१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनले गर्दा सुदीपको यूएईमै दाहसंस्कार

यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको यूएईमै दाहसंस्कार गरिएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो । परिवारले जसरी पनि शव घरसम्म ल्याउने वातावरणका लागि हारगुहार मागे पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा तामाङको शव स्वदेश फर्काउन नसकिएपछि उतै दाहसंस्कार गरिएको हो ।  

कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव लामो समयसम्म रसिदिया अस्पताल दुबईमा राखिएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । सुदीप परिवारका एक्लो छोरा हुन् । ‘लकडाउन’ सुरु भएपछि मात्र तामाङको मृत्यु भएको जानकारी प्राप्त भएकाले कोसिस गर्दा पनि शव नेपाल पठाउन नसकिएको खोटाङ सेवा समाज यूएईका अध्यक्ष हिमाल गुरुङले बताए ।  

भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग नगरेको यूएईमा रहेका नेपालीको गुनासो छ । रोजगारीका सिलसिलामा यूएई पुगेको केही समयपछि उनको मृत्यु भएको हो । उडान नहुँदा यूएईमा नेपालीको दर्जनौं शव रोकिएको जनाइएको छ ।  

‘लकडाउन’ले अड्कियो मलेसियामा शव

‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा साकेला गाउँपालिका–३ खिदिमा कोक्राका कुलबहादुर खत्रीको शव मलेसियामै अड्किएको छ । गत चैत २५ गते ज्यान गुमाएका खत्रीको शव ‘लकडाउन’का कारण मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको मलेसियामै रहेका उनका भतिजा तिलाबहादुर खत्रीले जानकारी दिए ।  

खत्री प्लान्टेसनको कामका लागि राज ओभरसिज प्रालि काठमाडौंबाट तीन वर्षअघि मलेसिया पुगेका थिए । पेटालिङ जया सेलाङगोरस्थित साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्नेक्रममा बाईक दुर्घटना हुँदा उनको मृत्यु भएको बताइएको छ । बसिरहेको कोठाबाट केही समयका लागि भनेर बाहिर निस्किएका खत्री नहरमा बाईकसँगै डुबिरहेको अवस्थामा फेला परेका थिए । उनले मोबाईल भने कोठामै छाडेर गएको उनका साथीहरुले बताएका छन् ।  

फेसबुक अनलाईनमा देखेर बोलाउन जवाफ नआएको र फोन गर्दा अरुले नै फोन उठाएर घट्नाका बारेमा जानकारी दिएको आफन्तले बताएका छन् । कतारमा दुई वर्ष बिताएका खत्री पुनः मलेसिया पुगेका थिए । ‘मृत्युको कारण खुलेको छैन । कम्पनीले व्यक्तिगत कामका लागि बाहिर जाँदा दुर्घटना भएको भनेको छ,’ तिलाबहादुरले भने, ‘जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भइरहेको छ ।’  

मृतक खत्रीका श्रीमतीसहित पाँच छोरी र दुई छोरा छन् । मेनपावर कम्पनीले शव ल्याउनका लागि बैसाख ३ गते अगाडि केही गर्न नसकिने जवाफ दिएको खत्रीले बताए । 

प्रकाशित: १६ जेष्ठ २०७७ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App