८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

खाद्यमा चरम बदमासी : कम चामल दिएर बढि मूल्य असुल्दै

जुम्ला- खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाले कम तौलको चामल दिएर बढि मूल्य लिइदै आएको पाइएको छ। प्रति ३० केजीको चामलको बोरामा आधादेखि दुई केजी कमसम्म चामल बेचिरहेको भेटिएको हो। खाद्य व्यवस्था कार्यालयबाट नै तौल अनुसार बढि मूल्यको चामल वितरण भरहेको भन्दै गुनासो आएपछि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल नेतृत्वको टोलीले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा चामल कम दिने र मूल्य बढि लिन गरेको भेटिएको मेयर सेजुवालले बताइन्। खाद्यमा बिक्री भएको चामलमा निर्धारित तौल नपुगेको र साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा म्याद नाघेको नुन वितरण भएको गुनासो आएपछि अनुगमन टोली दुईवटै कार्यालयमा पुगेको थियो। मेयर सेजुवालले भनिन्,‘साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा म्याद नाघेको नुन भेटिएन। तर तौल कम भएको चामल बिक्री भएको भेटियो।’ चामलको नमुना तौल गर्दा ३० किलोग्रामका चामलका प्याकमा करिब आधा किलोग्रामदेखि दुई किलोग्रामसम्म समेत नपुगेको देखियो, मेयर सेजुवालले थपिन्,‘ सरकारले सञ्चालन गरेको डिपोबाट नै यो कमजोरी हुुनु राम्रो होइन। मूल्य तोकेर लिने तर चामल कम दिने यो न्याय संगत भएन।’

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख तिलक सुनारले अनुगमन टोेलीलाई चामल पुरानो हुँदा केही तौल घट्ने गरेको बताए। उनले मुसाले काटेका बोराहरु पुनः प्याकीङ गर्दा पनि तौल घट्न सक्ने बताए। तर प्रमुखले दिइएको जानकारी चित्त बुझ्दो नभएको मेयर सेजुवाल बताउँछिन्। उनले भनिन्,‘ सरकारको आधिकारीक डिपोबाट पनि यो खालको बदमासी हुनु भएन।’

यसरी सार्वजनिक संस्थानबाट बिक्री वितरण हुने चामलमा निर्धारित तौल नपुगेता पनि उपभोक्ताबाट यथार्थ चामलको नभइ बोरामा लेखिएको तौल बमोजिमको मूल्य लिनु दुःखद पक्ष हो। अब उप्रान्त आम उपभोक्ताबाट चामलको बिक्री हुँदाको वास्तविक चामलको मात्र मूल्य लिन चन्दननाथ नगरपालिकाले आग्रह गरेको छ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी निरिक्षक, सम्बन्धित वडाका अध्यक्ष सहभागी थिए। उनले चामल तौलेर तौल अनुसारको मूल्य लिन मेयर सेजुवालले आग्रह गरिन्।

 

प्रकाशित: ६ वैशाख २०७७ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App