coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छाउपडी उन्मूलन अभियानमा धामीझाँक्रीको साथ

फाइल तस्बिर

जुम्ला - जिल्ला प्रशासन कार्यालय जुम्लाले थालेको छाउपडी उन्मूलन महाअभियानमा धामीझाँकीले पनि साथ दिन थालेका छन्। उनीहरूले सरकारले कुरीतिका रूपमा घोषणा गरेको छाउपडी प्रथा उन्मूलन अभियानमा साथ दिन थालेका हुन्।

जुम्ला तिला गाउँपालिका–१ की निली परियार गाउँकै कुल देउता प्रतिनिधि हुन्। उनलाई देउता आउँछ र भूतप्रेत लागे भगाउँछिन् पनि। गाउँका भक्त उनीप्रति निकै विश्वस्त छन्। तर, उनी छाउपडी प्रथा मान्दिनन्। न त उनी छाउ भएको समयमा छाउगोठमा बस्छिन्, न त छोरीबुहारीलाई छाउगोठमा बसाल्छिन्। बरु छाउ भएको समयमा सुरक्षित कोठामा बस्न, आवश्यक आराम गर्न, पोसिलो खानेकुरा खान र सुरक्षित हुन सुझाव दिन्छिन्।

तिला गाउँपालिकामा जुम्लाले आयोजना गरेको ‘छाउपडी उन्मूलनमा सरोकारवालाको भूमिका’ विषयमा भएको अन्तक्र्रियामा भाग लिँदै उनले भनिन्, ‘छाउपडी हुनु अभिशाप होइन र कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्राकृतिक प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरूलाई देउताले नै छुट्टै राख्न भन्छन्, यो त समाजमा महिलालाई दबाएर राख्न बनाइएको कुसंस्कार मात्र हो। सरकारले थालेको यस अभियानमा एकाकार भएर लागौं, ‘छाउपडी प्रथालाई जरैदेखि उखेलेर फँ्याकौं, यो नै यहाँका महिलाका लागि भलाइ हुनेछ।’

निली परियार छाउपडी प्रथाको उन्मूलनबारे धारणा राखिरहँदा सहभागी सबै छक्क परे। उनीहरूले आपसमा मुखामुख गरे। महिला सहभागी निकै उत्साहित बने। पुरुष सहभागी पनि यो भनाइप्रति सकारात्मक नै थिए। सबैको ध्यान उनमै केन्द्रित थियो। उनले थपिन्, ‘हेर्नुस् सहभागी दिदीबहिनीहरू, छाउ भएको समयमा गोठमा बस्नुहँुदैन। घरमा बस्दा पनि केही बिग्रिँदैन, यो समाजले महिलालाई अघि बढ्न नदिन चलाएको कुसंस्कार मात्र हो, छाउपडी प्रथा। छाउ भएको समयमा सफासुग्घर हुनुस्, सुरक्षित रहनुस्, यो नै हाम्रा लागि फाइदाको कुरा हो।’

गाउँकै कुल देउता प्रतिनिधि निली परियारले भनिन्, ‘छाउपडी हुनु अभिशाप होइन र कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्राकृतिक प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरूलाई देउताले नै छुट्टै राख्न भन्छन्, यो त समाजमा महिलालाई दबाएर राख्न बनाइएको कुसंस्कार मात्र हो।’

निली परियारको यो धारणा पछिल्लो समय छाउ गोठमा बस्न बाध्य जुम्ली महिलाका लागि यो निकै ठूलो सकारात्मक पक्ष पनि हो। यहाँका महिला अहिलेसम्म पनि छाउ हुँदा घरभित्र बसे देउता रिसाउँछन् भन्ने मानसिकताबाट ग्रसित नै छन्। कार्यक्रममा सहभागी अर्की महिला दिलमाया शाही हमालले भनिन्, ‘अब देउताकै प्रतिनिधिबाट यस प्रकारको कुरा सुनिसकेपछि हामी ढुक्क भयौं। छाउ भएको समयमा हामी पनि घरमा बस्छौं, अन्य महिलालाई पनि घरमा बस्न सुझाउँछौं।’ स्थानीय प्रशासनले थालेको छाउपडी उन्मूलन महाअभियानले यहाँका महिला सचेत भइसकेका छन्।

कार्यक्रममा सहभागी सबै सरोकारवालाले छाउपडी उन्मूलन अभियानलाई पेचिलो बनाउँदै लैजाने बताएका छन्। अब छाउ भएको समयमा पुरुषहरूले चुलोचौकोमा बसाल्न नहुने, आखिर देउता पनि महिलाबाटै जन्मेका होलान्। एउटी छाउ बार्ने महिलाले जन्माएको बच्चा शुद्ध हुुने, उनीहरूले छोएको फलफूल सबैले खान मिल्ने तर छाउपडी हुँदा गोठमै बस्नुपर्ने पीडाबाट छुटकारा दिलाउन सबैको ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिएका छन्।

जुम्लाका प्रजिअ दुर्गा बन्जाडे छाउपडी अन्त्य अभियानमा धामीझाँक्री र पुरोहितबाट सकारात्मक सहयोग पाएको बताउँछिन्। उनले भनिन्, ‘धामीझाँक्रीले पनि सरकारको छाउपडी उन्मूलन अभियानलाई साथ दिने वचन दिएका छन्। छाउपडीविरुद्ध सबै एकाकार भएर अघि बढौं, समतामूलक समाजको स्थापना गर्नमा दृढ बनौं।’ जिल्ला प्रशासन कार्यालय जुम्लाले पुरोहित, धामीझाँक्री सबैसँग छुट्टाछुट्टै छलफल गरिसकेको छ।

तिला गाउँपालिकाले पनि पछिल्लो समयमा छाउपडी गोठमुक्त अभियानलाई अघि बढाउँदै लगेको छ। गाउँपालिकामा छुट्टै रजिस्टर खडा गरी ‘छाउपडी प्रथा मान्दैनौं र मान्न बाध्य पार्दैनौं’ भन्दै हस्ताक्षर संकलन सुरु गरेको छ। गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढा भन्छिन्, ‘म पनि महिला हुँ। म पनि छुई हुन्छु। तर, बाहिर बसेकी छैन। घरभित्रै बसेकी छु। हालसम्म धामीले घर नबस भनेका छैनन्। गाउँ कार्यपालिकामा धामीझाँक्री र धमेनी छन्। सँगै खान्छौं। सँगै बस्छौं। तर देउताले छाउ भएको भनेर बैठक कक्षबाहिर पठाएका छैनन्।’ धामीझाँक्री पनि समाजमा जरा गाडेर बसेको छाउपडी प्रथा उन्मूलनमा सकारात्मक छन्।

‘गाउँपालिकामा छाउगोठ कहाँ छन् ? खोजतलास गर्दै छौं। भत्काउने अभियान थालेका छौं। पहिलो चरणमा सचेतना क्रार्यक्रम गरेर छाउपडी हुँदा गोठमा बस्दाका समस्याबारे छलफल भइरहेको छ,’ उनले भनिन्, ‘छाउ भएको बेला गोठमा बसेकाले यहाँका अधिकांश आमा–दिदी–बहिनीको पाठेघरमा क्यान्सर छ। गोठमा बसेर पशुसरहको जीवन जिउन बाध्य छौं।’ उनले जनप्रतिनिध र कर्मचारीले छाउपडी भएको समयमा गोठमा बस्न लगाएको भेटिएमा सेवासुविधा कट्टा गर्ने निर्णय भइसकेको बताइन्।

प्रकाशित: ५ माघ २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App