१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नरैनापुरमा यसरी बढ्यो कोरोना महामारी

नरैनापुरको एक क्वारेन्टिन । तस्बिर : नागरिक

बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगिसकेको छ। जिल्लामा कुल १ सय ४२ जनामा कोरोना संक्रमण हुँदा नरैनापुरमा एक सातामै संक्रमित ह्वात्तै बढे। जसले गर्दा नरैनापुरमा कोरोना संक्रमणको अवस्था ‘भयावह’ बन्यो। नरैनापुरमा फैलिएको संक्रमणप्रति संघ र प्रदेश सरकारले चासो नदिए स्थिती अझ गम्भिर बन्ने स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिइसकेका छन्।  

नरैनापुरमा किन एक्कासी बढ्यो त कोरोना संक्रमण ? यस विषयमा सम्बद्ध सरोकारवालाले विभिन्न तर्क र अनुमान गरिरहेका छन्। नेपाल–भारत सिमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो, नरैनापुर। नेपालगन्जबाट करिव ३५ किलोमिटर पूर्वी–दक्षिणमा रहेको नरैनापुरमा मधेसी समुदायको बसोबास छ। कुनै समयमा नेपाली रुपैयाँ समेत नचल्ने यहाँका अधिकांस ब्यक्ति कृषि पेशामा निर्भर छन्। शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेको यहाँका प्रायः युवा वैदेशिक रोजगारीमा जान्छन्। कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतबाट यहाँका युवाहरु धमाधम घर फर्किए।  

सीमापारी आएर रोकिएका ८ सय बढी युवालाई गाउँपालिकाले गत बैशाख अन्तिम साता उद्धार गरेर विभिन्न क्वारेन्टाइनमा राख्यो। कोरोना भाइरस प्रभावित क्षेत्र भारतको मुम्बई लगायत स्थानबाट फर्केर आएका ब्यक्तिको क्वारेन्टिनमै स्वाब परीक्षण गर्दा जेठ २ गते पहिलो पटक ८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो। त्यस लगत्तै क्वारेन्टिनमै बसेको अवस्थामा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षिय युवकको कोरोना संक्रमणबाटै मृत्यु भयो। नरैनापुरमा पुष्टि भएका पहिलो संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप ब्यक्तिको स्वाब संकलन गर्दा संक्रमणको संख्या झन्–झन् बढेको देखियो। नरैनापुरमा अहिलेसम्म पुष्टि भएका मध्ये ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ, भने बाँकी संक्रमितहरु नेपालगन्ज, खजुरा र कोहलपुरका आइसोलेसनमा बसिरहेका छन्।

कोरोना भाइरसबारे यहाँका समुदायमा अहिले पनि बुझाई गलत छ। कोरोना महामारीको मौका छोपेर कतिपय ब्यक्तिले राजनीतिक लाभ लिन खोजिरहेका छन्। समुदायको गलत बुझाई भएका कारण संक्रमित ब्यक्ति आइसोलेसनमा बस्नै चाहँदैनन्। केहीदिन अघि संक्रमितलाई आइसोलेसनमा लैजान स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नरैनापुरमा पुग्दा एक समूहले अवरोध गर्ने प्रयास गरेको थियो। यि विभिन्न घटनाक्रमले गर्दा नरैनापुरमा संक्रमण फैलिनुमा विभिन्न कारण जोडिएका छन्।  

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद साह भन्छन्, ‘हाम्रो गाउँपालिकामा धेरै युवाहरु भारतको मुम्बईबाट फर्केर आएका छन्, उनीहरु भारतबाटै संक्रमित भएर आएको हाम्रो आशंका छ, त्यसकारण धेरै जनामा एकै पटक कोरोना फैलियो।’ शिक्षाबाट पछाडि परेको नरैनापुरमा कोरोना भाइरस सम्बन्धी गलत बुझाई भएका कारण समस्या बल्झिएको उनको भनाई छ। ‘कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा उल्टो केही ब्यक्तिले राजनीति गरिरहेका छन्,’ अध्यक्ष साह भन्छन्।  

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरमा भारतबाट ठूलो संख्यामा ब्यक्ति भित्रिएको र स्वाब परीक्षणको दायरा बढाएका कारण एकै पटक धेरै ब्यक्तिमा संक्रमण देखिएको बताए। ‘एक त भारतमा काम गर्ने मजदुरहरु नरैनापुरमा अधिकमत फर्के, अर्को कुरा त्यहाँ परीक्षणको दायरा पनि ब्यापक गरियो, त्यही भएर संख्या बढेको हो,’ प्रजिअ खड्काले भने। भारतबाट आएका ब्यक्ति नै कोरोना भाइरसबाट संक्रमित भएको प्रष्ट देखिएको उनले बताए।  

स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीका बिचारमा भारतमै संक्रमित भएर आएका कारण नरैनापुरमा धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो। ‘कोरोना भाइरसको संक्रमण फैलिएको भारतबाट उनीहरु एउटै समुहमा आए, एउटै गाडीमा यात्रा गरे, तीन दिनसम्म सीमापारी एउटै ठाउँमा भेला भए, अहिले तिनै ब्यक्तिहरु संक्रमित देखिएका छन्,’ उनले भने। भारतबाट आएका ब्यक्ति संक्रमित हुने सम्भावना बढी भएको हुँदा अन्य ठाउँमा पनि नरैनापुरको जस्तै संख्या बढ्न सक्ने शाहीको आशंका छ। कोरोना भाइरसविरुद्ध स्थानीय तहले मात्र प्रयास गरेर अब सम्भव नहुने उनको भनाई छ। ‘यसका लागि संघ र प्रदेश सरकारले नै विशेष ध्यान दिनुपर्छ,’ उनले थपे।

कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार राती ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो। बाँकेमा अहिलेसम्म १ सय ४२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। त्यसमध्ये नरैनापुर गाउँपालिका वडा नम्बर ५ निवासी २४ बर्षिय युवकको यसअघि मृत्यु भएको थियो, भने नेपालगन्जका २१ ज्ना ब्यक्ति निको (डिस्चार्ज) भएर घर फर्किसकेका छन्। भारतीय सीमासँग जोडिएको नरैनापुरमा मात्रै १ सय १४ जना संक्रमित भएका छन्।  

नरैनापुर गाउँपालिका अध्यक्ष साहले पहिलेको भन्दा अहिले सरकारको सक्रियता देखिएको बताए। ‘हामीले धेरै अनुरोध गरेपछि सरकार सक्रिय भएको छ, नरैनापुरमा अब सेना परिचालन हुँदैछ, सेनाले बस्ने ठाउँ हेरिसकेको छ,’ उनले भने। कोरोना भाइरसका कारण अवस्था भयावह बन्न थालेपछि गाउँपालिकाले यसअघि संघ र प्रदेश सरकारसँग सहयोगका लागि अपिल गरेको थियो।  

नरैनापुरमा भारतबाट धेरै ब्यक्ति आएको र जनचेतनाको कमीका कारण धेरै ब्यक्तिमा कोरोना संक्रमण भएको अध्यक्ष साहको बुझाई छ। ‘सरकारले नरैनापुरमा डाक्टरको विशेष टोली नै खटाउनुपर्छ, यसको लागि नरैनापुरमा सरकारले छिटो भन्दा छिटो बिजुली बत्तीको पनि ब्यवस्था गर्नुपर्छ,’ उनले भने ‘बत्ती भइदियो भने सबै कुराको समस्या समाधान हुन्छ।’ बिजुली बत्ती भइदिएको भए नरैनापुरमै कोरोना अस्पताल स्थापना गर्न सम्भव हुने बताए।  

 

 

 

प्रकाशित: ११ जेष्ठ २०७७ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App