१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फौजी किरा बटुलेर कुखुरालाई चारो

हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटारमा मकैको बोटबाट निकालिएको किरा । तस्बिर : नागरिक

मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि अधिकांश किसानले विषादि उपयोग गर्छन् / गरिरहेका छन् । तर, खोटाङका कतिपय किसानले भने मकैको बिरुवामा महामारीकारुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका किसानले दैनिकजसो मकैको बिरुवामा पाइने फौजी किरा टिपेर नियन्त्रणको प्रयास गरिरहेका छन् ।

किटनाशक विषादि हाल्दा मानव स्वास्थ्यलाई जोखिम हुने र मकैबारीबाट निकालिने घाँसपात गाईबस्तुलाई खुवाउन पनि उत्तिकै जोखिम हुने भएकाले किसानले विषादिको सट्टा हातैले टिपेर किरा मार्ने विधि अपनाएका हुन् । फौजी किरा नियन्त्रणमा दाल्फुका केही किसानले विषादि प्रयोग गरे पनि त्यहाँका अधिकांश किसानले मकैका प्रत्येक बोट ओल्टाइपल्टाई गरेर किरा झिक्ने गरेको दाल्फुका स्थानीय खबिराज राईले बताए ।  

मकैको बोटबाट निकालिएको फौजी किरा बटुकामा जम्मा गरेर खुकुरालाई चारो खुवाउने गरिएको छ । कतिपय किसानले राती राती बारीको डिलमा आगो बालेर फौजी किराको पुतली जलाएर मार्ने गरेका छन् । कतिपय किसानले भने स्थानीयस्तरमा जैविक विषादि तयार पारेर फौजी किरा नियन्त्रणको प्रयास गरिरहेका राईले बताए ।  

विषादि उपयोग नगर्ने किसानले दैनिक मकै बारीमा पुगेर मेहनतकासाथ फौजी किरा झिक्ने गरेका छन् । दैनिक खोजी गर्दै मार्दा क्रमशः फौजी किरा नियन्त्रणमा आइरहेको उनीहरुको अनुभव छ । एक पटक किरा झिकिसकेको बोटमा पुतलीले फुल पार्ने भएकाले पुःन फौजी किराको बच्चा भेटिने भएकाले मकैको बोटलाई पटक–पटक हेरचाह गर्नुपर्ने देखिएको स्थानीय मिलन राईले बताए । ‘बारीमा गएर दैनिकजसो फौजी किरा खोजेर निकाल्ने गरिएको छ । कुनै दिन एक जग किरा भेटिन्छ,’ मिलनले भने, ‘दैनिक हेर्दा किराका साना–साना बच्चा भेटिन्छ । नियमित टिपेकाले मकैमा पहिलाजस्तो किरा छैन ।’  

एक पटक विषादि हालेको ठाउँमा पुनः फौजी किरा देखिने भएकाले पटक–पटक विषादि हाल्नु परेको किसानको भनाई छ । त्यसमाथि सुरक्षाका सामग्री नै नलगाई किसानले सामान्य मास्क मात्र लगाएर विषादि छर्कने गरेका छन् । कतिपयले मेटासिट छर्कने पम्प प्रयोग गरेर विषादि छर्ने गरेका छन् भने कतिपयले पेप्सीको बिर्कोमा सानो प्वाल पारेर विषादि छर्ने गरेको खबिराजले बताए ।  

अघिल्ला वर्षसम्म खोटाङका केही नगरपालिका र गाउँपालिकाको बेँसी क्षेत्रमा देखा परेको अमेरिकन फौजी किरा यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका ठाउँमा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको अमेरिकन फौजी किराले यसपल्ट अधिकांश स्थानीय तहको बेँसी क्षेत्रका मकै सखाप पारेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताए । 

फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । तर, सुरक्षाका विधि नअपनाई विषादि छर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष अशर पुग्ने देखिएको छ ।  

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App