१ श्रावण २०७७ बिहीबार
समाज

फाँटभरी तरकारी छ तर मूल्य छैन

तरकारी किसानको पीडा

लालमाया तामाङ पाँचखालस्थित गोलभेंडा खेतमा

काठमाडौं उपत्यकालाई हरियो तरकारीको भरथेग गर्ने पाँचखाल उपत्यकाका फाँटहरुमा यतिखेर किसानहरु देखिँदैनन्। सिजनभरि मेहनत गरी फलाएको कृषि उपजले भाउ र बजार दुबै नपाएपछि किसानले खेतमा टेक्नै छाडेका हुन्। खेतमा भेटिइ हालेका किसानहरु पनि निराश देखिन्छन्। सरकारले बजेटलाई किसानमैत्री बनाउन खोजेको छ तर किसाका पीडा भने उस्तै छन्। खेतमा तरकारी छ तर बजारमा लैजाँदा मूल्य छैन। बजार लैजानै मुस्किल छ।  

नेपालमा समेत महाव्याधीका रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोक्न सरकारले चैत ११ देखि लागू गरेको ‘लक डाउन’ को प्रत्यक्ष असर यतिखेर पाँचखालमा देखिएको छ। पाँचखाल, तामाघाटनजिकै भेटिएकी लालमाया तामाङ भन्छिन्, ‘तरकारी बेच्ने किसानलाई अहिले पैसा आउँदैन, उता खानेले महँगोमा किनेर खाइरहनु परेको छ’, उनले थपिन्।  

धुलिखेल भट्टीडाँडाबाट खेतीकिसानी गरौं भनेर पाँचखालको वेंशीमा झरेकी तामाङले दुई रोपनी जग्गा भाडामा लिएर गोलभेंडा खेती गरिरहेकी छिन्। उनी भन्छिन्, ‘जग्गाको भाडा त अर्को सिजनको खेतीले उठाउन सकिएला। तर, गोलभेंडामा हालेको औषधि र ज्यालाको पैसामात्रै उठे पनि हुन्थ्यो। तर यो पटक उठ्दैन’, गोलभेंडा टिप्दै गरेकी तामाङले भनिन्।

स्थानीय लामिछाने परिवारको दुई रोपनी जग्गा वार्षिक ३० हजार रुपैंया भाडा तिर्ने शर्तमा उनले खेतीका लागि लिएकी हुन्। माघको अन्तिम साता सबै जग्गामा गोलभेंडाको हाइब्रीड बीउ रोपेकी छिन्। यतिखेर खेतभरि लटरम्म गोलभेंडा फलेको छ र टिप्न तयार भइसकेको छ। तर, तामाङले एकै पटक टिप्न सकेकी छैनन्। उनी भन्छिन्, ‘यो पटक बाहिरका व्यापारीहरु पाँचखाल आएका छैनन्। स्थानीय व्यपारीहरुले पनि उठाएर लैजान सकेका  छैनन्’, उनले थपिन्। पोहोरसम्म गोलभेंडा किन्नका लागि पोखरा, हेटौंडादेखि व्यापारीहरु पाँचखालमै आउने गरेको उनको भनाई छ। स्थानीय व्यापारीहरु नआएपछि तामाङले माइती गाउँका भाईहरुलाई बोलाइन्। अहिले तीनै भाईहरुको मद्दतमा गोलभेंडा पठाइरहेकी छिन्। उनी भन्छिन्, ‘गोलभेंडा टिप्नका लागि घण्टाको एक सय रुपैंया ज्याला दिएर खेताला राखेको छु। तर एक क्रेट (२५ किलो) गोलभेंडा बेच्दा मुस्किलले ६० रुपैंया पाइरहेको छु। एक घण्टामा क्रेट गोलभेंडा टिप्न सकिन्न्’, तामाङले थपिन्, ‘भाईहरुले पनि बेच्न सके पो मलाई भाउ दिन्थे। कहिले तेमालको भाइहरुलाई गुहारेको छु। उनीहरुको धर्मले कति दिन्छ त्यही नै हात थाप्ने हो’, उनले थपिन्।  

खेती किसानीसँगै किसानको अधिकारका लागि क्रियाशील सावित्री लामिछानेका अनुसार पाँचखालका किसानले कोरोना अघि पनि प्राकृतिकलगायत अन्य कारणले  केही न केही समस्या भोग्दै आएका छन्। यो क्रम लक डाउनमा झन चुलियो। उनी भन्छिन्, ‘अहिले भाउ पाइएन भन्दा पनि सबैतिर बन्द छ। होटल, कलकारखना चलेका छैनन्। बिहे, ब्रतबन्ध, भोजभत्तेर भएका छैनन्। स्कुल कलेजहरु बन्द छन्। लक डाउनमा सबै क्षेत्र बन्द हुँदा तरकारीको ‘भोलुम’मा उपभोग हुन नसकेको हो। किसानको उत्पादनको सहज बजार पहुँच र भाउमा सुनिश्चतता ल्याउने काममा अब सबै सरोकारवालहरु लाग्न थाल्नु पर्छ’, लामिछानेले सुझाइन्।  

पाँचखाल नगरपालिकाको कृषि शाखाका प्रमुख ईश्वर अधिकारीका अनुसार यो सिजनमा पाँचखाल उपत्यकामामात्रै २० हजार रोपनीमा गोलभेंडा खेती भएको छ। यसमा पाँच हजार घरपरिवार संलग्न रहेका छन्। उनी भन्छन्, ‘गोलभेंडा रोपेलगत्तै ढुसीजन्य रोग लाग्यो। हरेक दिनजसो पानी आउने क्रम रह्यो। यसले अरु रोगहरु थप्यो। पोहोर जति यो पटक उत्पादन नहुँदा किसानको गोलभेंडा खेतीसमेत खर्चिलो भयो’, उनले थपे।  

पाँचखालका किसानमध्ये अधिकांशले गोलभेंडाको हाइब्रीड बीउ लगाएका हुन्। अढाई ग्राम पाकेटको बीउलाई ३ सय रुपैंया तिरेका किसानले प्रति रोपनीमा ४ पाकेटसम्म बीउ रोप्दै आएका छन्। माघको अन्तिम सातादेखि फागुनको अन्त्यसम्म रोपिएको गोलभेंडा यतिखेर तयार भएको हो। पोहोर यही सिजनमा पाँचखालका किसानले प्रति क्रेट (२५ किलो) गोलभेंडा १८ सय रुपैंयासम्ममा बेचेका थिए। यो कुराको पुष्टि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले समेत पुष्टि गरेको छ। समितिका अनुसार अघिल्लो वर्ष जेठ १७ गते (मे ३१ ) मा सानो गोलभेंडाको औसत थोक मूल्य प्रति क्रेट २ हजार ७५ उल्लेख छ। जबकि यो वर्ष साढे ५ सय रुपैंया छ। गोलभेंडाको मूल्यमा ७३ देखि ८२ प्रतिशतसम्म घटेको समितिको मूल्य सूचीले देखाउँछ।

पाँचखालका किसानले जग्गा भाडा, जमीन खनजोत, विरुवा रोप्न, गोडमेल, थाँक्रा र डोरी, रोगनाशक विषादी, मल र टिप्नका लागि प्रति रोपनी ४० हजार रुपैंयाको हाराहारीमा खर्च हुने गरेको बताएका छन्। तामाङ भन्छिन्, ‘धान रोप्यो भने १० बोरा पनि फल्दैन होला। आफ्नो बस्तु नभएकाले अरुले जतिमा भने त्यतिमै पराल बेच्नु पर्छ। त्यसैले पनि तरकारी नलगाई सुख छैन। अब जस्तो भए पनि तरकारी नै लगाउने हो’, उनले भनिन्।

पाँचखालमा साना र मझौला किसानको बाहुल्य रहे पनि पछिल्ला वर्षमा व्यावसायिक तरकारी खेतीमा लगानी गर्नेहरु बढेका छन्। तामाङ भन्छिन्, ‘धेरै धेरै जग्गा भाडामा लिएर ठूलो खेती गर्नेहरुलाई धेरै समस्या छ। किसान त सबै एउटै हुन्, मल किन्नु पर्छ, औषधि किन्नु पर्छ। मेरो मात्र विकोस भन्ने होइन, सबै किसानको तरकारीहरु बिक्नु पर्छ। किसान नमर्ने गरी तरकारीको भाउ आइदिए, त्यही ठूलो हुन्थ्यो’, उनले भनिन्।

पाँचखालका किसानले बालीचक्रमा गोलभेंडा, त्यसपछि धान अनि आलु र सीमित क्षेत्रफलमा काउली रोप्ने गरेका छन्। किसानहरु सरकारी अनुदानभन्दा पनि उब्जनी भएका तरकारी र खाद्यान्नलाई उचित भाउमा बेच्न पाउने व्यवस्था मिलाइदिनु पर्ने सुझाव दिन्छन्, ‘हामीले  उब्जनी गरेका तरकारी र खाद्यान्नहरु उचित भाउमा बेच्न पाए हुन्थ्यो। सरकारले हामीलाई अनुदानभन्दा पनि सधैंभरि बेच्ने ठाउँ र प्रतिस्पर्धाको भाउमा पठाउने व्यवस्था मिलाइदिए हुन्थ्यो’, तामाङले थपिन्।

खुर्सानी जात र लहरे तरकारीहरुको पनि खेतमै

यो सिजनमा पाँचखालका फाँटहरुमा खुर्सानी जातका पीरो, माछा र भेँडेखुर्सानी तथा लहरे तरकारीहरु करेला, काँक्रो, लौका, फर्सी र घिरौंला तयार भएकामात्रै नभई बेलामा नटिपेकाले खेतमै कुहिन थालेको छ। यी सबै बालीको भाउ पोहोर यति नै समयको दाँजोमा ह्वात्तै घटेको छ। लागत नै नउठ्ने भएकाले किसानले यी तरकारीहरु पनि नटिपेर खेतमै छाडेका छन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अघिल्लो वर्षको जेठको तुलनामा यतिखेर लहरे तरकारीहरुको थोक भाउमा ५२ देखि ७१ प्रतिशतसम्म  र खुर्सानी जातमा ६१ देखि ८२ प्रतिशतसम्म भाउ घटेको देखाएको छ।

 

प्रकाशित: २३ जेष्ठ २०७७ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App