७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्वार्ता

दसैं, तिहार नसरेजस्तै दसौँ खेलकुदको मिति सर्दैन: सदस्यसचिव मेहता

दसैं सकिएलगत्तै नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु हुँदा समग्र खेलप्रेमीहरू धेरै उत्साहित छन्।

सबैको चासो एनपिएलको तेस्रो सिजन कस्तो होला भन्नेमा छ तर क्रिकेटबाहेक नेपालका अन्य खेलका खेलाडीको चासो २०३८ सालदेखि सुरु हुँदै आएको राष्ट्रिय खेलकुदको दसौं संस्करण यसपल्ट पनि समयमा हुन्छ या हुँदैन भन्नेमा छ। हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दसौं संस्करण विभिन्न बहानामा सारिँदै आएको छ।

कर्णाली प्रदेशमा तय दसौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ। पाँचौं पटक यो आयोजनाको मिति सर्दै आएको छ। अहिलेसम्म चार पटक मिति तय भएको छ तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ। २०८१ सालमा नै आयोजना हुनुपर्ने दसौं राष्ट्रिय खेलकुदको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहतासँग नागरिककर्मी अनिल मल्ल ठकुरीले गरेको कुराकानी।

दसौं राष्ट्रिय खेलकुद आउन धेरै समय बाँकी छैन। यसपल्ट तयारी देख्दा हुन्छ कि भन्ने आशामा खेलाडी छन्। तथापि केहीले निर्धारित समयमा केही समय सर्न सक्ने आशंंका पनि गर्दै छन्। अबको निर्धारित समयमा नै दसौं राष्ट्रिय खेलकुद हुने वातावरण बनिसकेको छ?

सर्वप्रथम ढुक्क भएर दसौं राष्ट्रिय खेलकुदको तयारी गर्न खेलाडीहरूलाई मेरो आग्रह छ। किनकि हामीले तयारी तीव्र रूपमा नै अगाडि बढाइरहेका छौं। सबै प्रदेशसँग समन्वय पनि भइसकेको छ। दसौं खेलकुद हुने कर्णाली प्रदेशको सरोकारवाला निकायसँग निरन्तर छलफलमा छौं। दसौं राष्ट्रिय खेलकुदको आयोजना गर्न राम्रो वातावरण बनेको छ। माननीय मन्त्रीज्यूसहित मूल आयोजक समितिको बैठक पनि बसिसकेको छ। त्यसैले अब यो सुनिश्चितताको बाटोमा गएको छ। अब दसैं सर्दैन, तिहार सर्दैैन। त्यसै गरी दसौं राष्ट्रिय खेलकुद पनि सर्दैन। सार्वजनिक ऐनअनुसार खरिद गर्नुपर्ने विषयहरू अगाडि बढाइसकेको छु। जिल्लाबाट खेलाडी छनोटको विषय पनि अगाडि बढेको अवस्था छ।  

कात्तिक १५–१८ गतेभित्र सबै छनोट सकिन्छ होला। धेरै प्रदेशमा जिल्ला छनोट सुरु भइसकेका छ। कर्णालीले सुरु गरिसकेको छ। मधेस र कोसीले पनि सुरु गर्दै छन्। लगभग सबैतिर छनोट प्रक्रिया अगाडि बढेको छ। सबैको क्यालेन्डर मागेका छौं। उहाँहरूसँग लगातार छलफल भइरहेको छ। प्रदेशबाट राम्रो रेस्पोन्स आएको छ। बन्द प्रशिक्षणमा राख्ने तयारी छ। यसपल्ट लामो बन्द प्रशिक्षण भने हुने छैन। तर तीन हप्ता जति बन्द प्रशिक्षण हुनेछ। तर खेलाडीहरूलाई पूर्ण रूपमा तयार र फिट रहन आग्रह गर्दछु।

दसौं राष्ट्रिय खेलकुदमा सहभागी हुने केही खेलका स्पर्धा ढिला मात्र समावेश गरिएको छ। त्यसले असर गर्ने त होइन ? खेलाडीको सेवासुविधाका विषयमा केही नयाँ छ?

प्राविधिक उपसमितिमा सात जना मात्र छन्। सबैले सबै खेलबारे जानकारी राख्न सक्दैनन्। तर प्रतिस्पर्धा कुल ३२ खेलको हुँदै छ। त्यसैले केही स्पर्धा छुट्न गएको थियो। पछि सम्बन्धित खेल संघसँग पनि छलफल गरेर सबै विधा टुङ्गो लागेको छ। अब टुङ्गो लाग्न बाँकी केही छैन। संघको रायसल्लाह र सुझावअनुरूप कोटा निर्धारण गरिसकेका छौं। खेलाडीलाई राम्रो सेवासुविधा दिने विषयमा ध्यान दिएका छौं। सम्बन्धित खेलाडीकै खातामा पैसा जान्छ। पाल टाँगेर खेल हुने अवस्थामा पनि कहिलेकाहीँ आउन सक्ला। सकेसम्म भेन्यु व्यवस्थापन हुन्छन्। ई स्पोटर््सबाहेक अन्य खेल होटल या अन्य अस्थायी स्थानमा हुने छैनन्। लामो यात्रा गरेर भोलिपल्टै खेल्नुपर्ने अवस्थामा हुने छैन। खेलाडीले एक दिन पर्याप्त आराम गरेपछि मात्र खेल्ने अवस्था हुन्छ।

कर्णाली र खेल आयोजना हुने मुख्य क्षेत्र सुर्खेतमा यति धेरै खेलकर्मीको एकैपल्ट बसोबासका लागि समस्या हुन सक्छ भन्ने चिन्ताको विषय छ। यो विषयमा राखेप र मूल आयोजकले समाधानका लागि के काम गरिरहेका छन्?

दसौं खेलकुदका खेलाडी, प्रशिक्षक, अफिसियल कसैले पनि त्यो समस्या भोग्नुपर्ने छैन। खाना र बस्न कुनै समस्या हुने छैन। यसपल्ट नजिकबाट हेरेको छु। त्यहाँका सरोकारावालासँग बसेर कुराकानी गरेका छौं। यस विषयमा केही भ्रम पनि पैmलाइएको रहेछ। कुनै पक्ष यथार्थ पनि छन्। दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बसोबास व्यवस्थापन उपसमितिको संयोजक नै कर्णाली प्रदेशको उपाध्यक्षलाई बनाएका छौं। साथै सरोकार पक्षसँग पनि छलफल गरेका छौं। पहिले राष्ट्रिय खेलकुदको आयोजनाका लागि सात दिनको समयावधि राख्ने गरेको रहेछ। यसपल्ट बढाएर १३ दिन बनाएका छौं। यति लामो दिन खेल हुनेछ। कोही जाने र कोही आउने अवस्था रहनेछ। त्यसैले यसबारे कुनै समस्या हुने छैन।

राष्ट्रिय खेलकुद देशकै ठूलो र बृहत खेल आयोजना हो। यसमा प्रदेशको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर प्रदेशलाई जिम्मेवारी दिइएको हुँदैन। यसपल्ट उहाँहरूले केही जिम्मेवारी पाउनुहुनेछ?

यसपल्ट प्रदेशका सदस्यसचिवलाई नै सेभ द मिसनका रूपमा जिम्मेवारी दिएका छौं। पहिले सबै केन्द्रले हेर्ने प्रावधान थियो। यसपल्ट त्यसलाई ब्रेक गर्दै छौं। हाम्रो उपसमितिसँग समन्वयन र सहकार्य गरेर प्रदेशले नै खेलाडीको खानपान र बासोबासका लागि काम गर्नेछ। यसले गर्दा कामको बाँडफाँड हुने र प्रदेशको जिम्मेवारी पनि बढ्नेछ। साथै चुस्तदुरुस्त काम हुने गरी रणनीति अगाडि बढाएका छौं। सबै केन्द्रकै संयोजक राख्ने प्रावधान थियो। अहिले त्यसो गरेका छैनौं। स्थानीय क्षेत्रलाई नै जिम्मेवारी दिएका छौं। चारवटा उपसमिति कर्णाली प्रदेशलाई दिएका छौं।

खेलस्थल व्यवस्थापन, सुरक्षा व्यवस्थापन, बसोबास र स्वास्थ्य समिति पनि कर्णालीलाई नै दिएका छौं। बहुमत पुग्ने गरी जिम्मेवारी दिएका छौं। उहाँहरूले काम गरिरहनु भएको छ। बसोबासको समस्या पनि हुने छैन। विकल्पका बारेमा पनि सोचिरहेका छौं। विद्यालयका होस्टल र धर्मशाला पनि प्रयोग हुन सक्छन्। स्थानीयको उत्साहजनक उपस्थितिले आयोजनामा समस्या हुने छैन।

यसपल्ट राष्ट्रिय खेलकुदमा केही खेल सहभागी गराइएको छैन। यस कारण लामो समयदेखि तयारी गरेका खेलाडीहरूका लागि यो पीडादायी स्थिति हो। यो आयोजनाको विकल्पमा फेन्सिङ, प्याराग्लाइडिङ, सफ्ट टेनिस र ट्रायथोलनका खेलाडीले अन्य राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन् ? एसियन गेम्समा नै रजत पदक जितेको खेल प्याराग्लाडिङसहित केही खेलाडीले खेल्न नपाउने अवस्था रहन्छ?

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङका खेलाडी दुर्घटनामा परेर निधन भयो। त्यसको असर अहिले पनि परेको छ। साथै यो खेलको भेन्यु कर्णालीमा पनि छैन। यसपल्ट कुनकुन खेल राख्ने भन्ने विषयमा केन्द्र सरकारको मात्र अधिकार रहेन। सबै प्रदेशमा खेलिने खेललाई मात्र यसपल्ट समावेश गरेका छौं। विभागीय टोलीमा मात्र खेलिने खेलबारे ध्यान दियौं। सबै प्रदेश र विभागमा खेल्ने खेललाई प्राथमिकतामा राखेर समावेश गरेका हौं। ४÷५ वटा प्रदेशमा खेल्ने खेल मात्र राखेका छौं। यसपल्ट ३२ वटा खेल समावेश छन्। जुन कर्णाली प्रदेशसहित सबै प्रदेशमा खेल हुने खेल मात्र दसौं खेलकुदमा राखेका हौं। एउटा विभागमा खेल राख्ने र त्यसबाट फोडफाड गरेर खेलमा सहभागी हुने तरिकाको खेल दसौंमा राखेनौं। अधिकांश खेल सुर्खेतमा नै हुँदै छन्। १÷२ वटा खेल सुर्खेतनजिकको जिल्ला नेपालगन्जमा हुनेछन्। तर काठमाडौंमा नै दसौं खेलकुदका खेल प्रतिस्पर्धा हुने छैनन्।

दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ४४ करोड विनियोजन भइसकेको छ। तर यसअघि नै प्रस्तावित र माग गरिएको बजेटको आधा मात्र आएको छ। राखेपले पनि यो बजेट पर्याप्त छैन भन्ने बुझेको छ। बजेटका कारण रोकिने त होइन ? सरकारले आवश्यक परेको बजेट समयमा निकासा गर्छ?

दसौं राष्ट्रिय खेलकुदका लागि ४४ करोड १० लाख रुपैयाँ विनियोजन भएको छ। बजेट नपुग्दा अर्थ मन्त्रालयसँग थप सुनिश्चितताका लागि सहमति लिनेछौं। हाम्र्रै शीर्षकमा खर्च नभएको रकम खर्च गर्ने गरी सीमा निर्धारण पनि गरिसकेका छौं। त्यसलाई पारदर्शी र सुशासन कायम गर्ने हिसाबले खर्च गर्छौं। सरकारलाई यो भएन त्यो भएन भन्दा पनि प्राप्त बजेटमा काम गर्नेछौं। मितव्ययी तरिकाले खर्च गर्नेछौं। यो बजेट कम भने होइन। अनावश्यक पक्षमा खर्च कटौती हुन सक्छ।

राष्ट्रिय खेलकुदको विशेषता जहाँ आयोजना भयो त्यहाँ केन्द्र सरकारले पर्याप्त पूर्वाधार निर्माण गरेर हस्तान्तरण गर्नु पनि हो। तर यसपल्ट त्यो अवस्था हुन सकेन भन्ने आएको छ। यसपल्ट केन्द्र सरकारले पूर्वाधार दिन सकेन नि?

पूर्वाधार नभएको स्थानमा पो बनाउने हो। कर्णाली सरकाले झन्डै दुई अर्बको खेल पूर्वाधार बनाइसकेको छ। १०÷१५ खेल त्यही ठाउँमा हुँदै छ। तर त्यो पर्याप्त भने होइन। तर केही साना पूर्वाधार निर्माणका लागि बजेट छुट्टाएका छौं। जेजस्तो छ त्यसमा नै खेल हुन्छ। जसले पूर्वाधारको कुरा उठाउँछ त्यो खेल हुन नदिने सोच हो। तथापि पूर्वाधार दिन नसक्दा खेल सामग्री कर्णाली प्रदेशलाई दिनेछौं। त्यसमा छलफल भइरहेको छ। कर्णाली प्रदेशको तीन तहकै सरकारसँग एकसाथ अगाडि बढेर दसौं खेलकुद आयोजना गर्दै छौं। त्यहाँ स्थानीय पनि त्यसमा सहभागी हुने तयारी छ। त्यसैले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद उत्साह र उमङ्गको साथ आयोजना हुने विश्वास छ। 

प्रकाशित: ७ कार्तिक २०८३ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App