१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लिफ्टीङ योजनाको काम ७० प्रतिशत पुरा

भँडारेघाटमा सुनकोसीको पानी निकालिएपछि अनुगमन गर्न पुगेका गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटमा सुरु गरिएको लिफ्टीङ योजनाको काम ७० प्रतिशत पुरा भएको छ । पानीको अभाव रहेको भँडारेघाटमा सुनकोसीको पानी निकाल्नका लागि सुरु गरिएको लिफ्टीङ योजनाको काम कम्तीमा ७० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको ३० लाख बजेटबाट हालसम्म सुनकोसीको पानी वस्तीको सिरानमा बनाइएको रिजर्भ ट्यांकीसम्म निकालिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा वितरण लाईन, विद्युतीकरण लगायतका काम पुरा गरेर घर–घरमा पानी वितरण हुने अध्यक्ष राईले बताए ।

पिउने पानी तथा सिँचाइका लागि आवश्यक पानीको अभाव रहेको भँडारेघाटमा नदीको पानी गाउँमा तान्नका लागि गाउँपालिकाले लिफ्टीङ योजना अघि सारेको हो । सुनकोसीको पानी भँडारेघाटको सिरानमा निर्माण गरिएको ४० हजार क्षमताको रिजर्भ ट्यांकीमा जम्मा गरेर घर–घरमा वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘हालसम्म करिब ७० प्रतिशत काम सकिएको छ । रिजर्भ ट्यांकीमा पानी निकाल्ने मेन काम सकिएको छ,’ अध्यक्ष राईले भने, ‘अब विद्युत जोड्न र वितरण लाईनको काम गरेर घर–घरमा पानी पुर्‍याउने काम बाँकी छ ।’ 

उदयपुरको गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने भण्डारेघाटमा बढ्दो बजारीकरणलाई ध्यानमा राखेर लिफ्टिङ योजनामार्फत पानीको व्यवस्थापनको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । अधिकांश माझी समुदायको बसोबास रहेको भँडारेघाटमा सुरु गरिएको लिफ्टिङ योजनाले स्थानीय ६० घर भन्दा बढि स्थानीय लाभान्वित हुने छन् । नदीबाट ८ इन्चको पाईपमार्फत रिजर्भ ट्यांकीमा पानी निकालेर वितरण गर्ने तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गाउँमा निकालिएको पानीलाई पिउनका साथै सिँचाईको काममा उपयोग गरिने गाउँपालिकाले जनाएको छ । 

केही मिनेटको दुरीमा रहेको सुनकोसीमा कलकल पानी बगिरहँदा केही माथि रहेको भँडारेघाटमा पानीको अभाव चर्किँदो छ । अहिले भँडारेघाटका स्थानीय बतासेकै हमारा भन्ने स्थानको पानी ल्याएर जीवन निर्वाह गरिरहेका छन् । पानीको अभावमा कतिपय स्थानीय नदीकै पानी पिउन बाध्य छन् । बतासेकै कालापानीमा सुनकोसीको पानी निकाल्ने योजना सम्पन्न भएको अवस्थामा भँडारेघाटमा पनि पम्पिङ योजनाको काम सुरु गरिएको हो । 

टारगाउँमा लिफ्टीङ योजना शिलान्यास
सिँचाइको व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको टारगाउँमा सुनकोसीको पानी निकाल्न लिफ्टीङ योजना सुरु गरिएको छ । सिँचाइ गर्ने पानीको अभावपुर्तीका लागि नगरपालिकाले ६३ लाख बजेट बिनियोजन गरेर सुनकोसी टारगाउँ डिकुवा लिफ्ट सिँचाइ योजना सुरु गरेको हो । लिफ्ट सिँचाइ योजना नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शिलान्यास गरेका हुन् । 

टारगाउँका ३५ घरका करिब २५० रोपनी जग्गामा सिँचाइ सुविधा बिस्तारका लागि लिफ्टीङ योजना सुरु गरिएको नगरपालिकाले जनाएको छ । ‘कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरुपमा विकास गरे मात्र कृषकको जीवनस्तर उकास्न सकिन्छ । तर यसका लागि सिँचाइ अनिवार्य छ,’ मेयर राईले भने, ‘त्यस ठाउँमा कुनै पनि श्रोत नभएकाले कोसीको पानी लिफ्ट गरेर किसानको जमिन सिञ्चित गर्ने विकल्प अघि सारेका हौँ । यस योजनालाई हामीले गौरव र नयाँ प्रयोगकारुपमा समेत लिएका छौँ ।’ 

गत फागुनमा शिलान्यास गर्ने तयारी गरिएको योजना लकडाउनका कारणपछि सरेको हो । चारैतिर दुधकोसी र सुनकोसीले छोएको नगरपालिकाको तटीय क्षेत्र महादेवबेँसी, खोक्सेलीबेँसी, घोपाटार, बाइटार, डिकुवा, भाडबेँसी लगायतका स्थानमा समेत पानी लिफ्ट गरेर सिँचाइ विस्तार गर्ने सम्भाव्यताको अध्ययन भइरहेको मेयर राईले बताए । घोपाटारमा लिफ्टीङ योजनाको सफल प्रयोग भइसकेको छ ।

प्रकाशित: २६ असार २०७७ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App