१६ चैत्र २०८० शुक्रबार
समाज

लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन

पोखरामा मंगलबार भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनाल। तस्बिर ः नागरिक

पोखरा - रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।

पर्यटन क्षेत्र उद्योगको रूपमा रहेकाले रातभर चलाउनुपर्ने पक्षमा आफू रहे पनि सबैको सहमतिमा व्यवसाय गर्नुपर्ने महानिरीक्षक खनालको धारणा छ। ‘साउन्ड प्रुफ नगर्ने डिस्कोवाला र होहल्ला मच्चाउने मोटरसाइकललाई नियन्त्रणमा लिई लेकसाइडमा पूरै अपरेसन गर्नुस्,’ मंगलबार संघीय प्रहरी एकाइ कार्यालय पोखराको नवनिर्मित प्रहरी भवन उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशन दिँदै महानिरीक्षक खनालले भने, ‘यसमा कुनै अधिकारको कुरा रहनेछैन।’ प्रहरीसँग सबै अधिकार नभए पनि काम गर्ने बेलामा प्रहरीमै आउने भएकाले सबैलाई सचेत हुन उनले सुझाए।

‘डान्स र डिस्को चलाउनेले साउन्डप्रुफ पूर्वाधार बनाउनुपर्छ,’ उनले भने, ‘कति दिन प्रहरी गएर लाठी लिएर बस्ने ? राति १–२ बजेसम्म खुल्ने डान्स र डिस्कोबाट बाहिरिएका ‘टिनएज’ले ठूलो आवाजका साथ मोटरसाइकल चलाउँछन्।’ बढी आवाज निकाल्ने मोटरसाइकल आयात नै रोक्नुपर्ने उनले बताए। तर राजस्वका कारण ती मोटरसाइकल भित्रिइरहेको उनले प्रस्ट्याए। ‘प्रहरीले कति दिन दौडिरहेका मोटरसाइकल रोकेर बस्ने ?’ उनले भने, ‘ती मोटरसाइकल आयातमै रोक्ने हो भने समस्या समाधान हुन्छ।’

स्थानीयका अनुसार लेकसाइडमा राति २ बजेपछिको अवस्था निकै कोलाहलपूर्ण हुन्छ । हरेक रात उस्तैखाले गतिविधिले स्थानीयले शान्तसँग सुत्न र बस्न नपाएको गुनासो गरेका छन् ।

‘रेस्टुरेन्टलाई कडाइ गर्ने वा डिस्कोप्रति प्रहरीले आँखा चिम्लने नगरौं, यो सह्य हुँदैन,’ उनले भने। अर्काे पटक पोखरा आउँदा अहिलेको जस्तो गुनासो सुन्न नपरोस् भन्दै मातहतका प्रहरीलाई महानिरीक्षक खनालले निर्देशन दिए। पर्यटन क्षेत्रका पूर्वाधार कति बजेसम्म र कसरी चलाउने भन्ने हेर्ने अधिकार स्थानीय सरकारको पनि रहेको उनले बताए। ‘रेस्टुरेन्टलाई कसरी सञ्चालन गर्ने, दर्ता कहाँ र कुन ठाउँमा कसरी चलाउने भन्ने हेर्न स्थानीय सरकारले पाउँछ। त्यस्तै राति कति बजेसम्म चलाउने भन्ने पनि प्रशासनले हेर्छ,’ उनले भने। महानिरीक्षक खनालले एकै ठाउँमा अस्पताल, डिस्को, रेस्टुरेन्ट, होटल दुनियाँमा कहीँ पनि नभएको बताए।

स्थानीय व्यवसायीका अनुसार लेकसाइडमा आधा दर्जन हाराहारीमा डान्स र डिस्को रहेका छन्। ती डान्स र डिस्कोका अधिकांश ग्राहक १८ वर्ष हाराहारीका किशोरकिशोरी हुन्छन्। मध्यरातपछि डान्स र डिस्कोबाट मात्तिएर निस्किएका ती किशोरकिशोरीबीच मूल सडकमै तानातान र कुटाकुट चल्छ। एकअर्काप्रति अश्लील शब्द प्रयोग गर्छन्। मोटरसाइकल ठूलो आवाज आउनेगरी चलाउँछन्। लेकसाइडमा हरेक रात एकैखाले समस्या आएको भन्दै केही दिनअघि पश्चिमाञ्चल होटल संघसहित स्थानीय टोल र आमा समूहले स्थानीय प्रशासनविरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। राति ९ बजेपछिको व्यावसाय रात्रिकालीन भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने माग राखेर रिट दायर गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयसहित कास्की प्रशासन, प्रहरीलाई विपक्षी बनाइएको थियो। तर, रिटपछि छलफलका लागि व्यावसायीले समय मागेपछि केही दिन पेसी सरेको छ। स्थानीयका अनुसार लेकसाइडमा राति २ बजेपछिको अवस्था निकै कोलाहलपूर्ण हुन्छ। हरेक रात उस्तैखाले गतिविधिले उनीहरूले शान्तसँग सुत्न र बस्न नपाएको गुनासो गरेका छन्।महानिरीक्षक खनालको निर्देशनपछि डीआईजी घिमिरेले लेकसाइडमा गत शुक्रबारदेखि रातिको समयमा ५० जनाको संख्यामा थप प्रहरी परिचालन गरिएको जानकारी दिए। अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको आदेश नआई सबै कुरा बाहिर ल्याउन नमिल्ने उनले बताए।

दुई करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा बनेको दुई तले संघीय प्रहरी एकाइ कार्यालय भवनमा १६ कोठा रहेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा सो भवन बनेको हो। यस्तै संघीय प्रहरी कार्यालय ब्यारेक भवन, मेस, स्नानगृह र शौचालय पनि खनालले शिलान्यास गरेका हुन्। सो भवन तीन करोड २५ लाख रुपैयाँ लागतमा बन्ने अञ्चल प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहले बताइन्।

प्रकाशित: ४ भाद्र २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App