१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मृतक छोराको नाममा कोरोना विरुद्धको कोषमा रकम जम्मा

मृतक छोराको नाममा पदमकुमार राईले विपद व्यवस्थापन कोषमा जम्मा गरेको रकमको भौचर । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका पदमकुमार राईले मृत छोराको नाममा कोरोना भाइरस विरुद्धको कोषमा रकम जम्मा गरिदिएका छन् । सडक खन्नका लागि सोलुखुम्बुबाट स्काभेटर लिएर आउनेक्रममा २०६८ साल जेठ १७ गते ज्यान गुमाएका छोरा सिजन राईको नाममा बाबुले ३० हजार रकम हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा जम्मा गरिदिएका हुन् ।  

मृतक छोराको स्मृतिमा बनाइएको ‘स्वर्गीय सिजन राई स्मृति प्रतिष्ठान’कातर्फबाट हरेक वर्ष मंगलटारका पाँच वटा विद्यालयमा अध्ययनरत उत्कृष्ट, गरीव तथा जेहेनदार विद्यार्थीलाई छात्रवृति प्रदान, भलिवल, साँस्कृतिक प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकामा यस वर्ष लकडाउनका कारण अन्य कार्यक्रम गर्ने अवस्था नभएपछि बाबु पदमकुमारले सो वापतको रकम कोरोना विरुद्धको कोषमा जम्मा गरिदिएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि नगरपालिकाको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरिदिएको राईले बताए । सिजनको स्मृतिमा हरेक जेठ १७ गते पर्ने वार्षिकी रोकिए पछि परिवारले कार्यक्रमका लागि हुने खर्च विपद व्यवस्थापन कोषमा जम्मा गरिदिएका हुन् । दुर्छिम–मंगलटार–घोपाटार सडक निर्माणका लागि स्काभेटर ल्याउनेक्रममा रभुँवामा सिजनको शंकास्पद मृत्यु भएको थियो ।  

कोरोना भाइरसबाट ‘बच्ने र बचाउने’ अभियानका लागि आवश्यक सहयोग जुटाउन नगरपालिकाले नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा ७७०१५२४६५०९१७०६३ नम्बरको खाता खोलेको छ । नगरपालिकाले नगरस्तरिय विपद व्यवस्थापन कोषमा सहयोग गर्न र संकटमा हातेमालो गर्नका लागि आव्हान गरिरहेको छ । हाल विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारी रहेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App