१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गैडहवामा क्वारेन्टिन गरिएका सबै भारतबाट आएका नेपाली (अपडेट)

जोगडा माबीमा क्वारेटिन गरिएका नेपाली नागरिक ।

भैरहवा- नन्द किशोर गिरी रुपन्देही गैडहवा गाँउपालिकाका स्थायी बासिन्दा हुन । भारतको उतराखण्डमा मजदुरी गर्दै आएका उनी सोमबार राती ककरहवा नजिकैको खुला नाकाबाट खेत-खेत हुँदै नेपाल प्रवेश गरे । ५ दिन लगाएर पैदल र कही कही मालबाहक ट्रकमा बसेर आइतबार विहान ७ बजे नेपाल भारत सीमा ककरहवा आए ।

 भारतमा बढ्दै गएको संक्रमण आफूमा पनि हुने डरले परिवार छोडेर भारत गएका उनी सहित अन्य ३ जना संक्रमणबाट जोगिन चोरबाटो हुँदै नेपाल प्रवेश गरे । थकाईले हिड्न पनि नसक्ने उनलाई भारतीय प्रहरीले पैसा लिएर नेपाल प्रवेश गर्न सहयोग गराए । रातीको समयमा नेपाल तर्फ प्रहरीको गस्ती टर्चको भरमा भएकोले खेत खेतकै नेपाल तर्फ जानु टर्च बल्यो भने खेतमै सुत्नु भनेर भारतीय प्रहरीले सिकाएर नेपाल पठाएको गिरीले नागरिककर्मीलाई भने ।

त्यस्तै जन्मभूमि गैडहवाको जोगडा र कर्म भूमि भारतको मुम्बई रहेको रामशंकर पासीको १६ जनाको परिवार पनि चोरबाटो हुँदै नेपाल आएका छन् । २५ गते मुम्बईबाट एक लाख ६० हजार भारु भाडा तिरेर ट्रकनै रिजर्भ गरी पासीको परिवार पनि अलिगढवा नाका पुग्यो । नाका नजिकैको चोरबाटो हुदै भारतिय प्रहरीले दश हजार भारु घुस लिइ नेपाल तर्फ जाने बाटो बताएको पासीले नागरिककर्मीलाई जानकारी दिए । ‘यस्तै गयौ भने नेपाल प्रहरीले गोली हान्न पनि सक्छ, मरणाशन्न हुने गरी पिट्छ । तिमीहरु यसरी जान सक्दैनौ, मैले रातीमा बाटो देखाइदिन्छु भन्दै प्रहरीले उनीहरुबाट उक्त रकम लियो ।  

१७ महिनाको बच्चादेखि ४८ वर्षसम्मका पुरुष रहेको उक्त परिवार ९ बजे राती अलिगढवा भन्दा केही पहिला खेत-खेतकै बाटो हुँदै विहान ७ बजे नेपाल आए । एक वटा नदी र एक वटा खोल्सा पार गरी प्रहरी भएको ठाउँमा खेतमै सुती-सुती ति परिवार दुखका साथ नेपाल आए । वर्षौदेखि मुम्बई बस्दै आएका परिवार पैसा कमाएर के हुन्छ जब आफै नबाचे भन्दै नेपाल फर्केका हुन उनीहरुलाई भारतीयहरुले केही ठाउँमा खाना खुवाए पनि अति नै दुर्दशाका साथ नेपाल आए ।

यि दुई पात्र त केवल उदाहरण हुन । गैडहवा गाउँपालिकामा मात्रै ३ वटा क्वारेन्टाइन यस्तै चोरबाटो आउने नेपालीहरुले भरिएको छ । गाउँपालिकाले ठकुरा पुर नवदुर्गा माविमा ४२, जोगडा माबीमा ५२ र सूर्यपूरा माविमा ४३ जना नेपालीलाई क्वारेन्टिन गरेको छ । सोमबार राती पनि ३७ जना आउने क्रममा रहेको स्रोतले जानकारी दिएको छ । स्थानीय पनि सजग भएकोले गाउँमा आउने खबर पाउना साथ आउदै छ भनी खबर पठाइरहेका छन । भारतीय सीमासँग गाउँपालिका नजोडिए पनि भारतबाट दैनिक रुपमा नेपालीहरु लुकिछिपी आइरहेका छन् ।

९ वटा वडा रहेको रुपन्देहीको सबै भन्दा ठूलो स्थानीय तह गैडहवा नै हो । यहाका एक हजार बढी युवाहरु भारत तथा विदेशमा रहे पनि विस्तारै स्वदेश फर्किर्ने क्रममा छन । ४ जना विदेशबाट आए पनि सबैको स्वास्थ्य रिपोर्ट कोरोना नेगेटिभ पाइएको गाउँपालिकाका प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे जानकारी दिए । हामीले बाहिरबाट आएका सबैलाई क्वारेन्टिन गरी स्वाब लिइरहेका छौ, आउने क्रम बढेसँगै क्वारेन्टाइनको संख्या पनि बढाउदै गइरहेका छौ, गाउँपालिका व्यवस्थापनमा लागेको छ घिमिरेले नागरिक न्यूजलाई भने ।

गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद उपाध्यायका अनुसार क्वारेन्टाइन आउना साथ सबैको स्वास्थ्य हिस्ट्री लिई, ज्वारे मापन गरिरहेका बताए । क्वारेन्टाइनमा रहेका मध्ये ४० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका छौ, अन्य बाकीलाई पनि छुट्टा छुट्टै राखी नियमित स्वास्थ्य परीक्षण गर्दै छौ, ३–४ दिनभित्र सबैको स्वाब परीक्षणका लागि पठाउछौ उपाध्यायले भने ।

गाउँपालिकाका प्रमुख बचुलाल केवटका अनुसार क्वारेन्टिन गरिएका सबै नागरिक भारतबाट आएको बताए हुन । २–३ जना बाहेक सबै चोरबाटो हुँदै आएकोले संक्रमणको त्रास छ । कुनै तोकिएको नाकाबाट सहज रुपमा नेपाल प्रवेशको व्यवस्था भए केही हदसम्म भाइरस नियन्त्रण गर्न सकिन्छ, यसको लागि स्थानीय प्रशासन र नेपाल सरकारले यथासक्दो चाडो नाका तोकी बैधानिक रुपमा नेपाल ल्याउनु पर्छ ।

हामी आफ्ना जनतालाई क्वारेन्टाइनमा राख्न सक्षम छौ, व्यवस्थापन गर्न सक्छौ । उनीहरुको व्यवस्थापनमा कुनै कमि राख्न दिदैनौ । हालसम्म क्वारेन्टिन गरिएको सबै नागरिकलाई २–२ छाक खाना नास्ता, झुल पंखा र खाटसहितको व्यवस्थापन गरेका छौ । समय विताउन सहज होेस भन्दै २४ घण्टै नेटको सुविधा (वाइफाई) को व्यवस्था पनि गरेको गाउँपालिका अध्यक्ष केवटले बताए ।

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App