्स, अलबर्ट आइनस्टैन, बिल क्लिन्टन जस्ता संसारका शाक्तिशाली व्यक्तिहरु छन् जो शाकाहारी थिए ।

त्यसैले साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण छ । साउनमा हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य अनि पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । आजभोलि नेपाली समाजमा आधुनिकताको नाममा पुराना र मौलिक संस्कृति विस्थापित हुँदै नयाँनयाँ संस्कृति भित्रिन थालेको छ । द्वन्द्ववादको नियमअनुसार पुरानोलाई नयाँले निषेध गर्छ । त्यसैले हामीले हाम्रो मौलिक खानपान र संस्कृतिलाई जोगाउन अति आवश्यक छ । वर्तमान पुस्तालाई यो परम्परा मात्र लाग्न सक्छ तर हाम्रा पुराना परम्परा चाडपर्वहरु सँग  विज्ञान पनि जोडिएर आएको छ ।  

साउनमा व्रत किन ?

व्रत विभिन्न उद्देश्यका साथ बसिन्छ । व्रत भगवानलाई खुसी बनाउनका लागि मात्र होइन । यो कुनै आस्थासँग मात्रै जोडिएको छैन । साउने व्रत हाम्रो स्वास्थ्यको लागि होे । वर्षायाममा हाम्रो पाचन प्रणाली कमजोर हुन्छ । विभिन्न खानपानका कारण पेटमा जीवाणु फैलिने र झाडापखालालगात विभिन्न खालका रोगहरु जस्तै हैजा, हेपाटाइटिस, ग्यास्टाइटिस आदि देखा पर्छन् । वर्षा र ओसिलो मौसमका कारण यस समयमा किटाणुहरु दोब्बर फैलिने सम्भावना हुन्छ । यो मौसम वा महिनामा खानपान चाँडै बिग्रने गर्छ । त्यसैले यस समयमा खानपानमा ख्याल गर्नु अति जरुरी छ । फेरि असार र साउन महिनामा नेपाली किसानहरुले अधिक समय खेतबारीमा बिताउने हुँदा शारीरिक श्रम बढी हुन्छ । त्यसैले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस बेला उपवास बस्दा शरीरलाई फाइदा हुन्छ ।  

हामी खेती किसानमा आश्रित छौं । यतिबेला भनेको आन्नबाली लगाउने बेला, घरमा भएको अन्नबाली रित्तिने बेला पनि हो । हाम्रा पूर्खाहरुले यसबेला खाद्य संकटलाई पनि मध्यनजर गरेर यो व्रत बस्ने चलन ल्याएको पनि हुन सक्छ ।

साउनमा माछामासु किन नखाने ?

साउन महिनामा धेरैले माछामासु खाँदैनन् । कतिपयले सोमबार मात्रै खाँदैनन् । यो मौसममा गर्मी हुने भएकाले मासुजन्य परिकारलगायत अन्य परिकारहरु चाँडै कुहिने, सड्ने हुन्छ । यो समयमा मासुमा जीवाणु चाँडै फैलिन्छ । यो समय मासुजन्य परिकारका लागि राम्रो हुँदैन । माछा अर्थात् समुद्रमा पाइने प्रजातिको कुरा गर्ने हो भने यो समय पानीमा पाइने जीवहरुको प्रजनन्को महिना हो । प्रजननकाे समयमा हामीले जीवलाई नस्ट गर्‍याैँ भने अर्काे वर्षमा उत्पादन घट्छ र बिस्तारै लोप हुने सम्भावना हुन्छ । त्यस्तै हाम्रो समाजमा प्रजनन् समयको कुनै पनि जीवजन्तुलाई खाने चलन छैन । खायो भने पाप लाग्ने विश्वास छ । त्यसैले पनि साउन महिनालाई शाकाहारी महिना बनाएको हुन सक्छ । शाकाहारी बन्दा स्वास्थ्यमा फुर्तिलोपन आउँछ । शक्तिशाली र बुद्धिमानी हुन माछामासु नै खानुपर्छ भन्ने धारणा पनि रहेको पाइन्छ, तर त्यो सरासर गलत हो । स्टिभ जव्स, अलबर्ट आइनस्टैन, बिल क्लिन्टन जस्ता संसारका शाक्तिशाली व्यक्तिहरु छन् जो शाकाहारी थिए ।

साउनमा कस्तो खानपान उपयुक्त ?

हाम्रो तीन प्रकारको भोजनमध्ये सात्विकभोजन गर्नु राम्रो मानिन्छ । जस्ले तपाईंको पाचन प्रणालीलाई सहयोग पुर्‍याउँछ । त्यसैले साउन महिनामा दूधदहीको परिकार बढी खाने चलन रहेको छ । जस्तै साउनपन्ध्रमा खिर खाने चलन नै रहेको छ हाम्रो संस्कारमा । प्रोटिनका लागि हामीले काजु, बदाम, ओखर र गेडागुडी खाना सक्छाैँ । यसबेला हामीले सन्तुलित भोजन गर्नु अतिआवश्यक हुन्छ । सन्तुलित आहारका लागि खानालाई तीन भागमा विभाजन गरिएको छ ।  

पहिलो समूह :  चामल, गहुँ, मकै, जौ, जुनेलो, फापर, कागुनो र कोदो जस्ता अन्नहरु पर्छन् र जमिनमुनि फल्ने आलु, तरुल, पिँडालु, कन्दमुल जस्मा कार्बाेहाइड्रेट प्रचुर मात्रामा हुन्छ ।  

दोस्रो समूह : सिमी, भटमास, सानो केराउ, मुसुरको दाल, गेडागुडी तथा दूधजन्य परिकार । जसमा विभिन्न भिटामिन र प्रोटिनको मात्रा बढी हुन्छ ।  

तेस्रो समूह : फलफूल, सागपात र तरकारीहरु पर्छन् ।

यसरी तयार परिएको सन्तुलित भोजनलाई तपाइले हरेक पटकको खानामा प्रत्येक समूहबाट एक परिकार हुने गरी ग्रहण गर्नुभयो भने तपार्इंको शरीरलाई फाइदा पुग्छ । तर ध्यानदिनुपर्ने कुरा सागसब्जी पकाउँदा पूर्णरुपले गलाउने गरी पकाउनु हुँदैन । क्रषिमुनिहरुका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानी र एक भाग हावाका लागि खाली नै छोड्नुपर्ने हुन्छ ।  

तपाईंले सन्तुलित भोजन ग्रहण गर्नुभयोे भने धेरै रोगहरुबाट तपाइ बच्नुहुन्छ । सन्तुलित भोजन ग्रहण गराैँ, स्वस्थ रहाैँ ।

प्रकाशित: १० श्रावण २०७७ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App