८ वैशाख २०८१ शनिबार
समाज

छठको मुख्य दिन सूर्यलाई सँझिया अर्घ

धनुषा – छठ पर्वको तेस्रो तथा मूल दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदै हिन्दु श्रद्धालुहरूले हर्षोल्लाससहित धार्मिक–सांस्कृतिक आस्था व्यक्त गरेका छन्। आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रूपमा समापन हुन्छ। यस अवसरमा जनकपुरधामसहित मुलुकका असंख्य नदी, पोखरी, नहरलगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो।

बढी भिड हुने गरेको छ। छठको अवसरमा जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, गोसाइकुण्डलगायत दर्जनौं पोखरीहरू सिँगारिएको छ। जनकपुरधामको छठ हेर्न देश–विदेशका विभिन्न ठाउँबाट पर्यटकहरू आउने गर्छन्।

यता शुद्धता र सांस्कृतिक आस्थालाई विशेष महत्व दिइने छठ पर्वको महत्व बारेमा सबैलाई जानकारी नरहेको अवस्थामा यसपटक यसको महत्वको बारेमा सबैलाई सुचित गराउने योजना रहेको भ्रमण वर्ष २०२० का प्रदेश–२ का संयोजक मनिष झाले बताए। उनले भने, ‘तराई–मधेसमा हुने विभिन्न उत्सवहरूलाई महोत्सव बनाउनुपर्छ। यस पर्वहरूलाई अन्तर्राष्ट्रियकरण गर्नु जरुरी रहेको छ।’

दलितलाई छुट्टै घाट

छठ पर्व समावेशी पर्व हो। छठमा पर्वमा डोम जातिले बनाउने ‘सुपली (कुनिया)देखि किसानको खेतमा उत्पादन ‘सुथनी’समेत प्रयोग हुन्छ। तर जलाशयमा दलित समुदायका लागि छुट्टै घाट निर्धारण गरिएको हुन्छ। दलितले एउटा कुनामा ठाउँ पाउँछन्। समावेशी पर्व मानिए पनि जनकपुरमा अझै एकै ठाउँमा बसेर छठ मनाउने छुट नरहेको डोम समुदायका सुरेश मलिकले बताए। मलिकका अनुसार छठ पर्वमा आफूहरूले बनाएको बाँसको छिट्टी, नाङ्लोलगायत सामग्री प्रयोग गरिन्छ तर पर्व भने सँगै मनाइँदैन।

छठ पर्वको विधि

छठ पर्व निकै कठिन पर्व मानिन्छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिनाअन्न–पानीको भोकै बस्नुपर्छ। जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ।

छठ नै यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी (अस्ताउँदो) सूर्यलाई पनि पूजा गर्ने परम्परा छ। बिहानपख उदाउँदै सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ। लाखौं हात अर्धको लागि एकैचोटि सूर्यतिर फर्काएर नमन गर्दाको अद्भूत दृश्य विश्वमा विरलै होला। छठ पूजामा साँझको समयमा जुन सामग्री सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिन्छ सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा अर्पण गर्ने लोक–परम्परा रहेको छ।

सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ तर नदी किनारमा रहेका घाट रहेका ठाउँमा असुरक्षाका कारण घाटबाट प्रसादहरू घर लगिन्छ र भोलि बिहान सूर्य उदाउनुअगावै पुनः त्यो प्रसाद घाटमा ल्याइन्छ। बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गर्छन्, जसलाई ‘पारन’ भनिन्छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App