६ चैत्र २०८० मंगलबार
समाज

नेपाली भूमिमा संरचना बनाउँदै भारतीय

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टी । फाइल तस्बिर : नागरिक

बाँकेस्थित नेपाली भूमिमा आएर भारतीयले भौतिक संरचना निर्माण गर्न थालेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली नाकामा भारतीय आएर संरचना निर्माण गर्न थालेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भारतीय नागरिकले नेपाली भुमीमा मन्दिर बनाउन खोजेका छन् । बाँकेको अति बिकट मानिने उक्त ठाउँ नयाँ गाउँका रुपमा परिचित छ । एक दशक अघि उक्त ठाउँमा नेपाली बस्ती रहेको पत्ता लागेपछि नेपाल सरकारले विद्यालय र स्वास्थ्य संस्था स्थापना गरिदिएको थियो ।  

खयरभट्टीका स्थानीय गणेश बुढामगरले भारतीय नागरिकहरु रातको समयमा आएर अचेल नेपाली भूमिमा निर्माण कार्य गरिरहेको बताए । ‘रातको समयमा २०/२५ जनाको समूहमा आउँछन्, काम गरेर फर्किन्छन्,’ नागरिकसँग टेलिफोनमा भने । भारतीय नागरिक नेपाली भूमि प्रवेश गरी रातमा मात्र काम गर्न थालेपछि उनीहरुको नियतमाथि शंका रहेको बुढाले बताए ।

स्थानीयका अनुसार नेपाल–भारत सीमा दसगजाबाट करिव ३/४ सयमिटर भित्र नेपाली भुमीमा भारतीय नागरिकले निर्बाध रुपमा संरचना बनाइरहेका छन् । त्यस क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिती छैन । भारतीय सीमा सुरक्षा बल(एसएसबी)को उपस्थिती भने भइरहेको छ ।  

रातको समयमा धेरै ब्यक्तिहरु आएर काम गरेका कारण आफूहरु त्यहाँ गएर हेर्न समेत नसकेको बुढाले सुनाए । करिव दुई सातादेखि भारतीयले नेपाली भूमिमा आएर संरचना निर्माण गर्न थालेका हुन् । ‘आफ्नो भूमिमा आएर भारतीयले ज्यादती गर्दा मन कटक्क खान्छ, तर उनीहरुसँग प्रतिवाद गर्नका लागि हाम्रो सुरक्षाको ज्ञारेन्टी छैन, उनीहरु विरुद्ध बोल्ने हो भने हामीलाई जे पनि गर्न सक्छन्,’ अर्का स्थानीयले भने ‘नेपाल सरकारले समयमै आएर आफ्नो भूमिको हेरबिचार गरोस् ।’ नेपाल सरकारले समयमै चासो नदिए नेपाली भूमि अतिक्रमणमा पर्ने निश्चित रहेको त्यहाँका बासिन्दा बताउँछन् ।  

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नेपाली भूमिमा आएर भारतीय नागरिकले संरचना निर्माण गरिरहेको जानकारी पाएपछि बुझ्ने प्रयास भइरहेको बताए । ‘भारतीय नागरिकले नेपाली भुमीमा आएर संरचना बनाउन लागेको सुनेपछि बुझ्ने काम भइरहेको छ,’ उनले भने । उक्त ठाउँमा नेपाली मोबाईल कम्पनीको राम्ररी नेटवर्क लाग्दैन । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतीय नागरिकले नेपाली भुमीमा आएर संरचना निर्माण गरिरहेको विषयमा कुनै जानकारी नभएको बताए । ‘हामीलाई यसबारेमा कुनै जानकारी छैन, म बुझ्नेछु,’ प्रजिअ खड्काले भने ।

प्रकाशित: १२ जेष्ठ २०७७ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App