५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

जब सुरक्षाकर्मीको टोली आएर, तत्कालै उद्धार गर्‍यो...

भूकम्प सुरक्षा दिवसको अवसरमा कृत्रिम घटना अभ्यास गरिदै। तस्बिर : नागरिक

नेपालगन्ज- कोही चिच्याउँदै थिए, भने कसैले गुहार....गुहार भन्दै याचना गरिरहे। जब सुरक्षाकर्मी (सशस्त्र प्रहरी बल र नेपाली सेना) को टोली घटना स्थलमा आईपुग्यो। घरभित्र कराईरहेका ब्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै उद्धार गरी बाहिर निकाले। ती घाईतेलाई रेडक्रसकर्मीले एम्बुलेन्समार्फत अस्पतालतर्फ पठाए।

बाहिरबाट झ्वाट्ट हेर्दा ठूलै घटना भए जस्तो देखिने यि दृश्यले जो कोहीलाई पनि अचम्मित बनाउँथ्यो। तर, यो घटनाको वास्तविकता भने अर्कै थियो। २२ औं भूकम्प सुरक्षा दिवसका अवसरमा नेपालगन्जमा गरिएको कृत्रिम घटना अभ्यासको दृश्य थियो, यो। दिवसका अवसरमा बिहीबार सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसकर्मी लगायतले कृत्रिम घटना अभ्यास गरेका हुन्।

 सो क्रममा शसस्त्र प्रहरी बल र नेपाली सेनाको खोज तथा उद्धार तालिम प्राप्त दक्ष जनशक्तिले भूकम्पबाट भत्केको संरचनाभित्र फसेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रर्दशन गरे, भने उद्धार गरिएका घाइतेलाई नेपाल रेडक्रसले प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्‍याउने काम गरेका थिए। रेडक्रस बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीका अनुसार भूकम्प सुरक्षाबारे यस्तो कृत्रिम अभ्यास गरिएको हो।

 उक्त कार्यक्रमको अध्यक्षता गरेका जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भूकम्प कुनैपनि समयमा आउन सक्नेतर्फ सबैलाई सचेत गराए। उनले भने, ‘कुनैपनि समयमा आउने भएकाले भूकम्पबाट हुने मानवीय क्षतिलाई कम गर्न हरेक नागरिकले आफ्नो तहबाट सहकार्य गर्न जरुरी छ।’ सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका इन्जिनियर विजय केसर खनालले भूकम्पले मान्छे मार्ने नभएर मान्छेले बनाएको कम्जोर संरचना भत्केर मृत्यु हुने भएकाले भवन निर्माण गर्दा आचार संहिताको सबैले पालना गर्नुपर्ने बताए।

यस्तै रेडक्रस बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, रेडक्रस बाँकेका मन्त्री अजीज अहमद सिद्दिकी, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधी लगायत सहभागी थिए। २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरिएको हो। बि.सं.१९९० को भूकम्पको सम्झनामा हरेक वर्ष माघ २ गते दिवस मनाउने गरिन्छ।

२०७२ सालमा आएको बिनाशकारी भूकम्पले नेपालमा ठुलो मानवीय क्षति पुर्‍याएको थियो। त्यसयता सरकारले भवन निर्माण सम्बन्धी आचार संहिता लागु गरेको छ। तर, अझैपनि उक्त आचार संहिता नागरिक स्तरमा पालना गरेको पाईदैन।

 

 

प्रकाशित: २ माघ २०७६ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App