ताप्लेजुङमा पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप दुई चरण्मा सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार माघ २२ देखि २६ गतेसम्म पहिलो चरणमा फुङलिङ नगरपालिकासहित चार स्थानीय तहमा सञ्चालन हुने छ।
यस्तै दोस्रो चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म आठराई त्रिबेणी गाउँपालिकासहित ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने रायले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिकासहित पाथीभरा याङवरक गाउँपालिका, सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ। दोस्रो चरणमा आठराई त्रिबेणी गाउँपालिकासहित मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेगरी तयारी तीव्र पारिएको छ।
दुवै चरणमा गरी करिब ६ हजार ७ सय ८० जना किशोरीहरूलाई खोप दिइने स्वास्थ्य कार्यालयको तयारी रहेको छ। ताप्लेजुङ जिल्लाका सम्पूर्ण विद्यालय र स्वास्थ्य संस्थाहरूलाई खोप केन्द्र निर्धारण गरिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षभित्रको उमेर समूहका किशोरीलाई एचपिभीविरुद्धको खोप दिन लागिएको हो।
खोप अभियानका लागि स्वास्थ्य कार्यालयले ९ चरणका क्रियाकलापको कार्ययोजना तयार पारी सोही अनुसार कार्यान्वयन गर्न थालेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलले जानकारी दिए।
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस(एचपिभी) का कारण हुन्छ । एचपिभीविरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउने स्वास्थ्यकर्मीहरू बताउँछन्।
प्रकाशित: २८ पुस २०८१ ०९:४९ आइतबार