६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

जोखिम मोलेर अरिंगालको सिकार

खोटाङ - अरिंगालको स्वादिष्ट परिकारको चर्चा गर्नेबित्तिकै जोकोहीको मुख रसाउँछन्। तराईदेखि हिमाली भेगसम्मका जंगलमा पाइने अरिंगालको परिकार स्वादिष्ट हुन्छ। स्वास्थ्यवद्र्धक पनि मानिने हुनाले स्थानीय ज्यान जोखिममा राखेर अरिंगालको सिकार गर्छन्। अग्ला रूख, ओढार वा कतिपय ठाउँमा घरको छानामा पनि अरिंगाल गोलो बनाउँछ।

सजिलो ठाउँमा भएको अरिंगालको गोलो ठूलो हुन नपाउँदै काढ्ने गरिन्छ। तर अग्लो रूखका टुप्पामा बसेको अरिंगालको गोलो काढ्न नसकिने भएकाले वर्षभरि रहने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार दाल्फुका मदन राईले सुनाए। ‘कसैले काढ्न सकेन भने एउटै गोलामा नाङ्लाजस्ता १८÷१९ चाका हुन्छन्,’ उनले भने, ‘ठूलो गोलो काढियो भने गाउँभरि बाँड्न पुग्छ। कसैले काढेनन् भने जाडोका कारण पुसदेखि अरिंगाल गुँड छाडेर जमिनमुनि बस्न थाल्छ।’

जंगलमा रातो र कालो प्रजातिका अरिंगालको गोला पाइन्छन्। टोक्नमा रातोभन्दा कालो खतरनाक मानिन्छ। गाउँघरमा सुकेको बदियाको पुल्ठो बनाएर अरिंगालको गोलो पोलेर काढ्ने गरिन्छ। अरिंगाल काढ्नेक्रममा कतिपयलाई टोकेर घाइते बनाउँछ। कतिपयले काढ्न नसकेर रूखैमा पुल्ठो छाडेर भाग्न पुग्छन्।

गाउँघरमा अरिंगाल काढ्नेक्रममा अरिंगालले टोकेर रूखबाट जमिनमा पछारिएको, चोटपटक लागेको, अरिंगालले टोक्दा हप्तौंसम्म थला परेको, लडेर घाइते भएका अनेकौं किस्सा सुनिन्छन्। जोखिम मोल्नुपर्ने भएकाले जोकोही अरिंगाल काढ्न अघि सर्दैनन्। त्यही कारण गाउँघरमा यसलाई साहसिक सिकारका रूपमा चिन्ने गरिन्छ। गाउँघरमा खेतीकिसानी कामले शरीर थालेका बेला र माछामासु खान मन लागेको बेलामा हुल बाँधिएर अरिंगाल खोज्न जंगल जाने प्रचलन यथावत् छ। अर्थात्, पहिल्यै पत्ता लगाइसकेको ठाउँमा औंसी–पूर्णिमाको छेक पारेर अरिंगाल काढ्न जाने गरिन्छ।

अरिंगालको चाकामा दुई किसिमका बच्चा (लार्भा) हुन्छन्, एक खालको रानी (लार्भा) जसको सिंगो शरीर दहीजस्तो हुन्छ, हेर्दै पूर्ण सेतो देखिन्छ। अर्को किसिमको लार्भा अलि कालो हुन्छ, जसको शरीरमा लादी हुन्छ। लादी भएका लार्भालाई भाँचेर लादी फालेर तयार पार्नुपर्ने हुन्छ। अरिंगालको चाकालाई घरमा ल्याएपछि पहिला उसिनेर मात्र केलाइ–बनाइ गर्ने गरिन्छ। दसैंतिहारका बेलामा गाउँघरमा गाउँ–सहरका युवा भेला हुने भएकाले बढी नै अरिंगालको सिकार हुने गरेको छ।

प्रायः साउनदेखि मंसिरसम्मका औंसीका दिन वा अघिपछि कालो अरिंगाल र पूर्णिमाको दिन वा आसपासमा रातो अरिंगाल काढ्नु उचित हुने राईले बताए। ‘अरिंगाल काढ्न पनि छेक हेर्नुपर्छ, मौसम ख्याल गर्नुपर्छ,’ उनले भने, ‘छेक मिलेन भने अरिंगालको गोलो फोस्रो खोस्टा मात्र हुन्छ। लार्भा हुँदैन। लार्भा नभएपछि अरिंगाल काढ्नुको अर्थ हुन्न।’ अरिंगालमा औषधीय गुणसमेत हुने स्थानीयको मान्यता छ। प्रायः अरिंगाल जाडो याम सुरु भएपछि गोलो छाडेर जमिनमुनि बस्छ र वर्षायाम सुरु भएपछि वैशाखतिरदेखि जमिन बाहिर निस्केर पुनः रूखमा गोलो बनाएर बस्न थाल्ने स्थानीय बताउँछन्।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App