४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिनमा निःशुल्क आयुर्वेदिक औषधि र योग प्रशिक्षण

सदरमुकाम त्रियुगा नगरपालिकाको जनता क्याम्पस मोतिगडा क्वारेन्टिन बस्नेहरुलाई कोरोना भाइरस (कोभिड–१९) बाट बच्न रोगप्रतिरोधात्मक आयुर्वेदिक औषधि र योग प्रशिक्षण दिन सुरु गरिएको छ । सगरमाथा अञ्चल आयुर्वेदिक औषधालय उदयपुरले क्वारेन्टिन बस्नेलाई कोरोनासँग लड्न निःशुल्क प्रतिरोधात्मक औषधि वितरण गर्दै योग प्रशिक्षण दिन थालेको हो ।  

औषधालयले त्रियुगा नगरपालिकाको समन्वयमा क्वारेन्टिनमा बस्दै आएका २७ जनालाई औषधि वितरण गर्दै योगाभ्याससमेत गराउन थालेको सगरमाथा आयुर्बेदिक औषधालय गाईघाटका प्रमुख डा. सञ्जिव यादवले बताए । उनका अनुसार क्वारेन्टिनका सबैलाई १५ दिनसम्म पुग्ने गरी औषधि वितरण गर्न नगरप्रमुख बलदेव चाधरीलाई हस्तान्तरण गरिसकेको र योगाभ्यास गर्न प्रशिक्षक पठाइएको छ । 

क्वारेन्टिन बस्नेहरुको आत्मबल उच्च राख्न तथा रोगसँग लड्ने क्षमता बढाउन जडिबुटिजन्य ‘काँढा (त्रिकट्टी)’ र ‘अश्वगन्धा’ नामक दुईखाले जडिबुटीजन्य औषधि वितरण गरिएको हो । क्वारेन्टिन र आइसोलेसन बस्नेलाई लक्षित गरी औषधि वितरण र योग प्रशिक्षण कार्य सुरु गरिएको डा. यादवले बताए ।

औषधालयले प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको ‘स्वस्थ्य जीवन कार्यक्रम’ अन्तर्गत मोतिगडासँगै उदयपुरका सबै स्थानीयतहलाई क्रमशः यो औषधि निशुल्क वितरण गर्दै योगाभ्यास प्रशिक्षण दिने जनाएको छ । प्रदेश सरकारको निर्देशन अनुसार औषधालयले ८ वटै स्थानीय तहमा सञ्चालित क्वारेन्टिनमा र शंकास्पद प्रभावित क्षेत्रमा पनि औषधि वितरण गरिने छ । औषधि वितरण र योगाभ्यास अभियानलाई जिल्लाभरी पुर्‍याइने योजना छ ।  

औषधि वितरणसँगै योगाभ्यास प्रशिक्षक राधाकृष्ण रायले क्वारेन्टिन बस्नेलाई दिने व्यवस्था मिलाइएको छ । नियमित योग र जडिबुटीजन्य औषधि सेवनर्ले रोगप्रतिरोधात्मक क्षमता बृद्धि हुने भएकाले दुवै औषधि नछुटाई खान तथा नियमित योगाभ्यास गरेर कोरोनाबाट बच्न औषधालयले आग्रह गरेको छ । हाललाई क्वारेन्टिनमा बस्नेहरुलाई १५ दिन पुग्ने गरी औषधि प्राप्त भएको र सबै वितरण गरिएको मेयर चौधरीले बताएका छन् ।  

डा. यादवका अनुसार गुर्जो, सुकेको अदुवाको सुन्ठी, मरिच र पिप्लाको समिश्रणबाट बनेको काँढा अर्थात त्रिकट्टीको धुलो (चुर्ण)लाई २ गिलास पानीमा २ इन्चको गुर्जो कुटेर बनाइएको धुलोमा मिसाएर उमाल्नुपर्ने र सुक्दै १ गिलास भएपछि चियाजस्तो छानेर खाली पेटमा विहान विहान खानुपर्छ । 

अश्वगन्धा नामक चुर्ण भने ४ ग्राममा एसटी मधु २ ग्राम मिसाएर भए दुधमा मिसाएर नभए मनतातो पानीमा मिसाएर विहान–वेलुका खानापछि खानुपर्ने डा. यादवले बताए । क्वारेन्टिन र आइसोलेसनमा रहेकालाई मात्र नभएर माग भए यो औषधि अन्य सबैलाई निःशुल्क उपलब्ध गराउने डा. यादवले बताएका छन् ।  

औषधि खाँदै दैनिक योगाभ्यास गर्न क्वारेन्टिन बस्नेहरुलाई डा. यादवको सुझाव छ । औषधि वितरणपछि पनि उनीहरुको स्वास्थ्य अवस्थाबारे नियमित निगरानी राख्न तथा थप औषधि चाहिए उपलब्ध गराइने औषधालयले जनाएको छ । यो सँगै बालबालिकालाई ‘बाल अमृत’, सुत्केरी आमालाई ‘शताब्दी चुर्ण’ र रुघाखोकी लागेकालाई ‘सितोपलादी चुर्ण’ जडिबुटी औषधि पनि उपलब्ध गराइने यादबले बताएका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App