४ वैशाख २०८१ मंगलबार
समाज

फालिएका बोतल र खोलरहित फेवाताल बनाउन अभियान

फाइल तस्बिर।

फेवाताल, पोखराको सान, लेकसाइडको पहिचान अनि जलारीको जीवन जोडिएको छ । ताल फोहोर हुदाँ मन कुडिन्छ । जलचर प्रभावित हुन्छन् । पर्यावरण प्रदूषित हुन्छ । दुर्लभ चराचुरुङीको बसोबास र सिमसार मासिन्छ । यस्तो पृष्ठभूमिमा फेवातालमा बर्सेनि ताल सरसफाइ अभियान चल्छ । सरसफाइका नाममा जलकुम्भी झार फाल्ने काम हुन्छ । जलकुम्भी झार फाल्न विभिन्न समूह फेवातालको पानीमा होमिन्छन् ।  

त्यही क्रमको निरन्तरतामा यसपटक भने सरसफाइ अभियन्ताहरू दृष्टि जलकुम्भीतिर मात्र होइन, तालमा भएका अन्य फोहोरहरूतिर पनि प-यो । बन्दाबन्दीको मौकामा जलारी समुदायले तालको बृहत् सरसफाइ अभियान चलाइरहेका छन् । तालको यो सरसफाइ माछालगायत जलचर संरक्षणमा समेत महत्वपूर्ण टेवा पुगेको छ ।  

घोषित लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटकको फेवाताल सयर शून्य छ । तालमा प्लास्टिकबाट बनेका वस्तुहरूको चाङ छ । हर्पन खोला, अँधेरी खोला, लौरुक खोला, बेतनी खोला, खहरे तथा फिर्के खोलाले बगाएर ल्याउने प्लास्टिकयुक्त वस्तुहरूसमेत तालमा तैरिने गरेको छ । पटकपटक जलकुम्भी झारमात्रै फाल्दै आएका सरसफाइ अभियानकर्मी यसपटक भने अन्य फोहोरहरूतिर विशेष केन्द्रित भएका छन् । यसपटक लेकसाइड क्षेत्रका युवाहरूको सक्रियतामा फेवातालमा वर्षौदेखि रहेका प्लास्टिकका फोहोर निकाल्ने अभियान सुरु गरिएको हो । अभियान तेस्रो सातामा चलिरहेको छ, जसलाई ४५ दिनसम्म लैजाने युवाहरूको योजना छ ।  

‘फेवातालको खपौदी क्षेत्रको माथिल्लो भेगबाट फोहोर उठाउन सुरु गरेका छौं,’ सरसफाइ अभियानका सदस्य विशालजंग थापाले भने, ‘अहिले स्वस्फूर्त रूपमा १२ जनाले प्लास्टिकका फोहोर संकलन गर्दै डुंगामार्फत किनारमा जम्मा गर्दै आएका छौं ।’ तालमा बियरका बोतल, क्यान बियर, चाउचाउ, बिस्कुटका खोलहरू बढी भेटिएको उनले बताए ।  

ताल किनारमा बनाइएको डम्पिङमा फालिएको फोहोर पानीले बगाएर ल्याउँदा तालमै तैरिने गर्छ ।

विशेषगरी फाँट (सिमसार) र तालकिनारमा रहेका फोहोर संकलन गर्न अभियानकर्मी जुटेका छन् । ‘दैनिक तीनदेखि पाँच घण्टासम्म फोहोर संकलन अभियान गरिरहेका छौं,’ उनले भने, ‘बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म फोहोर संकलनमा जुट्छौं ।’ 

पटकपटक जलकुम्भी झारमात्रै फाल्दै आएका सरसफाइ अभियानकर्मी यसपटक भने अन्य फोहोरहरूतिर विशेष केन्द्रित भएका छन् । 

फोहोर व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले सहयोग गरेको छ । पोखरा महानगरपालिका–६ बैदाम र पोखरा–१८ सराङकोटसँगको समन्वयमा फोहोर संकलन कार्य गरिएको उनले बताए । ‘हामीले अहिले पोखरा–१८ खपौदी क्षेत्रमा फोहोर संकलन गरिरहेका छौं,’ सरसफाइ अभियानकर्मी एलन विष्टले भने, ‘स्थानीले सहयोग गरेका छन् । विशेषगरी सरसफाइमा संलग्नलाई खानाको प्रबन्ध मिलाएका छन् ।’  

अभियानअन्तर्गत फेवालातबाट फोहोर संकलन गरिने ठुला प्लास्टिकका झोला वडाहरूले सहयोग गरेका छन् भने अभियानकर्मीलाई स्थानीय खपौदी क्षेत्रका होटल व्यवसायीले खानाको प्रबन्ध मिलाएका छन् । स्वयंसेवक पर्यटकले पनि फोहोर संकलनमा सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् ।  

सरसफाइ अभियानकर्मीलाई ग्लोब्स, वाटरप्रुफ गमबुटलगायत सामान स्थानीय होटल व्यवसायीले सहयोग गरेका छन् । खपौदी क्षेत्रबाट सुरु फोहोर संकलन अभियान पोखरा–६ बैदाममा आएर टुंगिनेछ । त्यसका लागि डेढ महिनाको समय तालिका छ ।

‘४५ दिनभित्र फोहोर संकलन गरिसक्ने हाम्रो लक्ष्य हो । सकिएन भने समय लम्बिन पनि सक्छ,’ अभियानकर्ता थापाले भने, ‘अब वर्षा लागिसक्यो । मौसम हेरेर नै फोहोर संकलन गर्नुपर्छ ।’

संकलन गरिएको फोहोरलाई स्थानीय जलारी समुदायले डुंगामार्फत ताल किनारमा व्यवस्थापन गर्न सहयोग गरिरहेका छन् । दैनिक पाँचवटा डुंगाले फोहोर किनारमा ल्याउन सघाइरहेका छन् ।

प्रकाशित: ६ असार २०७७ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App