१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आत्महत्याका घटना बढ्दो गतिमा

प्रहरी हवाल्दार आफैले कञ्चटमा गोली हाने

आफैले बोकेको पेस्तोल कञ्चटमा प्रहार गरि सोमबार राति सुनसरीमा कार्यरत एक जना प्रहरी हवाल्दारले आत्महत्या गरेका छन् ।  

इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरी दरबन्दी भइ जिल्ला अदालत सुनसरीका ४ नं. न्यायाधीश शंकर राईंको अंगरक्षकको रुपमा कार्यरत प्रहरी हवाल्दार ३५ वर्षे ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन्। मोरङ उर्लावारी–९ घर भएका खतिवडाले आफू बस्ने भवनको दुई तलामाथि छतमा गई आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली हान्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद शर्माले बताए ।  

प्रहरी हवाल्दार आत्महत्या गर्नुअघि छतमा गएर निकैबेर टेलिफोनमा संवाद गरेका थिए । टेलिफोनमा संवाद गर्दा निकै तनाबमा रहेका थिए । आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको डिएसपी शर्माले जनाए ।  

यसअघि २०७१ असोज २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमै कार्यरत एक प्रहरी जवानले पनि आत्महत्या गरेका थिए । त्यतिबेलाका सुनसरीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँको भान्से भएर सहयोगीको रुपमा कार्यरत प्रहरी जवान इनरुवा वडा नंं. २ घर भएका गोपीकृष्ण घिमिरेले प्रहरी कार्यालयकै गेष्ट हाउसमा झुन्डिएर आत्महत्या गरेका थिए ।  

यस्तै, ०७४ चैत १२ गते राति पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिकको रहस्यमय ढंगले मृत्यु हुन पुगेको थियो । त्यति बेलागणमा कार्यरत बर्दिया नेउलापुरका सैनिक अमलदार भरत बिक र सल्यान दमाचौर प्युठ दोलख चन्दको मृत्यु हुन पुगेको थियो ।

पृतना मुख्यालय हाताभित्रको स्विमिङ पुलको उत्तर पूर्वमा रहेको माछा पोखरीमा अचेत अवस्थामा फेला परेको दुवैलाईं उपचार गर्न अस्पताल भर्ना गरेपछि मृत्यु भएको त्यतिबेला जनाइएको थियो । सैनिक द्दयको मृत्युबारे तत्कालिन सवुज दलका गणपति लक्ष्मीभक्त क्षेष्ठको नेतृत्व समितिले छानबीन गठन पनि गरिएको थियो ।

घटनालगतै सेना द्दय विष सेवन वा करेन्ट लागेर मरेको अनुमान गरिएको थियो । तर, त्यसपछि घटनाबारे केही पनि सार्वजनिक गरिएन् । बरु घटनालाई गुपचुपमै राखियो । जसले गर्दा विष सेवन वा अरु कुनै कारणले मृत्यु भएको खुल्न सकेको छैन् ।

यसरी दिनहुँ आत्म हत्याका घटना हुँदा छन् । तर, ती घटनालाईं गहिरो गरि अध्ययन गरिएको पाइँदैन् । गहिरो गरि अध्ययन गर्दा आत्महत्याका घटना भनिएपनि कतिपयमा फरक मोड लिने गरेका छन त कतिपय वास्तविक हुने गरेका छन् ।  

सुनसरीमा चालु आर्थिक वर्षको अवधिमा १८२ जनाले आत्महत्या गरेका छन् । प्रहरीको रेकर्ड अनुसार झुन्डिएर १५१ र विष सेवनमा ३१ ले आत्महत्या गरेका छन् । यस तथ्यांकले आत्म हत्या गर्नेको संख्या वृद्दि भइरहँदा भयावह स्थिती सृजना हुने खतरा छ ।

आत्म हत्या दुरुत्साहन दिएको कसुरमा प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने सक्ने कानुनी व्यवस्था छ। २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा यो कानुनी व्यवस्था छ ।

खासगरी जसले आफू बाँच्ने परिधि सानो देख्छ, त्यस्ता व्यक्तिले आत्म हत्या रोज्ने गरेको पाइएको छ । जोसँग उत्साह, उमंग, आशा, भरोसा मर्दै गएपछि मानिसमा निरासा भएर आत्म हत्या रोज्ने गरेको अध्ययनले देखाएको छ । आत्म हत्या रोज्नुमा सफलता, अहसयोग र अभाव पनि हुन सक्छ । यसले उनीहरूलाई निरास तुल्याउँछ ।

प्रकाशित: १६ असार २०७७ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App