१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मृत्युको कारण नै थाहा पाएनन् कोरोना संक्रमितले

कर्णालीमा कोरोना

कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सिर्जित बन्दाबन्दी (लकडाउन) का कारण रोजगारी गुमेर भारतबाट आएका पञ्चपुरी–१, का २० वर्षीय युवक १५ दिन क्वारेन्टिनमा बसेर घर पर्किए । बुधबार (२१ गते) आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि खुसी साथ घर फर्किए । तर उनको सुखी एक रात टिकेन । सोही राति घर नजिकै सुतेको अवस्थामा उनको मृत्यु भयो । उनले आफ्नो मृत्युको कारणसमेत थाहा पाउन सकेनन् ।

रोजगारीका लागि भारत गएका उनी जेठको पहिलो साता स्वदेश पर्किए । उनी मात्र होइन आफूलाई कोरोनाको संक्रमण भएको थाहा नै नपाइ दैलेख दुल्लु नगरपालिका–११, का ३५ वर्षीय पुरुषले पनि ज्यान गुमाए । सोही नगरपालिका–७, मा निर्माण गरिएको क्वारेन्टिनमा उनको मृत्यु भएको हो । त्यस्तै होम क्वारेन्टिनमा बसेका डोल्पाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

१९ गते सुर्खेतबाट दमको उपचार गरी फर्किएका जगदुल्ला गाउँपालिका–३, का ती पुरुष २१ गते मृत्यु भएको थियो । २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र २३ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । मृतक ती पुरुषले पनि आफू कोरोनाबाट मृत्यु भएको थाहा नै पाएनन् ।

हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ तर बिडम्वना दुवैले कारण थाहा पाउन सकेनन् । स्थानीय सरकारको कमजोर परीक्षण प्रणाली र प्रदेश सरकारको भद्रगोल व्यवस्थापनका कारण कोरोना संक्रिमतले कारण थाहा नपाएर ज्यान गुमाउनु परेको स्थानीयको आरोप छ । उनीहरूको रोग समयमै थाहा भएको भए ज्यान जान सक्ने स्थिति कम हुने स्थानीय दिनेश बडुवालले बताए । कर्णालीमा कोरोना परीक्षणका खेलाची गरिएको उनको भनाइ छ ।

‘समयमै गुणस्तरीय कोरोना परीक्षण भएको भए ज्यान जाने सम्भावना कम हुन्थ्यो,’ उनले भने, ‘उनीहरूले समयमै उपचार पाउथ्ये ।’ कोरोना संक्रमण भइसकेपछि उपचार अभावमा दुवैजनाको मृत्यु भएको खिमबहादुर चपाईं बताउँछन् । कर्णालीमा सामान्य अवस्थामा समेत कर्णालीवासीले अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । ‘यस्तो महामारीमा सरकारले गम्भीरताका साथ स्वास्थ्य परीक्षण गरेन,’ कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भने, ‘जनताको स्वास्थ्यभन्दा उनीहरू मस्तीमा लागे ।’ कोरोना संक्रमणको त्रास फैलिएका बेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत अनुगमनभन्दै हेलिकोप्टरबाट जिल्ला÷जिल्ला पुगेका थिए । सरकारले यस्तो महासंकटका बेला क्वारेन्टिनमा बसेहरूको स्वास्थ्य परीक्षण गर्न नसकेको उनको भनाइ छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका दुवैजनाको मृत्युपछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ‘मृतकले उपचार र पारिवारिक स्याहार सुसार पाएनन्,’ दैलेखका गोविन्द भारतीले भने, ‘कोरोना परीक्षणमा सरकार चुकेकै छ ।’ भारतबाट आउनेको संख्या वृद्धि भएको र कोरोना परीक्षण कछुवा गतिमा हुँदा समस्या जटिल बनेको उनको भनाइ छ । हाल कर्णालीमा ३५ हजारभन्दा बढी नागरिक भारतलगायत रोजगार क्षेत्रबाट आएको कर्णाली प्रदेश सरकारले जनाएको छ । करिब एक लाखभन्दा बढी कर्णालीवासी घर फर्कन सक्ने सम्भावना रहेको सरकारको भनाइ छ ।

परीक्षणको दायरा बढाउन कर्णालीवासीको भनाइ छ । अहिले भारतलगायत तेस्रो मुलुक र देशका विभिन्न क्षेत्रबाट आइ क्वारेन्टिनमा बसेकाहरूको परीक्षण मात्र भएको हुँदा अब समुदायस्तरमा पनि कोरोना परीक्षण गर्नुपर्ने वीरेन्द्रनगरकी देवीसरा बिकले बताइन् । ‘आरडीटी मात्र चेक गरेर भारतबाट आएका धेरै घर गएका छन्,’ उनले भनिन्, ‘आरडीटी भरपर्दा नहुँदा घर गएका केही मा कोरोना हुन सक्छ । त्यो समुदायका लागि खतरा हो ।’ समयमै परीक्षण नहुँदा उपचार अभावमा ज्यान गुमाउन सक्ने अवस्था घटाउन परीक्षणको दायरा बढाउनु पर्नेमा उनकोकक जोड छ ।

तेस्रो व्यक्तिको मृत्यु
कर्णालीमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । होम क्वारेन्टिनमा बसेका डोल्पा जगदुल्ला गाउँपालिका–३, का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दमका बिरामी उनी १९ गते उपचारपछि सुर्खेतबाट घर फर्किएका थिए । सास फेर्न गाह्रो हुँदा उनको २१ गते मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्यु भएका ती पुरुषण्को २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र २३ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । मृतक ती पुरुषको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

 कर्णालीमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसभन्दा अघि दैलेख र सुर्खेतमा एक÷एकजनाको ज्यान गएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App