७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बालविवाहविरुद्ध धर्मगुरुहरू एकजुट

पर्सामा बालविवाहविरुद्ध आयोजित कार्यक्रममा सहभागी। तस्बिरः रितेश तिवारी/नागरिक

वीरगन्ज – दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्मगुरुले सामूहिक प्रतिवद्धता जनाएका छन्।

हिन्दु, मुस्लिम, सिख र क्रिश्चियन धर्मका अगुवाले समुदायमा बालविवाह रोक्ने आ–आफ्नो ठाउँबाट भूमिका गर्ने प्रतिबद्धता जनाएका हुन्। हिन्दु पुरोहितहरूको तर्फबाट बोल्दै नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष पण्डित पुरुषोत्तम दुबेले बालविवाह कानुनीरूपमा मात्र नभई यो एउटा सामाजिक अपराधसमेत भएकाले यसविरुद्ध हिन्दू संघसंस्था एक्यवद्ध रहेको बताए। ‘देशको विधि र कानुनको पालना गर्न हिन्दु शास्त्रले पनि निर्देशन गरेका छन्,’ उनले भने, ‘हिन्दू पुराण, शास्त्र, वेद र ग्रन्थमा मुलुकको विधिको पालना गर्नु भनेर लेखिएको छ, समाजबाट बालविवाह निस्तेज पार्न हामी अब सक्रिय भएर लाग्छौँ।’

जिल्ला प्रहरी कार्यालय, पर्सा र पहल संस्थाको संयोजनमा भएको कार्यक्रममा अन्य धर्मगुरुले पनि यस्तै प्रतिबद्धता दोहो-याउँदै धार्मिक सहिष्णुतामा जोड दिए। उनीहरूले बालविवाहलाई रोक्नुपर्नेमा जोड दिए। बालविवाहले बालबालिकाको व्यक्तित्वको विकासमा बाधा पुग्ने, शिक्षा रोकिने र छोरी चेलीहरू पछाडि पर्ने भएकाले समाजको लागि घातक चलन रहेको उनीहरूको भनाइ छ।

इस्लाम धर्मका तर्फबाट मौलाना अली असगर मदिनीले बालविवाह गरेर जिन्दगीलाई जटिल बनाउनुभन्दा छोरी–चेलीहरूको शिक्षामा जोड दिँदा समग्र समाजको स्तर उकासिने बताए। उनले इस्लाम धर्मका अन्य कार्यक्रममा पनि सदैव बालविवाहविरुद्ध आवाज उठाउँदै आएको बताउदै पवित्र कुरानले यस्तो आदेश दिएको जनाए।

‘इस्लाम धर्ममा विवाहको लागि केटाकेटीको उमेर तोकिएको छैन, बालिग भएपछि बिहे गरिदिनु भनिएको छ। कुरानमा आफ्नो देशको कानुनको पालना गर्न भनिएकाले नेपालको कानुनअनुसार २० वर्ष उमेर नपुगी विवाह गरे गराए त्यो कानुनी अपराध मात्र नभई धर्मको खिलाफ नि हुनेछ,’ उनले विश्लेषण गरे, ‘यसो भएको हुनाले हामीले बालविवाहविरुद्ध हाम्रो समुदायमा अभियान चलाउँछौँ।’

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको अध्यक्षतामा भएको कार्यक्रममा सिख धर्मका तर्फबाट गुरुद्वारा वीरगन्जका अध्यक्ष अमरजित सिंहले र नेपाल ख्रिष्टियन समाज पर्साका तर्फबाट अध्यक्ष नारायण आचाय प्रतिबद्धता जनाएका हुन्।

सिख धर्मका धर्मगुरु सिंहले भने सिख धर्म समुदायमा बालविवाह गर्ने चलन नै नरहेको बताए। बालविवाहविरुद्ध सामूहिक प्रतिबद्धताका कार्यक्रमलाई कार्यक्रमका वक्ताले प्रशंसा गरे। प्रहरी नायब उपरीक्षक गौतम थापाले बालविवाह र महिला हिंसासम्बन्धी तथ्यांक र कानुनी व्यवस्थासम्बन्धी प्रस्तुति गरेका थिए। वक्ताले शिक्षा र सचेतना समेत बढाउँदै लैजानु पर्नेमा जोड दिए।

प्रहरी नायब उपरीक्षक थापाले बालविवाहका प्रमुख कारण र यससम्बन्धी कानुनी सजायको प्रावधानबारे जानकारी गराउँदै रोकथामका लागि सहकार्य र सामूहिक प्रतिबद्धता गर्ने बताए।

प्रकाशित: १ माघ २०७६ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App