१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

महिला कैदीबन्दीमा मानसिक समस्या

वीरेन्द्रनगर – बहुविवाह मुद्दामा नाम नबताउने एक महिला जिल्ला कारागार दैलेखमा चलान भइन् । कारागारमा बन्दी जीवन बिताइरेहकी उनलाई एक वर्ष नपुग्दै मानसिक समस्या देखा पर्न थालेको छ । उनलाई बढ्दो चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, मन डुलीरहने र सुत्नलाई बाधा हुने निन्द्रा नपर्नेजस्ता समस्याबाट ग्रसित बनाएको छ। उनी मात्र होइन यहाँका १३ जना महिला कैदीबन्दीमध्ये नौजनामा मानसिक समस्या देखिएको छ।

दैलेख जिल्ला कारागारमा कैदीबन्दी तथा थुनुवाको स्वास्थ्य परीक्षणबाट यस्तो समस्या देखिएको हो। दैलेख मात्र होइन कर्णालीका अन्य कारागारमा रहेका पुरुषभन्दा महिला कैदीबन्दीलाई मानसिक समस्या भए पनि स्वास्थ्य परीक्षण हुन नसकेको मनोविद्हरू बताउँछन् ।

घटना पछिको अवस्था सामाना गर्ने क्षमता कम, पुरुषको हकमा महिलालाई लाज र डर पचाउने क्षमतामा कमी, घटनापश्चात् दीर्घकालीनरूपमा महिलालाई नकारात्मक दाग लाग्नु र कारागारमा महिलामैत्री वातावरण नहुँदा कैदीबन्दी महिलामा मानसिक समस्या देखा पर्न थालेको हो ।

मानसिकरूपमा विक्षिप्त नभए पनि यसले पछि ठूलो रूप लिन सक्ने जिल्ला कारागार दैलेखका प्रमुख जितबहादुर खत्रीले बताए । बहुविवाह गर्ने महिला कैदीबन्दी अझ यो समस्याबाट बढी पीडित भएको उनको भनाइ छ । ‘बहुविवाहपछि श्रीमान्सँग नाता कायम हुँदैन,’ उनले भने, ‘उनीहरुलाई जेलमुक्त भएपछि आफ्नो भविष्य कस्तो हुने भन्ने चिन्ता हुन्छ ।’

घटनापछि आत्मसम्मानमा हुने आघातका कारण कैदीबन्दी महिलामा बढी मानसिक समस्या हुने मनोविद् राजेशकुमार झाले बताए । ‘घटनापछि जब मान्छे समातिन्छ अनि उसले पश्चाताप गर्छ,’ उनले भने, ‘त्यसपछि मान्छेको आत्मसम्मानमा आघात पुग्छ ।’ आफन्तसँग बिछोड हुँदा कैदीबन्दीमा मानसिक पीडा हुने उनको भनाइ छ । घटना जोसुकैबाट हुने भन्दै मनोविद्हरूले त्यसलाई सामाना गर्न परामर्शको आवश्यक भएको बताएका छन् । कारागारका केही महिला कैदीबन्दीमा जटिलखालको समस्या देखिएको मनोविद् झाले बताए । त्यस्तो अवस्थामा औषधी चलाउनु पर्ने उनको भनाइ छ । परिवारसँगको फोन, भेटघाट कुराकानी भयो भने यस्तो समस्या कम हुने मनोसामाजिककर्ताहरूको भनाइ छ ।

मनोसामाजिककर्ता हिमाल गैरेका अनुसार कारागारमा देखिएको यस्तो समस्या समाधानका लागि लाग्नु पर्ने बताए । यसले भोलि ठूलो रुप लिन सक्ने भन्दै उनले भने, ‘यसको सामाधान अहिले नै गर्न आवश्यक छ ।’ ‘कैदीबन्दीलाई सीप सिकाएर व्यावसायिक बनाउन आवश्यक छ,’ उनले भने, ‘उनीहरू काममा व्यस्त हुँदा अनावश्यक कुरा मनमा खेलाउन पाउँदैनन् ।’ कैद भुक्तान पछि उनीहरूको पुनस्र्थापना आवश्यक भएको उनले बताए । कैद सजाय कटाएका व्यक्तिलाई समाज र परिवारले हेर्ने दृष्टिकोण फरक हुँदा कैद पूरा गरी बाहिर आएपछि कैदीबन्दीलाई हेर्ने दृष्टिकोण बदलिनु पर्ने उनले बताए ।

कर्णालीका दश जिल्लामा ७० जना महिला र तीन सय ४४ गरी चार सय १४ जना कैदीबन्दी तथा थुनुवा राख्न सक्ने क्षमताका कारागार छन् । हाल यहाँ विदेशी एक, आश्रित आठसहित आठ सय ८९ जना कैदीबन्दी छन् । साथै कर्णाली प्रदेश डिप्रेसन जटिल बन्दै गएको छ । लागूऔषध प्रयोग, इन्टरनेट प्रयोगको  दुरुपयोग, वैदेशिक रोजगार, पारिवारिक तनाव, प्रेम सम्बन्धविच्छेद्, परिणाम उल्टो हुनुले कर्णालीमा डिप्रेसनको संख्या वृद्धि हुँदै गएको हो ।

मानसिक स्वास्थ्यतथा परामर्श केन्द्रका अनुसार उपचार गराउन आएका मध्ये ६० प्रतिशतमा डिप्रेसन हुने गरेको देखिएको छ । यसले पनि कर्णालीमा डिप्रेसन जटिल बन्न लागेको संकेत गर्छ । कर्णालीमा आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेका छन् । गतवर्ष एक सय ८४ जनाले आत्महत्या गरेकोमा यस आर्थिक वर्षमा ९० जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै दोस्रोमा विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । गतवर्ष ६३ जनाले आत्महत्या गरेका थिए भने यस आर्थिक वर्षमा १७ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यस्तो समस्या बढ्दो छ ।

प्रकाशित: २४ फाल्गुन २०७६ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App