१६ चैत्र २०८० शुक्रबार
समाज

खुसी ल्याउने खानेपानी

५५ वर्षीय कल्पना ढुंगानाको मुहार हँसिलो हुन्छ, दैलोमै पानी आउने खबरले  ।  पानीकै लागि घण्टौं हिँड्नुपर्ने बाध्यता टरेझैं लाग्दै छ उनलाई ।  उनकाे मुहारमा खुसी भरिदिने काम  बाग्मती प्रदेशका सांसद लक्ष्मण लम्सालबाट भएकाे हाे ।

‘वर्षौंदेखि गाउँमा पानी छैन । बिहान त पानीपँधेरोमै बित्छ,’ उनले भनिन्, ‘तल खोलानजिकै एउटा पानी पँधेरो छ, पुग्न एक घण्टा लाग्छ । गाउँभरिका मानिस त्यहीँ जान्छन् । घण्टौंपछि पालो आउँछ ।’  

उनी मात्र हाेइन, काभ्रेको पाँचखाल नगरपालिका वडा नं ६, पौडेलथोक एकताबस्तीका मानिस  खानेपानी परियोजना पुगेको खबरले निकै हर्षित भएका छन् ।  

गाउँमा पानीको हाहाकार हुँदा कसैले नसुनेको  उनको  गुनासो छ । गाउँको यो समस्या स्थानीय तहसम्म पुर्‍याइएको थियो । विगत नौ वर्षदेखि पानीको समस्या भएको वडा कार्यालयले बताएको छ ।  पानीका लागि बजेट अपुग भन्दै वडा र स्थानीय तहले कुनै काम गर्न सकेनन् ।

बाग्मती प्रदेशका सांसद लक्ष्मण लम्सालको पहलमा खानेपानी परियोजना प्रारम्भ भएको पाँचखाल नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामशरण दुलालले बताए । पहिले सम्बन्धित सरोकारवाला निकायसमक्ष समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि कहीँकतैबाट चासो नदेखाइएको अध्यक्ष दुलालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले ५० लाखको लगानीमा खानेपानी परियोजना प्रारम्भ गरेको हो ।  

परियोजनाबाट वडाका ४ सय घरधुरी लाभान्वित हुने उनले बताए । सांसद लम्सालले भने, ‘लामो समयदेखि पानीको हाहाकार भएकाले हामीले परियोजना ल्याएका हौं । सबैको हातेमालोले मात्र यो परियोजना सफल हुन्छ ।’ उनले यो विषमपरिस्थितिमा भौतिक दूरी कायम गर्दै काम गर्न आग्रह गरे । सांसद लम्सालले जनताको माग र कामअनुसार काम गर्ने प्रतिबद्धता गरे ।  

गाउँमा खानेपानी परियोजना प्रारम्भ भएसँगै स्थानीय निकै खुसी भएका छन् । पानी वितरण गर्ने उद्देश्यले केही वर्षअघि पुगेको एउटा परियोजनाले पनि गाउँमा खुसी ल्याएको थियो । तर त्यो खुसी केही क्षणका लागि मात्र  सीमित भयो । परियोजना दीर्घकालीन नबन्दा कुनै उपलब्धि नभएको स्थानीय भीमसेन गौतम बताउँछन् ।

‘त्यो परियोजनाबाट हामीले एक गाग्री पानी पनि थाप्न पाएनौं,’ उनले भने, ‘अब अहिले गाउँमा नयाँ परियोजना आएको छ । प्रदेश सांसदको पहलमा परियोजना आएकाले यसबाट हामीले धेरै अपेक्षा राखेका छौं । घरको धारोमा पानी चाँडै आउने आस गरेका छौं ।’  

औपचारिक रूपमा  परियोजना  केही दिनअघि नै सुरु भइसकेको वडा कार्यालयले बताएको छ । कार्यालयका अनुसार अहिले पानी ट्यांकी निर्माण सम्पन्न भइसकेको र शनिबारबाट डिप बोरिङको कार्य पनि सुरु गरिएको छ । परियोजनाका लागि सम्पूर्ण तयारी तीव्र भइरहेको वडाध्यक्ष दुलाल बताउँछन् । उनका अनुसार परियोजनाले पूर्ण रुप लिन कम्तिमा  दुई महिना लाग्न सक्छ । ट्रान्सफर्मर र बिजुली बत्तीको उचित व्यवस्था गर्न सकेमा घरघरमा  पानी आउने उनले बताए ।  

परियोजनाको सम्पूर्ण जिम्मेवारी पाथीभरा डिलिङ एन्ड कन्स्ट्रक्सन प्रालिलाई दिइएको छ । डिलिङ एन्ड कन्स्ट्रक्सन प्रालि प्रबधक निर्देशक गोविन्द्र चौलागाईंका अनुसार काम अहिले तीव्र गतिमा भइरहेको छ । कामको विवरणबारे बताउँदै निर्देशक चौलागाईंले भने, ‘१८० मिटर गहिरो डिप बोरिङ, ६०० मिटरको पाइप लाइन तथा २० एच पी लिफ्टिङ पम, बोरोङबाट १०० मिटर उचाइमा पानी लिफ्ट गरी १ लाख लिटरको ट्यांकीमा जम्मा गर्ने जिम्मेवारी दिइएको छ । परियोजनाको निरीक्षण र अनुगमनका लागि तिनपिप्ले पौडेलथोक एकता बस्ती खानेपानी समिति गठन गरिएको छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App