२७ पुस २०८१ शनिबार
image/svg+xml
समाज

तस्कर र सशस्त्र प्रहरीबीच झडप, एक प्रहरीसहित दुई घाइते

सुनसरीको सीमावर्ती क्षेत्र गाउँपालिका हरिनगरा ६ घुस्कीमा गए राति सशस्त्र प्रहरी र तस्करबीच झडप हुँदा एक प्रहरीसहित २ घाइते भएका छन्। राति करिब ९ बजे तस्करीको सामान लिएर आएको समुहलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो। तस्कर समुहले सशस्त्र प्रहरीको टोलीमाथि बाँसको लाठी र ढुंगाले आक्रमण गर्दै हतियारसमेत खोस्ने प्रयास गरेको सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालले जानकारी दिए।

उनका अनुसार तस्कर समूहको आक्रमणबाट सशस्त्र प्रहरी जवान जीवराज विशंखेको टाउको फुटेको छ भने हतियास खोसाखोस हुँदा गोली लागेर स्थानीय सवाज अन्सारी घाइते भएका छन्।

तस्करीको सामान लिएर आएको ८,९ जनाको समूहलाई रोकेपछि उनीहरुले सशस्त्रको टोलीमाथि आक्रमण गरेको एसपी ढकालले बताए।

‘बाँसको भाटा, ढुंगालगात जे भेट्यो, त्यसले आक्रमण गरे, जवानको हतियार नै खोस्न खोज्दा तानातान भयो,’एसपी ढकालले भने,‘तस्करहरुलाई तर्साउनको लागि जवानले हतियार कक गर्यो, र पनि उनीहरुले छाडेनन्। अनि हतियार झट्काएर तान्दा गोली चल्दा एकजना घाइते भएका छन्।’

घाइते दुवैलाई राति नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पुर्याइएको थियो। टाउकोमा चोट लागेका सशस्त्र प्रहरी विशंखेलाई वीपी प्रतिष्ठानबाट इटहरीको पकलीस्थित क्षेत्रीय प्रहरी अस्पताल लगेर उपचार भइरहेको छ भने अर्का घाइते अन्सारीको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ।

एसपी ढकाललका अनुसार घटना पछि राति उनी आफै घटनास्थल घुस्की पुगेका थिए। त्यहाँ सईको कमाण्डमा १० जना मात्र सशस्त्र प्रहरी थियो। हाल त्यसक्षेत्रमा डिएसपीको कमाण्डमा ९० जना सशस्त्र प्रहरी परिचालन गरिएको एसपी ढकालले जानकारी दिए।  

बिहिबार राति पनि सुनसरीकै सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको थियो। मोटरसाइकलमा आएका ५ जनाको समूहले चेकजाँच गर्दा प्रहरीमाथि फायर खोलेका थिए भने जवाफी कारबाहीमा २ जना घाइते भएका थिए। उनीहरुको साथबाट हतियार पनि वरामद भएको छ। अन्य ३ जना भने फरार भएका थिए।

प्रकाशित: ३ श्रावण २०७७ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App