१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शव भेटिएकै ठाउँमा ठड्याइयो मदन भण्डारीको शालिक

२००९ साल असार १४ गते ताप्लेजुङको ढङ्गेसाँघुमा जन्मिएका कम्युनिष्ट नेता मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा ज्यान गयो । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीसँगै जिपमा यात्रारत संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि सोही दुर्घटनामा निधन भयो । आश्रितको शव भोलिपल्ट घटनास्थलमै र भण्डारीको शव तीन दिनपछि घटनास्थलबाट २७ किलोमिटर दक्षिणतर्फ गाजीपुरमा भेटिएको थियो । भण्डारीको शव भेटिएकै ठाउँमा नेता भण्डारीको अर्धकदको शालिक जन्मजयन्तीको अवसर पारेर आइतबार अनावरण गरिएको छ ।  

वागमती प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शालिक अनावरण गर्दै भने, ‘मदन भण्डारीको विचारलाई लिएर अगाडि बढेकै कारण आज देशका तीनै तहमा कम्युनिष्टको सरकार छ । गाजीपुरको विकासका लागि बजेटको अभाव हुने छैन ।’ मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र मदन स्मृति पार्क गाजीपुरको सहआयोजनामा भरतपुर महानगरपालिका वडा नं. १७ गाजीपुरमा आयोजित कार्यक्रममा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन भण्डारीको विचारलाई शब्दमा नभएर व्यवहारमा उतार्नुपर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं फाउण्डेशन चितवनका पूर्वअध्यक्ष जेएन थपलियाले गाजीपुर क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताए । कार्यक्रममा नेकपा नेता हरि सापकोटा, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ, मदन स्मृति पार्कका अध्यक्ष गौरस तामाङ, टोकमान गुरुङ लगायतले बोलेका थिए । मदन भण्डारीको शव प्राप्त गर्ने, शव नदीबाट बाहिर ल्याउन सहयोग गर्ने, पार्क निर्माणमा सहयोग गर्ने, शालिक सौन्जन्य गर्ने व्यक्ति तथा संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो ।  

गाजीपुरमा ७५ लाख रुपैयाँको लागतमा भ्यू टावर निर्माण भएको छ । नेपाल सरकारको ५० लाख रुपैयाँ र १० लाख रुपैयाँ बराबरको जनश्रमदानबाट २ सय ८० मिटर लामो फुटपाथमा मोज्याक टायल लगाउने, चौतारी व्यवस्थापनलगायतको काम पनि भइरहेको फाउण्डेसनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिए । सोही ठाउँमा अहिले दाताबाट सौजन्य भएको अर्धकदको शालिक अनावरण गरिएको हो ।

 

 

प्रकाशित: १४ असार २०७७ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App