१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हलेसी तुवाचुङ नगरपालिकाको नाका खुकुलो गर्ने

एक संक्रमित फेला परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नाका केही खुकुलो पारिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि  भएपछि मंगलबारदेखि सिल गरिएको नाका खुकुलो पार्ने निर्णय गरिएको हो । संक्रमित युवाको संसर्गमा पुगेका ४३ जनाको स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट आएपछि शनिबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण नगरस्तरिय समन्वय समितिको बैठकले नाकालाई सावधानीका साथ खुकुलो पार्ने निर्णय गरेको हो । 

संक्रमित युवाका परिवारका आठ जना, उनी सँगै बसमा यात्रा गरेका व्यक्ति, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि नाकाबाट हुने आवत–जावत खुकुलो पार्ने निर्णय गरिएको नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् ।  

नगरपालिकाभित्र लकडाउनको पालना गर्दै अत्याश्यकीय खाद्यान्न तथा स्वास्थ्य सामग्री ढुवानी गर्न मिल्नेगरी नाका खुकुलो बनाइएको नगरपालिकाले जनाएको छ । टाईमकार्ड लागू गरेर मास्क, सेनीटाइजर जस्ता स्वास्थ्य सुरक्षाको विधि अपनाएर आवत–जावत गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय गरिएको उपमेयर राईले बताईन् । 

कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ३३ जनाको स्वावमध्ये सोमबार साँझ एक युवाको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि नगरपालिकालाई सिल गर्नुका साथै संक्रमित फेला परेसँगै सवारी साधन सञ्चालन र ओहोर–दोहोरमा कडाई गरिएको थियो ।  

कोभिड–१९ रोकथाम तथा नियन्त्रण नगरस्तरिय समन्वय समिति बैठकले नगरपालिकामा केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिमको निर्देशिका अनुशार संक्रमण रोकथाम तथा नियन्त्रणका काम गर्ने, नगरपालिकाको नियमित खोप सेवालाई आवश्यक तयारी तथा सर्तकता अपनाएर सञ्चालन गर्ने, अत्यावश्यक औषधि खरिद गरेर हरेक स्वास्थ्य संस्थामा वितरण र व्यवस्थापन गर्ने, भारतबाट आएका व्यक्तीलाई अनिवार्य क्वारेन्टीनमा राख्ने, लकडाउनका कारण निम्तिएको खाद्य संकट हल गर्न आवश्यक खाद्य व्यवस्थाका लागि प्रदेश सरकार र संघीय सरकार समक्ष माग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।  

कोरोना संक्रमित युवा फेला परेपछि नगरपालिका सहित जिल्लाभर त्रास सिर्जना भएको छ । शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा राई थरका युवा बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । सो बसमार्फत उनी सहित ३८ जना नगरपालिका भित्रिएका थिए । पेप्सीकोला बसेर एक फाइनान्समा काम गर्दैआएका उनी होम क्वारेन्टाइनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्यांकी सरसफाई लगायतका सामाजिक काममा खटिएका थिए । 

आहाल खन्नेक्रममा १२ जना र ट्यांकी सफा गर्दा १५ जनाभन्दा बढि छिमेकीसँग उनको प्रत्यक्ष सम्पर्क भएको थियो । तर, उनीहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  संक्रमित युवाको मंगलबारदेखि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ ।  

प्रकाशित: १० जेष्ठ २०७७ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App