coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

होम क्वारेन्टाइन अनुगमनमा शिक्षक परिचालन

खोटाङ– काठमाडौंमा बसिरहेका नगरबासीलाई गाउँ ल्याएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको आचार संहिता पालनाका लागि शिक्षकलाई परिचालन गरेको छ । काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका नगरबासीलाई गत वैसाख ११ र १२ गते २५ वटा बसमार्फत घरमा ल्याएको नगरपालिकाले उनीहरुलाई होम क्वारेन्टीनमा बस्ने वातावरण बनाउनका लागि शिक्षकलाई परिचालन गरेको हो ।

होम क्वारेन्टीनमा बस्ने सर्तमा शहरबाट गाउँ आएका कतिपय स्थानीयले होम क्वारेन्टीन उल्लंघन गर्ने अवस्था देखिएकाले उनीहरुलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टीनमा बस्न लगाउन, होम क्वारेन्टीनमा बसे÷नबसेको अनुगमन गर्न र सूचना संकलन गर्दै नगरपालिका समक्ष जानकारी दिने व्यवस्थाका लागि शिक्षकलाई परिचालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

मावि तहको शिक्षकको भेला बोलाएर वडाका आधारभुत र प्रावि तहका शिक्षकलाई समेटेर समूह बनाएर होम क्वारेन्टीनको आचार संहिता पालना गराउनका लागि निर्देशन दिइएको नगरपालिकाले जनाएको छ । लकडाउनका कारण ठप्प बनेको विद्यालय खुल्ने दिन पर्खेर बसिरहेका शिक्षकलाई होम क्वारेन्टीनको आचार संहिता पालनामा परिचालन गरिएको हो । लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका नगरपालिकाका १ हजार २६७ जना सर्वसाधारणलाई होम क्वारेन्टीनमा बस्ने सर्तमा घर ल्याइएको छ ।

शहरबाट भित्रेका स्थानीयसँगै संक्रमण पनि भित्रिने त्रास फैलिएकाले हलेसी तुवाचुङ नगरपालिकामा होम क्वारेन्टीनको पालनामा कडाई गर्नुपरेको हो । होम क्वारेन्टीनको आचार संहिता पालनाका लागि नगरपालिकाका ११ वटै वडामा प्रहरीको गस्ती परिचालन गरिएको मेयर राईले बताए । यस बाहेक हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा गठित वडा स्तरिय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति र टोल बिकास समितिलाई सक्रिय बनाइएको नगरपालिकाले जनाएको छ ।

शहरबाट गाउँ फर्केका नगरबासीलाई १४ दिनसम्म होम क्वारेन्टीन वा क्वारेन्टीनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे आचार संहिता पालना गर्नु पर्ने कबुलियतनामा गराइएको छ । ‘१४ दिनसम्म होम क्वारेन्टीनमा बस्छु भनेर कागज गरेर गाउँ आएको मान्छेले इमान्दार बन्नु पर्छ,’ मेयर राईले भने, ‘यती गर्दा पनि होम क्वारेन्टीनबाट बाहिर निस्किएको पाइएमा पक्राउ गरेर क्वारेन्टीनमा लगेर राखिन्छ ।’

हाल बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएपछि नगरपालिकाले बिरोध र समर्थनकाबीचमा स्थानीयलाई होम क्वारेन्टीनमा बस्ने सर्तमा घर ल्याएको हो । गाउँ आइपुगेको केहीदिनमै होम क्वारेन्टीनबाट बाहिर निस्केको अवस्थामा दुई युवती र एक युवा पक्राउ परेपछि होम क्वारेन्टीनको पालनामाथि प्रश्न उठेको छ । शहरबाट कुनै एक जनामार्फत संक्रमण भित्रेको अवस्थामा सिंगो गाउँ सखाप हुने भएकाले नगरपालिकामा होम क्वारेन्टीनको आचार संहिताको पालनामा कडाई गर्नुपर्ने अवस्था आएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले बस नै प्रयोग गरेर आफ्नो नागरिकलाई घर ल्याएको केही समयपछि जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहले पनि शहरमा बसिरहेका स्थानीयलाई घर ल्याउने तयारी गरिरहेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने शहरमै खाद्यान्न उपलव्ध गराइरहेको छ । यद्यपी सबै स्थानीय तहका सर्वसाधारण शहरबाट भित्रि नै रहेका छन् । शहरबाट भइरहेका अनियन्त्रित गाउँ प्रवेशले होम क्वारेन्टीनको प्रभावकारितामाथि आशंका पैदा गरिरहेको छ ।

प्रकाशित: १६ वैशाख २०७७ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App