१६ चैत्र २०८० शुक्रबार
समाज

चौरजहारी घटना: ‘राजनीतिक आडमा तोडमोड प्रयास’

कुटपिटपछि मृत्युः पोस्टमार्टम रिपोर्ट

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए। ‘घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्ल प्रमुख दोषी हुन्। उनकै संलग्नतामा यो सबै घटना भयो,’ उनले भने, ‘तर अहिले नेताहरूले अपराधीलाई बचाउनेगरी वक्तव्य दिने गरेका छन्।’

चौरजहारी घटना जघन्य अपराध भएकाले यसलाई कसैले पनि बचाउने प्रयास गर्न नहुने नेकपा प्रदेश कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य रातो कामीले बताए। नेताहरूले काठमाडौंमा बसेर वास्तविकता नबुझी घटनालाई तोडमोड गर्ने अभिव्यक्ति दिनु दुःखद भएको उनको भनाइ छ।

‘विवाहका लागि केटी लिन गएका युवा दलित भएकै कारण कुटेर मारी भेरीमा फालेको थाहा हुँदाहुँदै केटाहरू आफैं भेरीमा हाम फालेको भन्दै गलत प्रचारबाजी गरेर दोषीलाई बचाउने प्रयास भयो,’ उनले भने, ‘पोस्टमार्टमले समेत पानीमा बगेर नभई बाहिरै मृत्यु भएको देखाएकाले घटनालाई तोडमोड गर्नुहुँदैन।’  

जाजरकोटबाट नवराज विक चौरजहारी नगरपालिका–८ सोतीकी सुष्मा मल्ललाई लिन साथीहरूसहित आएका थिए। चौरजहारी पुगेका उनीहरूलाई स्थानीयले आक्रमण गरेका थिए। आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ भने एक जना बेपत्ता छन्।

वडाध्यक्ष मल्लको नेतृत्वमा गाउँलेले जाजरकोटबाट आएका युवाहरूलाई लखेटेर हत्या गरेको अर्का दलित अधिकारकर्मी प्रवीर ददेलले बताए। अन्तरजातीय प्रेम सम्बन्धलाई विवाह हुन नदिन युवाहरूलाई कुटपिट गरेर हत्या गरेको उनको दाबी छ। ‘जातीय छुवाछूतकै कारण पाँचजनाको मृत्यु भयो, एकजना अझै बेपत्ता छन्, अझै यसलाई अन्य कारणले घटना भयो भनेर प्रचार गर्नु गलत हो,’ ददेलले भने, ‘अब घटनालाई तोडमोड गर्नुभन्दा दोषीलाई कारबाही गरेर पीडित परिवारलाई न्याय दिनतिर लाग्नुपर्छ।’

कुटपिटपछि मृत्युः पोस्टमार्टम रिपोर्ट

रुकुम घटनामा शव भेटिएका पाँच जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्।

मृतक पाँच जनाकै शरीरका विभिन्न भागमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले जानकारी दिए। ‘मृतकहरूको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ उनले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन।’ उनका अनुसार नदीमा डुबेर मृत्यु भएका मानिसको पेट पानी भरिएर फुल्ने गर्छ तर त्यस्तो देखिएन। उनीहरूको मृत्यु पानीमा डुबेर नभएको देखिएको उनको भनाइ छ। अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताइएको छ।

अनुसन्धानलाई ६ बुँदे ज्ञापन

दलित अधिकारकर्मीले गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय अनुसन्धान समितिलाई घटनास्थल पुगेर निष्पक्ष छानबिनको मागसहित ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्। मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीलाई कर्णाली प्रदेशसभाका सदस्यहरू रातो कामी, झुपा विक, सीता नेपालीलगायतले घटनास्थल पुगेर निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि हदैसम्मको कारबाही गर्न मागसहित ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै समितिका संयोजक बस्नेतले सरकारले दिएको निर्देशनअनुसार निष्पक्ष छानबिन गर्ने बताए। ‘घटना तोडमोड हुँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,’ उनले भने, ‘सबै कुराको अनुसन्धान गरेर हामी सत्यतथ्य छिट्टै बाहिर ल्याउँछौं।’ समितिमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी छन्।  आफूहरूले मृतक सन्दीप विकको शव अवलोकन गर्नुका साथै परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको संयोजक बस्नेतले जानकारी दिए।

प्रकाशित: १८ जेष्ठ २०७७ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App