४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जब डिआइजी नै मापसे गरेर बस चढे !

मादक पदार्थ सेवन (मापसे) पछि सार्वजनिक बस चढेर काठमाडौं हिँडेका कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी अर्जुन चन्दलाई प्रहरीले सुब्बाकुनाबाट फर्काएको छ। डिआइजी चन्द मंगलबार साँझ ६ः२२ बजेको देउती नागरिक यातायातको रात्रिबस चढेर काठमाडौं जाँदै गर्दा सुब्बाकुनाबाट प्रहरीले उद्धार गरेको हो।

प्रहरी स्रोतका अनुसार डिआइजी चन्द मंगलबार बिहानैदेखि मादक पदार्थ सेवन गरिरहेका थिए। बेलुका गार्डलाई पनि थाहा नदिई उनी रात्रिबस चढेका थिए। डिआइजी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गणबाट खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो।

‘खोज्दै जाँदा देउती नागरिक यातायात प्रालिको कर्णाली प्रदेश ५७२९ नम्बरको रात्रिबसमा सुब्बाकुना चेकपोस्टमा फेला पा¥यौं,’ खोजीमा खटिएका एक प्रहरीले भने, ‘त्यहाँबाट उद्धार गरेर क्वार्टरमा ल्याएका हौं।’ प्रहरीले डिआइजी चन्दको खोजीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो।

यसअघि पनि मादक पदार्थ सेवन गरेको बेला आफ्ना सामान झोलामा हालेर डिआइजी चन्द यसैगरी सुर्खेत छोड्ने गरेका थिए। ‘यसअघि पनि पटकपटक मादक पदार्थ सेवन गरेर यसैगरी हिँड्नु हुन्थ्यो, यो पटक पनि त्यस्तै गर्नुभयो,’ एक प्रहरी कर्मचारीले भने, ‘प्रदेश प्रहरी प्रमुखले नै पटक–पटक यस्तो हर्कत गर्दा प्रहरी संगठनकै बेइज्जत भइसक्यो।’

प्रहरीका अनुसार डिआइजी चढेको रात्रिबसमा अरू २४ जना यात्रु थिए। बसपार्कबाट छुटेको आधा घण्टापछि बस सुब्बाकुना चेकपोस्ट पुगेको थियो। प्रहरी बसभित्र आएर खानतलासी गर्न थालेपछि यात्रुहरू एकछिन अलमलमा परेका थिए। ‘हामी चढेको बसमा डिआइजी चढेका रहेछन् भन्ने प्रहरीले लगेपछि मात्रै थाहा पायौं,’ एक यात्रुले भने, ‘अरूलाई कानुन सिकाउने प्रहरी प्रमुख यसरी मापसे गरेर, लुकेर प्रदेश छोड्न लागेको थाहा पाउँदा आफैंलाई लाज लाग्यो।’

प्रहरी स्रोतका अनुसार डिआइजी चन्द मादक पदार्थ सेवन गरेपछि अश्लील शब्द बोल्ने, कार्यालयमै होहल्ला गर्ने गर्छन्। राति सुब्बाकुनाबाट ल्याइएका डिआइजी चन्द बिहीबारदेखि बिदामा गएका छन्। प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जका प्रमुख एसएसपी राजेन्द्र भट्टले सम्हालेका छन्।

डिआइजी चन्द मापसे गरेर रात्रिबस चढेर प्रदेश छोड्न लागेको विषयमा प्रदेश प्रहरी अधिकारीहरूले प्रतिक्रिया दिन चाहेनन्। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर डिआइजी चन्दले कर्णालीमा गरेका गतिविधिप्रति  जानकार छन्।

डिआइजी चन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा पनि विवादमा आएका थिए। विमानस्थलमा हुँदा राजीनामा दिएका चन्दले पछि फिर्ता लिएका थिए। त्यसपछि उनी कर्णाली प्रदेश प्रमुख भएर कर्णाली आएका थिए। उनी कर्णालीमा आएलगत्तै कर्णालीमा मुख्य नाकाहरूमा प्रदेश प्रहरी कार्यालयबाट छुट्टै प्रहरी टोली खटाएका थिए।

जिल्ला प्रहरी कार्यालयले नाकाहरूमा प्रहरी खटाउने गरे पनि प्रदेश प्रहरी कार्यालयबाट छुट्टै प्रहरी परिचालन गरेर जिल्लाको अवमूल्यन गरेको भन्दै विवाद भएको थियो। त्यसपछि उनले आफूले खटाएका प्रहरी फिर्ता बोलाएका थिए।

प्रकाशित: ४ आश्विन २०८१ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App