२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्माणाधिन गौतमबुद्ध विमानस्थलको काम लकडाउनमा पनि निरन्तर

निर्माणधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा । लकडाउनमा तारबार र ड्रेनेजको काम गर्दै कामदार । तस्बिर : मोहम्मद/नागरिक

भैरहवा- कोरोना भाइरस (कोभिड–१९) ले निर्माणधिन गौतमबुद्ध विमानस्थलका प्रविधिक र उपकरणहरु विदेशमै रोकिए पनि पूर्वाधारको काम निरन्तर चलिरहेको छ । सरकारले सुरक्षित तवरले ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय बमोजिम निर्माणको अन्तिम चरण रहेको भैरहवास्थित विमानस्थलमा रहेका चिनियाँ प्राविधिकसहितको २९ कामदार र करिब सय नेपाली जनशक्तिले नियमित काम गरिरहेका छन् । बजार बन्द र गाडी नचल्दा बाहिरबाट ल्याउनु पर्ने सामानहरुमा केही कठिनाई भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समन्वय र सहकार्य गरिरहेको छ ।

कोरोना भाइरसका कारण  चिन, थाइलेण्ड, अस्ट्रेलिया लगायतका देशबाट आउनु पर्ने आंशिक केही उपकरण र दक्ष प्राविधिकहरु नआउदा निर्माण कार्यमा असर परे पनि चिनियाँ निर्माण कम्पनि नर्थ वेस्ट सिभिल एभिएसनले निर्माणको काम रोकेको छैन । भएको जनशक्तिले गर्न सक्ने र हुने पूर्वाधारको काम सबै निरन्तर रुपमा परिसर भित्र रहेर गरिरहेको आयोजनाले जानकारी दिएको छ ।

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आईसीबी–१कोे लाइट फिक्सर र व्यागेज हेण्डलीङ सिस्टम बाहेकका अधिकांश उपकरण आएर जडान भइरहेको र केही हुने प्रक्रियामा छ । रनवे लाइटको सामान, लिफ्ट, एसी, फ्लाइट सूचना डिस्पले, सेक्युरिटी सिस्टमका उपकरण र सामान आइसकेको छ । फिनीसिङको काम मात्र बाँकी छ । आइसीबी–२ अन्तर्गतका सिएनएस (कम्युनिकेशन, नेभिगेशन र सरभिलेन्स) को काम मध्ये भिओआर/डीएमई संचार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत बढि आइसकेको छ । बाकी उपकरण फ्लाइट सुचारु भएपछि विशिष्ट दक्ष प्रविधिकहरु (एरोथाई कम्पनिका प्रविधिक) सगै आउछ ।

अहिले एसी, पूरानो धावनमार्ग र नया धावनमार्गको विधुतीयको काम, दुवै धावन मार्ग जोड्ने चौथो लिंक जोड्ने काम, टायल मार्बल पेन्टिङको काम, भित्री र बाहिरी तारबार लगायतका काम भइरहेका छन् । समान्य अवस्था आएको र अन्तरािष्ट्रय उडानहरु सञ्चालनमा आएको २ महिनामा विमानस्थल सञ्चालन योग्य भौतिक संरचना तयार हुन्छ, आयोजना प्रमुख अधिकारीले नागरिकलाई बताए ।

भौतिक पूर्वाधारको १० प्रतिशत काम बाँकी छ । जसमा ६ प्रतिशत उपकरण जडान र चार प्रतिशत भौतिक पूर्वाधारको काम हो । विदेशी प्राविधिक आउनु भन्दाअगावै चाहिने स्थानीय प्रविधिकको काम र फाउन्डेसनको सबै काम सम्पन्न गर्न आयोजना कसिएको छ ।

कोरोनाको प्रभाव र स्थानीय रुपबाट आउनु पर्ने नदीजन्य पदार्थ जुन रुपमा आउनु पर्ने हो आउन सकेको छैन । अथक प्रयासले ४–५ दिनदेखि बुटवलको तिनाउबाट कच्चा पदार्थ आइरहेको छ । लकडाउनमा १५ वटा ट्रिपरको अनुमति लिई नदीजन्य पदार्थ आइरहेको छ । जसरी पनि संचालन योग्य हुने गरेर संरचना तयार हुन्छ आयोजना प्रमुख अधिकारीले भने । संचालनको पाटोमा भने प्राधिकरण र प्रधान कार्यालयले काम गर्ने कुरा हो ।

३१ डिसेम्बर २०१४ काम सुरु भएको आयोजनाको ९० प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरेको छ । ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक मार्च ३१ २०२० सम्मका लागि म्याद थप पाएको थियो ।

६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी १ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ ।

 

प्रकाशित: १९ वैशाख २०७७ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App