१५ चैत्र २०८० बिहीबार
समाज

कोरोना प्रभाव : हजार दिनभित्रका आमा तथा बालबालिका जोखिममा

गिरीघाटस्थित बाढीपीडित शिविरका सुनौलो हजार दिनभित्रका आमाहरुलाई पोषण प्याकेज वितरण गर्दै गाउँपालिका उपाध्यक्ष शोभा शर्मा । तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

२०७१ सालमा सुर्खेतमा आएको बाढीले बराहताल गाउँपालिकाको थापाडेराबाट विस्थापित भएर गिरीघाट शिविरमा आउँदा जानकी सुनार १० वर्षकी मात्रै थिइन् । ठूलो परिवार । सडक किनारको अस्थायी बास । पाँच जनाको परिवारलाई खान–लगाउनकै समस्या हुन्थ्यो । स्थायी थातथलोबाट विस्थापित भएपछि जानकीले पढ्न पाइनन् । १४ वर्षमै छोरा जन्मियो । घरमा आठ जनाको परिवार छ । बालबालिकाका लागि सुनौला हजार दिन महत्वपूर्ण हुन्छन् । यहीँ अवधिमा बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास हुन्छ । यो अवधिमा आमा र छोराको लागि पौष्टिक आहार महत्वपूर्ण हुन्छ । ‘बन्दाबन्दी (लकडाउन) भएयता मजदुरी गर्न पाएका छैनौं, छाक टार्नै समस्या छ,’ जानकीले भनिन्, ‘यस्तोमा कहाँबाट पोषण खाना पाउनु ।’  

कालापहाडमा नवीन विकले बगाएको पसिनाबाट गिरीघाटमा पार्वती विकले चुल्होमा आगो बाल्थिन्। डेढ वर्षको छोरालाई पार्वतीले राम्रैसँग स्याहार गरिरहेकी थिइन् । बन्दाबन्दीले नवीनको रोजगारी खोसियो । लकडाउनकै बेला उनी कालापहाडबाट शिविरमा आइपुगे । ‘अहिले छाक टार्नका लागि पनि खाद्यान्न बाँकी छैन्,’ नवीनले भने, ‘कहाँबाट श्रीमती र छोरालाई पोषिलो खानेकुरा खुवाउन सक्छु ।’

२०७१ साउनको अन्तिम साता आएको बाढीले विस्थापित भएका एक सय ९ परिवार अहिले गिरीघाट शिविरमा बस्छन् । लोग्ने मानिस कालापहाड जान्थे । उतैको कमाईले यहाँ जहान–परिवारको पेट भरिन्थ्यो । कोरोना संक्रमणका कारण कालापहाडमा मजदुरी खोसिएपछि सबै शिविर फर्किएका छन् । स्थानीयस्तरमा रोजगारी छैन् । बेलाबेलामा दाताले दिने खाद्यान्न उनीहरुका लागि अहिले छाक टार्ने माध्यम बनेको छ । ‘मजदुरी गर्ने ठाउँ नहुँदा छाक टार्नका लागि दाताको भर पर्नुपर्ने बाध्यता छ,’ शिविरका एक जनाले भने, ‘आसैआसमा कति समयसम्म बस्नुपर्ने हो थाहा छैन् ।’

बराहताल गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका विष्णु गुरुङले कोरोना संक्रमणका कारण सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बताइन् । ‘अझ बाढीपहिरोबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेकाहरुको अवस्था झन दयनीय छ,’ उनले भनिन्, ‘कुपोषणको समस्या पनि देखिँदै गएको छ ।’

गाउँपालिकाले सुनौलो हजार दिन भित्रका एक हजार आठ सय १९ जना महिलाहरुलाई पोषण प्याकेज उपलब्ध गराएको छ । स्याफ्रन नेपालसँगको सहकार्यमा गाउँपालिकाले वडा–वडाबाट तथ्यांक संकलन गरेर पोषण प्योजक वितरण गरिएको उपाध्यक्ष शोभा शर्माले जानकारी दिइन् । ‘कोरोना संक्रमणका कारण सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिकाहरु पोषण अभावमा जोखिममा पर्दै गइरहेका छन्,’ उपाध्यक्ष शर्माले भनिन्, ‘विभिन्न संघ–संस्थाको सहकार्यमा प्रत्येक वडामा पोषण प्याकेज वितरण गरिरहेका छौं ।’

स्याफ्रन नेपालका शैलेन्द्र विष्टले बराहतालसहित चिंगाड गाउँपालिकाका दुई हजार छ सय ९२ महिला तथा बालबालिकालाई पोषण प्याकेज वितरण गरिएको जानकारी दिए । ‘माक्स, साबुन, सर्वोत्तम पिठो, क्वाँटीलगायतका पोषण सामाग्रीहरु हामीले स्थानीय तहमार्फत सुनौलो हजार दिनका आमा र बालबालिकाका लागि वितरण गरेका हौं,’ उनले भने, ‘यो कार्यक्रम कुपोषण रोकथामका लागि महत्वपूर्ण हुने अपेक्षा हामीले लिएका छौं ।’

प्रकाशित: ५ श्रावण २०७७ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App