६ चैत्र २०८० मंगलबार
समाज

रेडपान्डामा ‘जिपिएस कलर’

संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपान्डाबारे विभिन्न किसिमको अध्ययन गर्न ‘जिपिएर कलर’ जडान गरीएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको पिआइटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिडोरअन्तर्गत इलामको सन्दकपुरमा १० वटा रेडपान्डामा जिपिएर कलर जडान गरिएको जनाइएको छ । नेपालमै पहिलोपटक रेडपान्डामा जिपिएस कलर जडान गरिएको हो ।  

यसले रेडपान्डा कहाँकहाँ गइरहेको भन्ने जानकारी दिनेछ । बन तथा भूसंरक्षण विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो । तीन महिना लगाएर यस्तो जडान गरिएको जनाइएको छ । सन् २०१९ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म वन क्षेत्रमा यस्तो जडान गरिएको थियो । स्याटेलाइटमार्फत सिधै सर्भरमा सूचना दिनेगरी जडान गरिएको उल्लेख छ ।

वन तथा भूसंरक्षण विभागको नेतृत्वमा स्याटेलाइटबाट तथ्यांक संकलन गर्नेगरी जडान गरिएको बताइएको छ । रेडपान्डा कहाँकहाँ जान्छन्, रेडपान्डाको आपसी भेटघाट कति समयमा हुन्छ, कस्तो वन क्षेत्र रुचाउँछ भन्नेलगायत विषयको अध्ययन गर्ने गरी रेडियो कलर जडान गरिएको जानकारी दिइएको छ । रेडपान्डाको गतिविधिको अध्ययनका लागि यो महत्वपूर्ण भएको सो क्षेत्रका जानकारहरू बताउँछन् ।  

रेडपान्डा नेटवर्कको आर्थिक तथा प्राविधिक सहयोगमा ६ पोथी र चार भालेमा जिपिएस कलर जडान गरिएको हो । ‘यो रेडपान्डा संरक्षणमा एउटा ठुलो कोसेढुंगा हो,’ विज्ञप्तिमा विभागका महानिर्देशक मानबहादुर खड्काले उल्लेख गरेका छन् । रेडपान्डाले कस्तो वन क्षेत्र बस्न रुचाउँछ, प्रजनन अवधिमा कहाँ बस्छ, आपसी भेटघाट कसरी हुन्छ, निर्माण तथा मानवीय गतिविधि हुने ठाउँमा बस्छ कि बस्दैन लगायतका विविध पक्षको अध्ययन हुने जानकारी दिइएको छ । हरेक २४ घण्टामा सर्वरमा सूचना दिने बताइएको छ । रेडपान्डाको घाँटीमा रेडियो कलर जडान गरिएको छ । एक वर्षसम्म सूचना प्राप्त हुनेछ ।

‘नेपालको रेडपान्डा संरक्षण कार्ययोजनाको एक महत््वपूर्ण उद्देश्य पूरा गर्ने अवसर पाउनु हाम्रा लागि गर्वको क्षण हो,’ रेडपान्डा नेटवर्क नेपालका निर्देशक आङ पुरी शेर्पाले भने । नेपाल सरकारको पाँच वर्षे रेडपान्डा संरक्षण कार्ययोजना लागु भएको छ ।  

रेडपान्डा नेटवर्कले तीन जिल्लामा रेडपान्डाको बासस्थान संरक्षण, सचेतना तथा अनुसन्धानमा काम गरिरहेको छ । इलाम, पाँचथरको वन क्षेत्रमा ती रेडपान्डाको गतिविधि अध्ययन हुनेछ । भारतसँग सिमाना जोडिएको क्षेत्र भएकाले पनि यो महत््वपूर्ण भएको बताइन्छ । जिपिएस कलर जडान गरीएका रेडपान्डाको स्थानीय नाम राखिएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७७ ००:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App