३ असार २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा एकीकृत क्वारेन्टिन

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयस्थित एकीकृत क्वारेन्टाइन । तस्बिर : नागरिक

जुम्ला- पछिल्लो समयमा भारतदेखि भित्रिनेको क्रम सुरु हुन थालेपछि जुम्लामा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ । फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरीय मापदण्ड अनुसारको क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले मापदण्डअनुसारको एकीकृत क्वारेन्टाइन निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । त्यो संगै अब जुम्लामा एक मात्र मापदण्ड अनुसारको क्वारेन्टाइन हुनेछ । क्वारेन्टाइनमा आवश्यकता अनुसार बेड राखिने छ ।

यहाँका स्थानीय तहमा मापदण्डअनुसारको क्वारेन्टाइन निर्माण नभएको उच्च अदालत सुर्खेत जुम्ला इजलासमा रिट परेको थियो । मापदण्ड अनुसार क्वारेन्टाइना निर्माण गर्न आदेश अदालतले दिएपछि  सरोकारवाला निकायको समन्वयमा जिल्ला स्तरीय एकीकृत क्वारेन्टाइन निर्माण गरिएको हो ।

भारत लगायत तेस्रो मुलुक तथा नेपालको संभावित जोखिमको स्थानबाट  जिल्लामा भित्रिने नागरिकहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनलाई जिल्ला स्तरीय एकीकृत क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार आवश्यकताको आधारमा क्वारेन्टाइनको क्षमता समेत सबै सरोकारवाला निकायको समन्वयमा स्तरोन्नती गर्ने र क्वारेन्टाइनमा बस्ने व्यक्तिको खानपान लगायतको व्यवस्थापन सम्बन्धित पालिकाको व्यक्तिहरूको संख्याको आधारमा व्यहोर्ने निर्णय भएको छ ।

जिल्ला बाहिरका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने अवस्था आएमा आवश्यकताको आधारमा सबै पालिकाले बराबर खर्च बेहोर्ने गरि व्यवस्थापनका लागि सहयोग गर्न भएका छन् । कोरोना संक्रमित बिरामीलाई अस्पताल ल्याउन र लैजानको लागि समाजसेवी देवेन्द्रबहादुर शाहीले एक लाख रकमबाट सवारी साधनको (एम्बुलेन्स) व्यवस्थापनका लागि सहयोग गर्ने भएका छन् ।  

आवश्यकताको आधारमा अन्य सवारी भाडाको लागि सबै स्थानीय तहले एम्बुलेन्स व्यवस्थापनका लागि ५०/५० हजार रुपैया विनियोजन गर्ने विपद व्यवस्थापन समितिको बैठकमा जनाएका छन् । जिल्ला समन्वय समितिबाटले यसको समन्वय गर्ने भएकोछ। क्वारेन्टाइनमा नेपाली सेना, प्रहरीसहितको कडा सुरक्षाकर्मीको व्यवस्था गर्नुका साथ नियमित रुपमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था भइरहेको छ ।  

बाहिरबाट जिल्ला भित्रिने व्यक्तिलाई निगरानी गर्नका लागि वडा स्तरीय वडाध्यक्षको संयोजकत्वमा निगरानी समूह गठन गरिने छ । जसमा राजनीतिककर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय युवा समूह लगायत सबैको सहभाीिता र सहयोग लिने गरी गरी निगरानी समूह गठन गर्ने निर्णय गरिएको हो ।  

राजनीतिककर्मी, राष्ट्र सेवक कर्मचारी, समाजसेवी, सबै सरोकारवाला वर्ग तथा निकायहरू र सर्वसाधारण नागरिकलाई समेत धन्यवाद दिँदै आगामी दिनमा सहकार्यको लागि एकजुट हुँदै विपद् प्रतिकार्यको लागि हातेमालो गर्न समेत आव्हान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बाँकेको नेपाल–भारत सीमा रुपैडिहाबाट उद्धार गरी ल्याएका नागरिकलाई सुरक्षाकर्मी स्कटीङमा क्वारेन्टाइनमा राखिएको छ । लकडाउनका कारण ४५ दिनदेखि अलपत्र परेका जुम्लाका २८ जना नागरिक उद्धार ल्याएर जिल्ला स्तरीय क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।  

प्रत्येक स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनको व्यवस्थापनमा चुनौती देखिएको, समयमै स्वास्थ्यकर्मी पुग्न नसकिने र सुरक्षा प्रबन्ध गर्न नसकिने भएकोले जिल्लामा एक स्थानमा मात्र क्वारेन्टाइन निर्माण गरिएको हो । रोजगारीको सिलसिलमा भारत गएका उनीहरू डेढ महिनादेखि स्वेदश फिर्ताको लागि रुपैडिहामा कुर्दै बसेका थिए । रुपैडिहामा आइपुगेका उनीहरूलाई कहिले बहराइज त कहिले नानपारामा रहेको क्वारेन्टाइमा राखिएको थियो । बिहीबार सीमा क्षेत्रमा ल्याएर छाडिएका जुम्लाको हिमा गाउँपालिका–१ का गगनबहादुर शाहीका अनुसार मध्यरातमा भारतीय सुरक्षाकर्मीले सीमा नाका रुपैडिहा ल्याएर छाडेको हो । बिहीबारदेखि चाउचाउको भरमा बसेको उनले बताए ।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याइएको बताइन् । उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरीको स्कर्टिङबाटै क्वारेन्टाइनमा राखिएको जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘सुरक्षा व्यवस्था कडा पार्न र उनीहरूलाई चेकजाँच पनि व्यवस्थित बनाउन जिल्लास्तरको एकै स्थानमा क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था गरिएको हो ।’

समग्र जिल्लामा एक मात्र क्वारेन्टाइन निर्माण गरेर निकै उदाहरणीय काम गरेको भन्दै स्थानीय खुसी छन् । सदरमुकाम नजिकै क्वारेन्टाइन निर्माण भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको निगरानीको अभाव हुनेछैन ।

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App