८ वैशाख २०८१ शनिबार
समाज

युनेस्कोद्वारा हनुमानढोका र काष्ठमण्डप अनुगमन

निर्माणाधीन काष्ठमण्डपको अनुगमन गर्दै युनेस्को टोली। तस्बिर:श्याम/नागरिक

काठमाडौं - संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ। बुधबार युनेस्कोको टोलीले भूकम्पपछि निर्माण भइरहेका ती संरचनाको अवलोकन गरेको हो। अवलोकनअघि सो टोलीले काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई भेटेका थिए। भेटका क्रममा युनेस्कोका विज्ञ गामेनी बिजेसोरियले सम्पदा निर्माणमा युनेस्कोसँगै समन्वय गरेर अगाडि बढ्नुपर्र्नेे सुझाव दिए।

‘युनेस्कोले बेलाबेलामा सम्पदा निर्माणको रिपोर्टिङ गर्न पठाउँछन्,’ उनले भने, ‘युनेस्कोको सिस्टममा एक्लैले काम गर्नहुँदैन। टिममा रहेर काम गर्नुपर्छ। विश्व सम्पदामा सूचीकृत संरचना निर्माण गर्दा समुदायलाई पनि सहभागी गराउनुपर्छ।’ उनले सम्पदा निर्माण गर्दा पुरातात्विक, ऐतिहासिक सम्पदाको संरक्षणमा सधैं ध्यान पु¥याउनुपर्नेमा जोड दिए। युनेस्को टोलीले महानगरपालिकाले विश्व सम्पदाका आधारभूत संरचना कसरी व्यवस्थित गर्दै तिनको क्षति हुन नदिन कसरी लागिपर्दै छन भनेर जिज्ञासा राखेका थिए।

विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको संरक्षणमा सरकारको ध्यान जान नसकेको सम्पदाप्रेमीहरूले गुनासो गरे। सम्पदाप्रेमी सञ्जय अधिकारीले पशुपतिमा कंक्रिटको प्रयोग गरी जथाभावी संरचना बनाउँदा पुरातात्विक सम्पदा मासिँदै गएकोे बताए। ‘युनेस्कोको समर्थन गरेर विश्व सम्पदाको संरक्षणमा हामी लाग्दालाग्दै मापदण्डविपरित संरचना बनाइयोे,’ उनले भने, ‘यही कारणले गर्दा पशुपतिको सुन्दरता हराउँदै गएको छ। विश्व सम्पदा बचाउन सधैं सम्पदाप्रेमी युनेस्कोका साथमा छौं।’ उनले सम्पदा संरक्षणमा लाग्दा सम्पदाप्रेमीहरूलाई विभिन्न लाञ्छना लगाउने प्रवृत्ति रहेको समेत युनेस्को टोलीलाई सुनाए।

काठमाडौं महानगरपालिका उपमेयर खड्गी श्रेष्ठले जनप्रतिनिधि भएर आएपछि विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको निर्माणमा महानगरपालिका लागि परेको बताइन्। ‘पहिलेभन्दा जनप्रतिनिधि भएर हामी आइसकेपछि सम्पदा निर्माणमा धेरै जोड दिएर निर्माण कार्य अगाडि बढाएका छौं,’उनले भनिन्, ‘धेरै जनघनत्व भएकाले पनि विकास गर्न गाह्रो भएको छ। विश्व सम्पदा संरक्षणमा हामी लागिपरेका छौं।’

वसन्तपुर क्षेत्रलाई पुरानै ढाँचामा बनाउने योजना रहेको उनले बताइन्। ‘वसन्तपुरलाई पुरानो ढाँचामा निर्माण गर्ने मेरो योजना रहेको छ। महानगरकै बजेट छुट्ट्याएर इतिहास झल्काउने गरी निर्माण गर्ने योजना छ,’ उनले भनिन्, ‘मेरो नेतृत्वले पशुपतिमा हालिएको कंक्रिट र बाटो निर्माण रोक लगाएको छु।’ उनका अनुसार अनुगमन गरी बौद्ध स्तुप, वसन्तपुरआसपासका सम्पदाको संरक्षण भएको छ। उनका अनुसार रानीपोखरी पनि पुरानै अवस्थामा ब्युँतिएको छ। काष्ठमण्डप र हनुमानढोकाको निर्माण अघि बढेकोे छ। कुमारी मन्दिरमा भने टेको लगाइएको छ।

सोही क्रममा उनले महर्जन बिजनेश कप्लेक्सलाई ३५ फिटभन्दा माथि निर्माण गर्न नदिने बताइन्। ‘महानगरपालिकाले योजनाअनुसार काम गरिरहेको छ,’ उनले भनिन्, ‘धेरै दक्ष जनशक्ति नभएकाले एउटा सकेपछि अर्को निर्माण गर्दै जानेछौं।’ यति धेरै पहल गर्दा पनि केन्द्रीय, प्रदेश र स्थानीय सरकारले वल्र्ड हेरिटेज नबचाए खतराको सूचीमा राख्दा हुने उनको भनाइ थियो।

युनेस्कोले काष्ठमण्डप निर्माणमा प्रयोग गरिएको सबै काठ अवलोकन पनि गरेका थिए। त्यस्तैगरी पुरातात्व विभागका टोलीले हनुमान ढोका, वरिपरिका मन्दिरहरूमा अनुगमन गराएको थियो। सो सम्पदा २०७२ सालको भूकम्पले क्षति पु-याएको थियो।

प्रकाशित: ३० आश्विन २०७६ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App