७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा ४७ दिन बसेका थिए संक्रमित बालक

लमजुङका कोरोना संक्रमित बालक धादिङमा लामो समय बसेर काठमाडौं फर्किएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङका तीन वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि गरेको थियो। ती बालक गंगाजमुना गाउँपालिका–४ स्थित गुम्दी स्वास्थ्य चौकीमा ४७ दिन बसेका थिए। बालकमा संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको छ। साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।  

सरकारले लकडाउन घोषणा गरेपछि काठमाडांैमा रहेका ती बालक आमासंगै मामाघरको हजुरबुवा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए। गत वैशाख २९ गते आमासहित काठमाडौं फर्किएका उनीहरूलाई घरबेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो। सँगै रहेकी बालककी आमालाई भने कोरोना देखिएको छैन।

जिल्ला सुरक्षा समितिले ती बालकका हजुरवुवा कार्यरत गुम्दी स्वाथ्य चौकीको सम्पूर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घर क्षेत्रका चार किल्ला तोकेर सिल गरिएको छ। स्वास्थ्य चौकी रहेको पूर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोबाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताह खोलाबीचको क्षेत्रलाई पुर्ण रूपमा शील गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ अस्मान तामाङले जानकारी दिए।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएका, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दीपक अछामीले जानकारी दिए। ‘पहिलो चरणमा हाल २९ जनाको स्वाब संकलन गरेको छौं,’ उनले भने, ‘पिसिआर परीक्षणका लागि काठमाडौं पठाउनेछौं।’

गुम्दीस्थित ती स्वास्थ्यकर्मीले डेरा लिएर बसेको क्षेत्र वरपर १५÷२० वटा घर छन्। लामो समय गुम्दी बसेका वालकलाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य चौकी प्रमुखसहित सात कर्मचारी र उनको सम्पर्कमा आएका गुम्दीकै उनीहरूको डेरा भएका परिवारसहित अन्य १० जनाको स्वाबको नमूना संकलन गरिएको गाँउपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए।

प्रकाशित: ९ जेष्ठ २०७७ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App