८ वैशाख २०८१ शनिबार
समाज

महिलालाई छेकेन कोरोनाको त्रासले

दिवसका अवसरमा निकालिएको -यालीमा सहभागी प्रदेशसभा सांसद उषाकला राईलगायत। तस्बिर:नागरिक

खोटाङ – कोरोनाको संक्रमण फैलने त्रासमा अधिकांश ठाउँमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। धुमधामकासाथ दिवस मनाउँदै आएका स्थानीय तह यो वर्ष भने सुनसान बनेको छ। कोरोना भाइरसको संक्रमणको खतरा औंल्याउँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुनै पनि औपचारीक कार्यक्रम नगर्न निर्देशन नै दिएको थियो। त्यसपछि खोटाङका सबै स्थानीय तहले पनि ११०औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस औपचारीक रूपमा सञ्चालन नगर्ने बताएका थिए।

मन्त्रालयको पत्र अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिकालगायतका स्थानीय तहले छुट्टा–छुट्टै सूचना जारी गर्दै अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरेको थियो। तर, मन्त्रालयको निर्देशनमा गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरे पनि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका महिलाले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस औपचारीक कार्यक्रम गरेर मनाएका छन्। स्थानीय सिर्जनात्मक महिला समूहको आयोजनामा आइतबार गत वर्षजस्तै सामूहिकरूपमा भेला भइ, -याली निकाले र सभाको आयोजना गरेका छन्।

पूर्वनिर्धारित कार्यक्रम अनुसार सिर्जनात्मक महिला समूहले लोकदोहोरी र एकल नृत्य प्रतियोगीता आयोजना गरेको छ। दिवसको अवसरमा ‘लैंगिक विभेद र हिंसा अन्त्या गरौं, समानताको सत्ता स्थापना गरौं, नयाँ संविधाको कार्यान्वयन गरौं, महिलामाथि भएका सबै प्रकारका अन्याको अन्त्या गरौं’लगायतका नारा लेखिएको प्लेकार्ड सहित निकालिएको -यालीमा प्रदेशसभा सांसद उषाकला राईकोसमेत सहभागिता थियो। सरकारले औपचारीक कार्यक्रम नगर्न निर्देशन दिएपनि प्रदेश सांसद आफैँ उपस्थिति भएर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको थियो।

वडा कार्यालयको आर्थिक सहयोगमा दिवस मनाइएको जिल्ला समन्वय समितिका सदस्य एवं सिर्जनात्मक महिला समूहकी अध्यक्ष भगता प्रधानले जानकारी दिइन्। कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेशसभा सांसद राईले लैंगिक विभेद् र हिंसाको अन्त्याबाट मात्र राष्ट्रको विकास र सम्वृद्धिको आधार निर्धारण हुने बताइन्। कार्यक्रममा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्मा, वडाध्यक्ष लोकेन्द्र राईलगायतले आफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App