coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नाकामा जनसागर थामिएन, एक सातामा भारतबाट ३१ हजार बढी भित्रिए

दुई महिनादेखि बन्द गरिएको सीमामा प्रवेश खुला गरेपछि सुदूरपश्चिमको कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकी नाकामा भारतवाट फर्कर्नेको भिड एकसातादेखि जारी रहेको छ । प्रत्येक दिन यि दुई नाकामा भारतका बिभिन्न ठाउँबाट आएका नेपालीहरुको प्रवेश गर्न तछाँड मछाँड हुने गर्छ । काखे बालकदेखि बृद्धसम्म नाकामा कुनै सावधानी र डिस्टेन्स नराखी भिडभाडका बीच हुलका हुल प्रवेश गर्ने गर्छन्, मानौ उनीहरुलाई कोरोनाको भन्दा नाकाबाट प्रवेश गर्न नपाईने कुराको बढी भय छ ।  

सरकारले औपचारिक रुपमा नाका खोल्ने निर्णय नगरेको भएपनि यहाँका नाकामा प्रवेश खुला गरेको जानकारी पाएपछि भारतका बिभिन्न राज्यबाट नेपालीहरु सुदूरपश्चिम फर्कने क्रम ह्वात्तै बढेको हो । एकै दिन ५ हजार भन्दा बढी जना सुदूरपश्चिमका नाकावाट प्रवेश गरिरहेका छन् ।

बुधबार कैलालीको त्रिनगर नाकाबाट ४ हजार ७ सय ९४ र कंचनपुरको गड्डाचौकीबाट १ हजार ५ सय ८६ गरेर ६ हजार ३ सय भन्दा बढी भित्रिएका छन् । एक साताको अवधीमा यि नाकाबाट ३१ हजार बढी भित्रिएका छन् ।

चैत ११ गते लकडाउनसँगै अन्तराष्ट्रिय सीमा पनि बन्द गरिएका थिए । भारतमा रहेका नेपालीलाई उतै बस्न लगाउने र सीमामा प्रवेश नदिने निर्णय गरेकाले भारतमा होटल, कम्पनी, कलकारखाना बन्द भएर रोजगारी गुमाएका बिभिन्न ठाउँमा रोकिएका थिए । नाका खुलेसँगै त्यहाँ रोकिएका फर्कन लागेको भारतबाट फर्केका डडेल्धृुराका दानबहादुृर बोहराले बताए ।‘सीमा नाका बन्द भएकाले हामी उतै रोकिएका थियौं, नाका खुलेपछि घर फर्केका हौं’उनले भने,‘बिभिन्न ठाउँबाट अझै घर आइरहेका छन ।’

जेठ ७ गतेदेखि सुदूरपश्चिमका कैलालीको त्रिनगर, कंचनपुरको गड्डाचौकी लगायतका नाका भारतबाट फर्कने नेपालीका लागी खुला गरिएको थियो ।

जाँच नगरि पठाइदै 

जेठ ७ गतेदेखि भारतका बिभिन्न ठाउँबाट आउनेहरु नेपालको नाका प्रवेश गर्न थालेका हुन । दोश्रो दिन जेठ ८ गते प्रवेश गरेका करिव १ हजार जनाको आरडिटी जाँच गरिएपनि ठूलो संख्यामा प्रवेश गरेकाले जाँच नगरिकन नै उनीहरुलाई स्थानिय तहले व्यवस्था गरेको गाडीमा उनीहरुलाई गाउँ गाउँ पठाउने गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतले बताएका छन् ।

सीमा नाकामा पनि ठेलाठेल हुनेगरि भिड हुने, अनि स्थानिय तहले व्यवस्था गरेको गाडीमा पनि कोचाकोच गरेर उनीहरुलाई पठाईने र आरडिटी, पिसिआर कुनै जाँच नगरिनुले संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन ।

कोरोनाको महामारी फैलिएको ठाउँवाट आएका सवैजना उच्च जोखिममा हुने भएकाले उनीहरुको पिसिआर जाँच गरिनुपर्ने बिज्ञहरुले सुझाएपनि जाँच नगरि गाउँ गाउँ पठाउने क्रम रोकिएको छैन ।

कैलालीमा त्रिनगरमा बुधवार ८ सय ५७, बिहिवार २ हजार ४ सय ९८, शुक्रवार २ हजार १४ र  शनिवार १ हजार ९ सय ५९,  आइतवार ३ हजार ९ सय ६४,सोमवार २ हजार २ सय २७, मंगलवार ५ हजार १३ र बुधवार ४ हजार ७ सय ९७ गरेर एकसातमा २३ हजार ३ सय २९ जना भित्रिएको कैलालीका प्रहरी नायव उपरिक्षक वस्नेतले बताए । यसैगरि कंचनपुरको सीमाबाट करिव ८ हजार भित्रिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताएका छन् ।

भारतबाट फर्कनेहरु भोकभोकै नाकामा पुग्ने गरेका छन् । त्रिनगर र गड्डाचौकी नाकामा स्थानीय व्यवसायी, युवा को पहलमा उनीहरुलाई खाना खुवाउने गरिएको छ । भारतमा कति नेपाली छन भन्ने एकिन तथ्यांक समेत संकलन नभएकाले कति जना फर्कने हुन भन्ने कुनै निश्चित छैन । नेपाल फर्कनेको तथ्यांक समेत नभएकाले उनीहरुको सिमा देखि क्वारेन्टिनसम्मको व्यवस्थापन भद्रगोल भएर समस्या भएको छ ।‘हामी १ सय जना आउने भनेर क्वारेन्टिनमा बस्ने, खाने लगायतको व्यवस्थापन गर्छौ, त्याहाँ प्रत्येक दिन १ सय जना बढी पुगेका हुन्छन्, कति आउदैछन भन्ने टुंगो नभएर व्यवस्थापन गर्न समस्या भएको छ’कंचनपुर कृष्णपुर नगरपालिकाका एक कर्मचारीले भने ।

भारतमा सुदूरपश्चिमका काम गर्ने शिलशिलामा कति जना गएका छन् भन्ने अधिकारिक तथ्यांक छैन । तर करिव ७ लाख बढी भारतमा रहेको भनिएको छ । भारतमा कोरोनाको संक्रमण सुरु भएदेखि अहिले सम्म करिव २ लाख बढी नेपाल फर्किसकेका छन् । अझै भारतमा ठुलो संख्या भएकाले नेपाल फर्कनेको जनलहर नथामिने स्थानीय बताउँछन । तीन तहका सरकारले भारतबाट फर्कने ठूलो संख्याको आकलन गरेर व्यवस्थापनको तयारी गर्नुपर्ने बिज्ञहरुको सुझाव छ । ‘सीमामा फर्किरहेका नेपालीहरुको भिड, अस्तव्यस्त व्यवस्थापन देखियो’कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हेमराज पन्त भन्छन,‘तीन तहका सरकार छन, ठूलो संख्यामा अझै भित्रिने नेपालीको व्यवस्थापन राम्रो गर्ने गरि काम गर्नु आवश्यक छ, नत्र समस्या हुने देखिन्छ ।’

भारतबाट फर्कने ६ जनामा संक्रमण

जेठ ८ गते मात्र केहि जनाको आरडिटी जाँच गरिएको थियो । अहिले सम्म ३१ हजार प्रवेश गरेकोमा करिव पन्ध्र सय जतिको मात्र जाँच गरिएको छ । जेठ ८ गते आरडिटी जाँच गरिएर पोजेटिभ देखिदा सेती प्रादेशिक अस्पतालमा लगेर पिसिआर जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट फर्कने हजारौको जाँच नगरी गाउँगाउँमा लगेर क्वारेन्टिनमा राखिएको छ । उनीहरुबाट संक्रमण फैलिने उच्च जोखिम रहेको भन्दै स्थानीय त्रसित छन् ।

सुदूरपश्चिममा चैत १४ गते दुवैबाट फर्केको युवामा पहिलो संक्रमण देखा परेर चैत २२ गते ३ जना र बैशाख १ गते १ गरि ५ जना संक्रमण भएका सवै निको भएर घर फर्किसकेका छन् । दोश्रो चरणमा ४० दिनपछि सुदूरपश्चिममा पुनः संक्रमण देखा परेर संक्रमितको संख्या १७ जना पुगेको छ । १२ जनाको उपचार भैरहेको छ, सवैको अवस्था समान्य रहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदिश जोशीले बताए ।

प्रकाशित: १४ जेष्ठ २०७७ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App