coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनमा महिला तथा बालबालिका हिंसाका घटना बढ्दै

कोरोना जोखिम बढेपछि सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै विभिन्न स्थानमा हिंसाका घटना बढ्दै गएको पाइएको छ । जिल्लामा पनि लकडाउन सुरुभएसँगै महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरु बढ्दै गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार लकडाउनको समयमा चैत्र ११ गतेदेखि जेष्ठ २७ गतेसम्ममा काभ्रेमा महिला तथा बालबालिकामाथि भएका ३२ वटा हिंसाका घटना कार्यालयमा दर्ता भएका छन् । लकडाउनको अवधिमा महिला तथा बालबालिकामाथि धेरै घरेलु हिंसाका घटना भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

कार्यालयका अनुसार महिला तथा बालबालिकामाथि भएका हिंसामध्ये घरेलु हिंसाका घटना १५ वटा, आत्महत्या ११ वटा, जबरजस्ती करणीको मुद्दा ६ वटा, बहु विवाह २ वटा र बालयौन दुरुपयोगको १ वटा मुद्दा कार्यालयमा दर्ता भएका छन् । यसअघिको तथ्याङक अनुसार जिल्लामा महिला हिंसाका घटनाहरू उल्लेख्य हुने गरेको जिल्लाल प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार विक्रम थापाले बताए ।

हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण तथा कानुनी परार्मश र सेवा दिने यातना पिडित सरोकार केन्द्र सिभिक्टले पनि लकडाउनको अवधिमा हिंसाका घटना बढ्दै गएको बताएको छ । लकडाउनको अवधिमा पनि  हिंसापीडित महिलाहरू कानुनी सेवा र परामर्शको लागि केन्द्रको सम्पर्कमा आएको केन्द्रकी कानुन अधिकृत जमुना पसछेले बताइन् । सम्बन्धित कार्यलयमा सेवाका लागि अहिले जबरजस्ती करणी र बहुविवाहका मुद्दाहरु आउने गरेको उनको भनाइ थियो ।  

उनका अनुसार लकडाउनका कारण धेरै पीडित महिलाहरु सेवाको लागि केन्द्रसम्म आउन सकिरहेका छैनन् । त्यस्तै अहिले लकडाउनकै कारण पीडित महिला उजुरी गर्न प्रहरी र सम्बन्धित निकायसम्म पुग्न नसक्दा धेरै घटनाहरु घरभित्रै लुकिरहेको हुन सक्ने केन्द्रकी कानुन अधिकृत जमुना पसछेले आंकलन गरेकी छिन् ।  

लकडाउनका कारण अहिले परिवारका सबै सदस्य घरमै हुने भएकाले महिलाहरु घरकै परिवार सदस्यबाट हिंसामा पर्न सक्ने उनको अनुमान छ । यो समयमा महिला हिंसामा पर्नुको कारण बताउँदै अधिकृत पसछेले भनिन्, ‘अहिले कोरोनाका कारण मानिसहरु तनावमा हुने, आवेशमा आउने, जाँडरक्सी तथा लागू प्रदार्थको सेवन गर्ने, आर्थिक समस्या, शंका गर्ने जस्ता मानिसको व्यवहारले परिवारिक कलह तथा हिंसाको घटना हुन सक्छ । धेरैजसो घरेलु हिंसा तथा महिला हिंसा जाँडरक्सी तथा लागू पदार्थको सेवनका कारण भएको पाइएको छ ।’

प्रकाशित: २८ जेष्ठ २०७७ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App