७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माण

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् बैतडीका स्थानीय तह बाटोघाटो बनाउन थालेका छन् । बेरोजगारहरुलाई गाउँमै रोजगारी दिने उद्येश्य अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माणमा दिएका हुन् ।

दशरथचन्द नगरपालिकामा २८ लाख ६२ हजार बजेटले ११ वटै वडामा पिसिसी बाटो, सडक, चौतारो निर्माण गरिएको रोजगार संयोजक नन्दराज जोशीले जानकारी बताए । प्रत्येक वडामा दुई–दुई योजनाका दरले काम भइरहेका र करिब एक हजार जनाले रोजगारी पाएको छन् । पुर्चौडी नगरपालिकामा ८५ लाख रुपैयाँ विनियोजित भएको छ । पिसिसी, गोरेटो बाटो, गाउँघर क्लिनिकको भवन, तटबन्ध निर्माण गरी नगरपालिकामा १३ योजना सम्पन्न भएका छन् भने ३ सय ८३ जनाले प्रत्यक्ष रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए । 

पाटन नगरपालिकाले ३२ लाख २७ हजार रुपैयाँले नहर सरसफाइ, सिँचाइ योजना बाटो निर्माणको काम गरिएको छ । नगरका सबै वडामा १० योजना सञ्चालन गरिएको र त्यसमा ७ सय जनाले रोजगारी पाएका छन् । मेलौली नगरपालिकामा ६१ लाख ९७ हजार बजेटमा चार योजना सञ्चालनमा रहेका छन् । खानेपानी र सिँचाइका ती योजनामा करिब ५०० जनालो रोजगारी पाएको रोजगार संयोजक सरिता बोगटीले बताइन् ।

दोगडाकेदार गाउँपालिकामा विनियोजित ७५ लाखमा पदमार्ग तथा सिँचाइ योजनालगायतका काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । प्रत्येक वडामा कम्तीमा एक योजना गरेर १३ योजना सम्पन्न हुने चरणमा रहेका छन् । सुर्नया गाउँपालिकामा विनियोजित ६२ लाख ८० हजारबाट आठवटै वडामा गरी १६ योजना सम्पन्न भएका छन् । पिसिसी बाटो, फिल्ड निर्माण, सडकको नाली तथा खानेपानी निर्माणको काममा दुई हजार ६ सय जनाले रोजगारी पाएको रोजगार संयोजक सुरेन्द्र धामीले बताए ।

यस्तै, शिवनाथ गाउँपालिकामा सो कार्यक्रमबाट १२ योजना सम्पन्न हुने चरणमा रहेका छन् । २८ लाख १० हजार बजेटले बाटो, सडक सरसफाइ, बर्थिङ सेन्टरको पर्खाल निर्माणमा करिब १ सय जनाले रोजगारी पाएको बताइएको छ । सिगास गाउँपालिकामा सो कार्यक्रमअन्तर्गतका योजना अन्तिम चरणम पुगेका छन् । १६ लाख रुपैयाँले गोरेटो बाटो र बर्थिङ सेन्टर निर्माण गरी पाँच योजना रहेका छन् । डिलासैनी गाउँपालिकामा ४६ लाख ५६ हजार बजेटले २४ योजना सञ्चालनमा रहेको रोजगार संयोजक हरिश जोशीले बताए । पञ्चेश्वर गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत सात योजना सम्पन्न भएका छन् । पञ्चेश्वरमा १० लाख रुपैयाँ बजेट रहेको छ ।  

प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम गर्न पाउँदा स्थानीय खुसी भएका छन् । लकडाउनको कारण विदेशबाट गाउँ फर्केकाहरु पनि काममा जुटेको पुर्चौडी नगरपालिका–३ का लोकेन्द्र धामीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम पाउँदा बेरोजगार युवालाई सहज भएको छ । तर उनीहरुसँग भएको सीपको भने सदुपयोग हुन नसकेको जगन्नाथ क्याम्पसका प्राध्यापक मानबहादुर भाट बताउँछन् । 

बेरोजगार युवालाई उनीहरुसँग जुन खालको सीप, दक्षता छ त्यही अनुसार काम दिनुपर्ने उनी बताउँछन् । रोजगार कार्यक्रमले रोजगारीको रुपमा मात्र नहेरी दीगो योजना छनोट गरेर सदुपयोग गर्न नसकेको नागरिक समाजका अगुवा डम्बरदत्त पाण्डेले बताए ।

प्रकाशित: २५ असार २०७७ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App