८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सलह नियन्त्रणको योजना बनाउँदै प्रदेश २

सलह फट्यांग्राको प्रवेशसँगै प्रदेश २ सरकारले नियन्त्रणात्मक र अनुसन्धानात्मक कार्य अघि बढाएको छ। सलह अहिले थोरै संख्यामा भएकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्।  

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सलहको प्रकोप अहिले चिन्ताजनक नभएको विज्ञबाट जानकारी पाएको बताए। ‘अहिले सानो संख्यामा भएकाले बालीनालीमा त्यति सारो क्षति गरिहाल्दैन,’ उनले भने, ‘यो किराको विनाशक क्षमता अध्ययनका लागि संघीय सरकारसँग पनि आग्रह गरिएको छ।’ अहिले यसबाट धेरै डराइहाल्ने अवस्था छैन। प्रकोप भएको स्थानका किसानलाई विषादी छर्कन भनिएको उनले बताए।  

‘सलहबाट जोगिन सकिने उपाय अपनाएर सहयोग गर्न पनि किसानलाई आग्रह गरोका छौं,’ उनले भने, ‘यो किरालाई ड्रम वा थाल ठटाएर बाली क्षेत्रबाट अन्यत्र धपाउन सकिन्छ।’ सहलबाट जोगिन अपनाउनुपर्ने उपायबारे कृषि वैज्ञानिकहरू लागि परेकाले किसानलाई धेरै चिन्ता नदिन उनले आश्वस्त पारे। मनसुन सुरु भइसकेकाले पनि सलहको फैलावट बढ्न नसक्ने उनको भनाइ छ। प्रदेश २ को बारा र सर्लाही जिल्लामा सलह भित्रिएपछि सो क्षेत्रमा विज्ञको टोली परिचालित छ। धेरै संख्यामा नरहेकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन्।  

केही साताअघि भारतमा देखिएको वनस्पति नाशक सलह प्रदेश २ को सर्लाही र बारा हुँदै शनिबार नेपालमा प्रवेश गरेको थियो। करिब एक लाखको संख्यामा देखिएको सो किरा सलह नै भएको पुष्टि भएलगत्तै यो नेपाल प्रवेश गरेको नाका र संख्या यकिन गर्न तत्काल प्रदेश २ कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोली परिचालन गरिएको थियो।  

नेपाललगायत छिमेकी मुलुकका कृषि वैज्ञानिकसँग अनलाइन छलफल गरी निकासको उपायबारे निरन्तर छलफल गरी नियन्त्रणका लागि उपयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको मन्त्री साहले बताए। संख्या बढी भयो भने कम क्षतिमा तत्काल कसरी प्रभावकारी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे विज्ञसँग छलफल जारी रहेको उनले जानकारी दिए।

प्रकाशित: १६ असार २०७७ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App