६ वैशाख २०८१ बिहीबार
समाज

‘आरडीटीले झस्काउँछ, पिसिआरले सन्तुष्टि मिल्छ ’

कर्णाली प्रदेशको मुगु जिल्लाको खत्याड गाउँपालिकामा तीन हप्ता अघि भारतबाट आइपुगेका एक जनामा आरडीटी गर्दा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । त्यो साबिकको कर्णालीमा पहिलो थियो । मुगुमा आरडीटी गर्दा कोराना पोजेटिभ देखिएपछि जुम्ला, कालिकोट र हुम्ला जिल्लामा सन्त्रास छायो ।

‘अब कर्णालीमा पनि कोराना भित्रियो । कर्णालीलाई उच्च जोखिमको सुचिमा कर्णाली प्रदेश सरकारले राख्यो । ठाँउठाउँमा हेल्थ डेस्क स्थापना भए । आइसोलेसन बेड निर्माण देखि आइसियु बेड बढाउने कार्यले तिब्रता पायो । गाउँगाउँमा क्वारेन्टिन बने । जिल्ला बाहिरबाट आउने हरेकलाई क्वारेन्टिनमा राख्न थालियो ।  

तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. सुनिल बुढाथोकी नेतृत्वको सात जनाको टोली एक हप्ता खत्याड बस्ने गरि खटियो । आरडीटी पोेजेटिभ देखिएकाको स्वाब संकलन गरेर पठायो । पिसिआर परिक्षण गर्दा आरडीटीमा पोजेटिभ देखिएको ब्यक्तिको रिर्पोट नेगेटिभ निस्कियो । त्यो संगै कर्णालीमा फैलिएको सन्त्रास थोरै कम हुन पुग्यो । चिकित्सकको टोली एक हप्ता खत्याडमा बसेर प्रत्येक वडामा पुगेर सबैको स्क्रिनिङ गरेर फर्कियो । टोलीको निष्कर्ष थियो, ‘अब मुगुको खत्याड गाउँपालिका सुरक्षित छ । बाहिरबाट आउनेको उच्च निगरानी राख्न आवश्यक छ । ’

पछिल्लो समयमा कर्णालीमा भारत तथा कालापहाडबाट आएकाहरुको स्वाब संकलनको लागि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ शुरु गर्यो । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले साबिकका कर्णालीका पाँच जिल्लाको पिसिआर परिक्षण गर्ने जिम्मेवारी पायो । जस अनुसार टोली हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा खटियो । चिकित्सकको टोलीलाई हेलिप्टकर मार्फत पुर्याइयो । त्यो टोलीले आरडीटी गर्दा हुम्लाको नाम्खामा दुई जनामा कोराना पोजेटिभ देखियो । मुगुको खत्याडमा एक जनामा कोराना पोजेटिभ देखियो ।  

तीन जनाको आरडीटीमा कोराना पोजेटिभ देखिएपछि कर्णाली फेरि झस्कियो । उनीहरुको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । यहाँ पिसिआर मेसिनबाट परिक्षण गर्दा आरडिटीले पोजेटिभ देखिएका सबैको रिर्पोट नेगेटिभ आयो । यो संगै साबिकको कर्णालीमा फेरि खुसियाली छायो । हाल कर्णालीको हुम्ला, मुगु,जुम्ला, कालिकोट र डोेल्पामा कोराना संक्रमित भेटिएका छैनन् । कर्णाली प्रदेश सरकार र स्थानीयतहले जबरजस्ती मान्छे भित्र्याएपछि गाउँमा निकै त्रास फैलिएको थियो ।  

यी पाँच जिल्लामा कर्णालीको जुम्ला देखि चिकित्सकको टोली खटिएको छ । हेलिकप्टरबाट कर्णालीका पाँच जिल्लाको स्वाब संकलन गरिएको थियो ।  आरडीटीले पोजेटिभ देखिएकोमा पिसिआरले नेगेटिभ देखाउँदा कर्णालीबासी खुसि देखिए ।  तर आरडीटी र पिसिआर परिक्षणका तौरतरिका बारे शसंकित बन्न पुगेका छन् । उनीहरु भन्छन्,‘पटक पटक आरडीटिले कर्णालीलाइ रुवाउँदै आयो तर पिसिआरमा परिक्षण गर्दा सन्तोष मिल्यो । ’ स्थानीय जीवनबहादुर खड्का पिसिआर मेसिनबाट स्वाब परिक्षण गर्नु नै राम्रो हुने बताउँछन् । उनले भने,‘आरडीटीले झुक्याउँछ, तर पिसिआरले सन्तुष्टि मिल्छ । ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्ले हुम्लाको नाम्खामा दुई दुई पटक आरडिटी परिक्षण गर्दा पनि रिर्पोट पोजेटिभ निस्किएको बताउँछन् । तर तिनै ब्यक्तिको स्वाब जुम्लामा ल्याएर पिसिआर गर्दा नेगेटिभ देखियो ।  कर्णालीको माथिल्लो क्षेत्र सुरक्षित देखिएको अहिले सम्मको परिक्षण रिर्पोटले बताउँछ । पहिले कोराना संक्रमण भइसकेको र पछि कोराना भाइरस नष्ट भइसकेको अवस्थामा आरडिटीले पोजेटिभ देखाउन गरेको चिकित्सकहरु बताउँछन् ।यो अवस्था भनेको कोराना भएको तर आरडिटी परिक्षण गर्दा सम्म नष्ट भइसकेको अवस्था हो ।  

अब भारत देखि आउनेलाई उच्च निगरानी राखेर सबैको पिसिआर परिक्षण गर्न सकेको खण्डमा कर्णालीमा कोराना संक्रमण फैलन नसक्ने रजिष्टार काफ्ले बताउँछन्  । हुम्लाका ६ सय, मुगुका ५ सय र कालिकोट जिल्लाका ६ सय ५३ जनाको कोराना परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।  अहिले सम्मको परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ, रजिष्टार काफ्ले भन्छन्,‘अब झन सतर्कता अपनाउने समय आएको छ । ’

 प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिबेक पुन मगरले  पछिल्लो समय परीक्षण गरिएका हुम्ला, कालिकोट र मुगु र प्रतिष्ठानका स्वास्थ्यकर्मी गरी पाँच सय ६९ जनाको रिर्पोट सवैको नेगेटिभ आएको छ । हेलिकोप्टरबाट संकलन गरिएका उक्त स्वाबहरु परीक्षण तीब्र बनाईएको छ । मध्यरात सम्म परीक्षण गरिएका कालिकोटका ३८८ जना, हुम्लाको १३३ जना, मुगुको ३९ जना र प्रतिष्ठानका स्वास्थ्यकर्मी ९ जनाको रिपोट नेगेटिभ आएको हो ।

यसभन्दा पहिला आरडिटि पोजेटिभ भनिएको हुम्लाको नाम्खाका २ जना सहित ३३ जना सवैको र मुगु खत्याडका १ सहित ३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गर्ने दैनिक सूचनामा उल्लेख छ । यसैगरी हाल सम्म प्रतिष्ठानले जाँच गरेको प्रतिष्ठानमा एक हजार आठ सय ८८ जनाको परीक्षण नेगेटिभ आएको छ । हेलिकोप्टर मार्फत संकलन गरिएका हुम्ला, कालिकोट र मुगुको वाँकी स्वाब परीक्षण भईरहेको छ ।

कर्णालीको जुम्लामै पिसिआर मेसिन ल्याएर कोराना परिक्षण हुन थालेपछि निकै सहज हुने गरेको छ । एक दिनमा एक हजार जना सम्मको स्वाब परिक्षण गर्न सकिने चिकित्सक बताउँछन् । पुलिङ सिस्टमबाट स्वाब परिक्षण गर्दा छिटो छरितो हुने गरेको कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन् । उनका अनुुसार रात निन्द्रा र दिनमा भोक नभनेर प्रतिष्ठानको टोली खटिएका छन् । कर्णालीबासीको स्वास्थ्य प्रति प्रतिष्ठान चिन्तित छ, उनले भने,‘यहाँ काम गर्ने चिकित्सकहरु पनि झन उत्साहपुर्वक काम गरिरहेका छन् । सबै मिलेर कर्णालीलाई कोराना संक्रमण हुनबाट रोक्नुपर्छ ।’

भौगोलिक विकट्ताका बावजुद पनि कर्णालीमा पिसिआर गर्ने स्वाब संकलन कार्य तिब्र भइरहेकोछ  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै जुम्ला पुगेर कोराना नामक युद्धमा बिजयी बन्न स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए  ।  जुम्लामा एकैदिन आठवटा स्थानीय तहबाट ८ सय ४९ जनाको स्वाब संकलन  गरेर एकैदिनमा परिक्षण गर्न जुम्ला प्रतिष्ठानको टोली सक्षम भएको थियो ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App