२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुक्त हलिया बस्तीमा बोरिङबाट खानेपानी

कञ्चनपुर– भीमदत्तनगरपालिका–१ स्थित बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारलाई टाढाबाट खानेपानी बाकेर ल्याउनुपर्ने झन्झट सकिएको छ।

दातृ निकायको सहयोगमा गरिएको बोरिङका कारण अहिले उनीहरूलाई  खानेपानीका लागि अन्यत्र भौतारिँदै हिँडनुपर्ने बाध्यता अन्त्य भएको हो। क वर्गको परिचयपत्र पाएका ३५ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनःस्थापन गरिएको थियो।

ती परिवारले घर निर्माण गर्न र खानेपानीको अभाव हुन नदिन टाढाबाट पानी किनेर बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर राख्ने गर्दै आएका थिए।

बोरिङका लागि राष्ट्रिय हलिया मुक्ति समाज तथा ह्याविटाट नेपालको साझेदारीमा सञ्चालित हलिया आवास परियोजनाअन्तर्गत तीन लाख रुपैयाँ र भीमदत्त नगरपालिकाबाट  दुई लाख रुपैयाँ गरी पाँच लाख उपलब्ध गराइएको थियो। 

बोरिङ गरिएपछि एक किलोमिटर टाढाबाट पानी किनेर पिउनुपर्ने बाध्यता अन्त्य भएको छ। ‘किनेको पानी बाल्टिन वा जर्किनमा बोकेर घर ल्याउने गरेका थियौँ। बस्तीमै खानेपानीको व्यवस्था भएपछि सहजरूपमा पानी पिउन पाएका छौँ’ मनि दमाइले भने, ‘मजदुरी गरेर ल्याइएको आधा बढी रकम पानी किन्नमै खर्च हुन्थ्यो, अहिले त्यो सबै जोगिएको छ।’ 

विगतमा खानेपानीकै लागि एक परिवारले दैनिक १०० देखि रु ३०० सम्म खर्च गर्दै आएका थिए। नगरपालिका र दातृ निकायसँग बोरिङका लागि माग गरिएकाले बल्ल खानेपानीको व्यवस्था भएकोे मुक्त हलिया परिवारको भनाइ  छ। 

यसैगरी उक्त परियोजना र नगरपालिकाको सहयोगमा वडा नं १९ स्थित बाँगफाँटामा पुनःस्थापित मुक्त हलिया बस्तीमा समेत पाँच लाख रुपैयाँ कै लागतमा खानेपानीका लागि बोरिङ गरिएको र  यसबाट ३२ परिवार लाभान्वित भएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका जिल्लाअध्यक्ष शिवी लुहारले बताए। 

प्रकाशित: ३ कार्तिक २०७६ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App