coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थप १६ जनामा संक्रमितमध्ये १५ जना भारतबाट आएका

सुनसरीमा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हरिनगर क्वारेन्टिनमा बसेका १२ जना पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो । यस्तै, बर्जु गाउँपालिकाको क्वारेन्टिनमा रहेका तीन जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय इनरुवाले जनायो । ‘हरिनगर र बर्जुमा कोरोना संक्रमित सबै भारतबाट आएका हुन,’ जनस्वास्थ्य कार्यालय पब्लिक हेल्थकी सिर्जना लिङ्थेपले भनिन् ।  

हरिनगर क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका एक साताअघि भारतबाट फर्किएका सबै विद्यार्थी हुन् । यी विद्यार्थी १७ वर्षदेखि २५ वर्ष उमेर समूहका रहेको गाउँपालिका अध्यक्ष गफार अनसारीले जनाए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका सबै विद्यार्थीमा सुरुमा आरडिटी गर्दा नेगेटिभ नतिजा आए पनि पिसिआर गर्दा पोजेटिभ आएको हो । हरिनगरको क्वारेन्टिनमा भारतबाट ६५ जना छन् ।  

बर्जुको कोरोना संक्रमण भएका पुरुष पनि भारतमा ज्याला मजदुरी गरेर फर्किएका हुन् । बर्जु वडा नं. २ को सीतारा फ्याक्ट्रीको क्वारेन्टाइनमा ४२ जना रहेकोमा तीन जनामा कोरोना संक्रमण भेटिएको गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले बताए ।  

यसैगरी, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थाे अब्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिका–५ की आठ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ । अघिल्लो शुक्रबार खुट्टा भाँचिएर ती बालिकालाई इनरुवाको एक क्लिनिकमा लगिएको थियोे । क्लिनिकबाट धरान रिफर गरिएपछि फेरि घरमा ल्याएर एक दिन राखेर उपचार गर्न लगिएको थियो । धरानमा उपचार गराइरहेकै बेला कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ नतिजा आएको बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरले बताइन् । अहिले बराहक्षेत्र–५ मा विशेष सतर्कता अपनाइएको छ ।  

संक्रमितको स्वाबको नमुनाको परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला कोसी अस्पताल विराटनगरमा गरिएको हो । सुनसरीमा केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएका दुई सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App