४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लडेको चोटले बालकको नाजुक अवस्था

होस गुमाएका छोरालाई सम्हाल्दै हिरा कट्वाल । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय रोहन कट्वाल अहिले बेहोसीमा यताउती कुदिरहन्छन्। घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा। उनले यताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न। अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन्। किताव कापी बोकेर स्कुल गइरहनु पर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ। २०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण रोहन यो अवस्थामा पुगेको आमा हिरा कट्वाल बताउँछिन्।

रोहन कक्षा १ मा घरभन्दा तलको बालज्योती प्राविमा पढ्थे। एक दिन उनी चिच्याएर रोएको सुनिएपछि आमा हिरा कुद्दै विद्यालयतर्फ गइन्। विद्यालयभन्दा केही माथि रोहन टाउकाको देब्रेपट्टि र चिउँडोमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा फेला परे। आमा हिराले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याइन्, चोटमा औषधोउपचार भए। तर २०७२ साल मंसिरदेखि रोहनमा बसेकै ठाउँमा भ्वाक्क–भ्वाक्क ढल्ने समस्या देखियो। अकस्मात ढल्दा उनको टाउकाका विभिन्न ठाउँमा घाउ चोटपटक थपिए। ढल्ने समस्या देखिएको १०/१५ दिनमा रोहनलाई कान्ती बाल अस्पताल पुर्‍याइए। कान्तीले सिफारिस गरेको औषधि ६ महिना खुवाउँदा पनि रोहनको स्वास्थ्यमा सुधार देखिएन।

उपचारकै खोजीमा उनलाई निसान अस्पतालमा लगिए, निसानले पनि कान्तीले सिफारिस गरेकै औषधिलाई निरन्तरता दिन भने। त्यसपछि हिराले रोहनलाई ओम अस्पतालमा लगिन्। ओमले दिएको औषधि ६ महिना खुवाउँदा निको हुनुको सट्टा शरीरभरी रौं पलाए। यसबीचमा रोहनको अवस्था झनै नाजुक बनिसकेको थियो। बोली बन्द भइसकेको थियो, होसले पूर्णरुपमा काम गर्न छाडिसकेको थियो।

सुन्दर ढोका साथी सेवाको साथ
दुई वर्षअघि रोहनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगियो। न्यूरोको उपचारपछि रोहनको अवस्थामा सामान्य सुधार आयो। ६ महिनासम्म औषधि खुवाउँदा रोहनको बोली आयो तर पुरानो कुरा सबै भुले। अरुले ‘जे भन्यो त्यही’ उच्चारण गर्न थाले। रोहनको स्वास्थ्यमा सामान्य सुधार देखिए पनि आर्थिक समस्याका कारण हिरा थप औषधिका लागि काठमाडौं जान सकिनन्। औषधि छुटेपछि रोहनमा विगत वर्ष दिनदेखि झोक्रिरहने, खुट्टा लुलो हुने, मुन्टो नउठाउने, उठ्न नसक्दा चौबिसै घण्टा सुतिरहने समस्या देखा पर्‍यो। खाना खुवाउँदा ननिल्ने, खाना खुवाएको थाहै नपाउने, पानीसँग खाना खुवाउनुपर्ने, दिसापिसाव आएको थाहै नपाउने समस्यासँग जुधिरहेको समयमा अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा रोहनलाई गत माघ ९ गते मोडेल अस्पतालमा लगियो। मोडेलमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुनः उठेर हिँडडुल गर्न सक्ने भएको हिराले बताइन्।

होस फिर्ने आशामा परिवार
रोहनको नाजुक स्वास्थ्य अवस्थाले परिवार मानसिक चिन्तामा छन्। रोहनलाई भारत लैजान सल्लाह आएपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताइन्। शुभेच्छुकको सहयोग मिले र उपचार सफल भए रोहनको स्वास्थ्यमा सुधार आउने उनको अपेक्षा छ। थप उपचारका लागि सहयोगीको खोजी गरिरहेको हिराले बताइन्। ‘छोरा पहिलाकै जस्तो निको होस, स्कुल जाओस भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘साथ सहयोग मिलेर उपचार गराउन सम्भव भए पक्कै सुधार हुन्छ भन्ने आशा छ।’

२०७१ सालमा बिदेश गएका श्रीमान गोबिन्द कट्वाल गत बैसाखमा घर आए पनि पुनः काठमाडौं फर्किएर सम्पर्कविहीन बनेको हिराले गुनासो गरिन्। हाल उनी दुई छोरासहित सासुससुरासँग बसिरहेकी छन् । उनका कान्छो छोरा कक्षा १ मा पढ्छन्।
 

प्रकाशित: ४ चैत्र २०७६ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App