४ वैशाख २०८१ मंगलबार
समाज

‘दिनभर प्रहरीले लखेटिरहन्छ’

लकडाउनमा तरकारी व्यवसायीलाई प्रहरीको अंकुश

घोराही मेन रोडमा तरकारी बेच्न बसेका मीना र केमी पुन । तस्बिरः देवेन्द्र बस्नेत/नागरिक

मोटरसाइकलमा हुँईकिदै प्रहरी सिट्टी फुक्दै आउँछ । बजारमा रहेका अन्य पसलहरूको भीडभाडलाई मतलवै गर्दैन । मानौं, त्यहाँ कोरोना संक्रमणको जोखिमै छैन । तर सडक पेटीमा ‘डोकामा तरकारी’ थापेर साँझ विहानको जोहो गर्न थालेका तरकारी व्यवसायी महिलाहरूलाई थर्काउँछ । कोरोना संक्रमण बढाएको भन्दै उनीहरूमाथि प्रहरी जाईलाग्छ । भन्छ ‘तरकारी फालिदिउँ कि उठेर जाने ?’ तरकारी फालिदिने सम्मको धम्की दिने प्रहरीको अगाडी निरीह रहने ति महिला व्यापारीहरू दिनभर प्रहरीसंग यसैगरी लखेटिइरहन्छन् । ‘दिनभर हामीलाई त प्रहरीले लखेटिइरहन्छ, एकै ठाउँमा बस्नै दिँदैन, कोरोनाको भाईरस बोकेर आएको जस्तो बनाउँछ’ मीना पुनले भनिन् । 

घोराहीको मेनरोडको एक पेटीमा तरकारी बोकेको उनको डोको पिठ्युँबाट भर्खरै भुईँमा झरेको थियो । टमाटर, भिन्डी लगायतका तरकारी बोरामा खन्याएर भर्खरै ‘सौ–पचास’ आम्दानीको मेसो पकड्दै थिईन् मिनाले । मोटरसाईकलमा सवार दुई प्रहरी सिट्ठी फूक्दै आईपुगे । हतार हतार तरकारी डोकामा खन्याउन पाउँदा नपाउँदै प्रहरीले भेटाईहाल्यो । ‘तपाईहरू तुरुन्त निस्कीहाल्नुस्,’ खरो आवाजमा एक प्रहरी बोले ‘नत्र तरकारी फालिदिन्छौँ ।’

प्रहरीको दिनहुँको यो लखेटाई भोग्दै आएकी मीनाका लागि प्रहरीको यो व्यवहार सामान्य जस्तै लागिरहेको थियो । उनी केही नबोलि तरकारी डोकामा बोकेर पाईला चाल्न थालिन् । उनी त्यहाँबाट उठेर जाने विश्वासले प्रहरी हिँडेपछि थचक्क भुईँमा बस्दै उनले भनिन्, ‘हामी गरिबका लागि लकडाउन अभिषाप बनेको छ, त्यसमा पनि प्रहरीले गरी खान दिन्न ।’    

रोल्पाकी मीना आफ्नो परिवारसहित घोराही स्थित रझेनामा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । उनका श्रीमान मजदुरी गर्छन् । लकडाउनका कारण श्रीमानको व्यवसाय ठप्प छ । चारजनाको परिवारको साँझ विहानको छाकको जोहो गर्न मीना डोको बोकेर तरकारी खरिद गर्न गाउँ पुग्छिन् । अनि तरकारी बोकेर घोराही बजार झर्छिन् । 

‘लकडाउनले धेरथोर हुने आम्दानी पनि पुरै रोकियो,’ उनले भनिन् ‘साँझ विहानको छाक टार्नका लागि तरकारी बेच्न हिँड्छु, तर सरकारले लखेटिरहन्छ ।’ डेराबाट झिसमिसेमै तरकारी बोकेर बजार आईपुग्ने मीनाको सारा दिन चोक चाहार्दा चहार्दैमा वित्छ । ‘एकै ठाउँमा बसेर तरकारी बिक्री गर्न प्रहरीले दिन्न, उठ् भन्छ अर्को ठाउँमा गएर बस्न खोज्यो त्यहाँबाट पनि लखेट्छ ,’ उनले भनिन् ‘प्रहरीको आँखा छल्दै व्यवसाय गर्नु परिरहेको छ ।’

मीनाकी छिमेकी केमी पुनपनि दिनहुँ प्रहरीबाट मीनासंगै लखेटिईरहन्छीन् । कोरोना संक्रमणको जोखिम निम्त्याउने भन्दै प्रहरीको तारो बनेकी केमी भन्छिन्, ‘बजार खुल्न थालिसक्यो, मान्छेको भीड सडकैभरी हुन थालिसक्यो तर त्यहाँ कोरोनको डर नहुने,तर हामीहरूले सडकको पेटीमा बसेर दुईचार किलो तरकारी बिक्री गर्दा कोरोना सर्छ रे ।’ उनका श्रीमान श्रमका लागि भारत जाने गर्छन् । अहिले उनको श्रीमानको आयस्रोत लकडाउनका कारण शून्य छ । 

चारजनाको परिवार सहित घोराहीमा डेरा गरि बस्दै आएकी केमीको अहिलेको आयस्रोतको प्रमुख माध्यम भनेकै तरकारी व्यवसाय हो । घोराहीमा सटर भाडामा लिएर तरकारी व्यवसाय गर्न सक्ने आर्थिक क्षमता छैन । अनि सडक पेटीमा बोरा बिछ्याएर गरिने व्यवसायलाई सरकारले नै अंकुश लगाईरहेको छ । अँझ मुखै छोडेर प्रहरीबाट हुने व्यवहारले झनै मन दुखाउँछ केमीको । ‘कुनै कुनै प्रहरीले त राम्रैसंग घर जानुस् नबस्नुस् भन्छन्,’ उनले भनिन् ‘कसैकसैले त मुखै छोडेर गाली गर्छन्, तरकारी फाल्ने सम्मको धम्की दिन्छन्, अपराधिको जस्तो व्यवहार हुन्छ ।’  

मीना र केमी मात्रै हैनन्, लकडाउनमा खटिएका प्रहरीबाट सडक पेटीमा तरकारी बिक्रीका लागि बस्ने साना व्यवसायी महिलाहरू निकै पिडित बन्नु परेको गुनासो गर्छन् । प्रहरीले गर्ने अमानवीय व्यवहारका कारण केही महिलाहरूको सडकमै रुवाबासी समेत चल्ने गरेको छ । केहि दिन अघि मात्रै घोराहीको शहिदगेट नजिकै व्यवसायका लागि पेटीमा बसेकी एक महिलालाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएका दुई प्रहरीले धरधरी रुवाए । 

कोरोना सार्ने भन्दै जेल हाल्ने सम्मको धम्की दिएको प्रहरीसंग उनी सुरुमा बाझिन् । तर निकै आक्रोशित बनेको प्रहरीका अगाडी उनको केहि जोर चलेन । ‘प्रहरीले मानवीयताको सीमानै नाघेर गाली गरेपछि ति महिला सडकमै धरधरी रोईन्,’ एक प्रत्यक्षदर्शीले भने ‘प्रहरीले ति महिलालाई कोरोना सार्ने ? भन्दै जेल हाल्ने सम्मको धम्की दिएका थिए ।’ प्रहरीको कडा धम्की पछि ति महिला रुँदै घर तर्फ लागेकी थिईन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App