काठमाडौं - वरिपरी भग्नावषेश र बर्खेझारले ढाकिएको छ। पुराना इँटा, बुट्टेदार झ्याल, ढोका, थाम र शिलालेखसहितमा ढुंगा भुइँभरी असरल्ल छन्। यी सब छिचोल्दै भित्र छिरेपछि ढल्न लागेकोे जीर्ण मन्दिर देखिन्छ। मन्दिरको बाहिरपट्टी विष्णु, कृष्ण र देवीको मूर्ति छन्। तीनैको सामुन्ने डोरी बाँधेर भित्री वस्त्रसहितका लुगा सुकाइएको छ। मन्दिर वरिपरी मानवीय तवरबाट भएका चर्तिकला हेर्दा लाग्छ सम्पदा क्षेत्रमाथि यो भन्दा ठूलो अपमान के होला ? पशुपतिनाथ क्षेत्रको जेठो मन्दिर मानिएको मृगस्थलीको लिच्छवीकालीन शिव र पार्वतीको विराट स्वरुप भएको विश्वरूपा मन्दिरलाई पछ्याउँदै जाँदा यस्तै देखियो।
पशुपति क्षेत्र विकास कोषको लापरवाही र बेवास्ताले अहिले विश्वरुपाकोे अस्तित्व संकटमा छ। ०७२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक मन्दिरको पूनर्निर्माणमा कोषले कुनै सुरसार गरेको छैन। संरक्षण नहुँदा विश्वरूपा मन्दिरसँगै रहेका अन्य ऐतिहासिक संरचना पनि भत्किने अवस्थामा छन्। पुराना पाटी भत्किनै लागेका छन्। देवी देवताका मूर्ति र शिलाखेल मेटिने अवस्थामा छन्।
विश्व सम्पदा सूचीमा रहेको विश्वरूपा मन्दिरको संरक्षण नहुँदा त्यसको मौलिक अस्तित्व भत्कन लागेको बताउँछन् सम्पदाप्रेमी चिरञ्जीवी न्यौपाने। उनी मन्दिर र पुराना वस्तुको हेरचाहको निम्ति बसेका हेरालुले नै ऐतिहासिक मन्दिर अगाडि भित्री बस्त्रहरु सुकाएर देवताको अपमान गरेको सुनाउँछन्। ‘पशुपतिको इतिहास वा चिनारीको रुपमा रहेको यो मन्दिर अहिले धरापमा छ। विकास कोषले चासो दिएको छैन। मन्दिरभित्र रहेको मूर्ति हराउलान् भन्ने पीर हुन थालेको छ,’ उनी भन्छन्।
वरिपरी भग्नावषेश र बर्खेझारले ढाकिएको छ। पुराना इँटा, बुट्टेदार झ्याल, ढोका, थाम र शिलालेखसहितमा ढुंगा भुइँभरी असरल्ल छन्। यी सब छिचोल्दै भित्र छिरेपछि ढल्न लागेकोे जीर्ण मन्दिर देखिन्छ। मन्दिरको बाहिरपट्टी विष्णु, कृष्ण र देवीको मूर्ति छन्।
त्यहाँ मन्दिर र ऐतिहासिक वस्तुको सुरक्षार्थ चारजना सुरक्षाकर्मी र ७ जना हेरालु राखिएको छ। तर, यतिधेरै हेरालू राखिएको मन्दिरको भित्री दृश्य बिजोक छ। मन्दिरलाई झारैझारले ढाकेको छ। हेरालू बस्ने टहराको दायाँवायाँ गोरेटो बाटो बनाइए पनि मन्दिर वरपर सरसफाइ गरिएको छैन। हेरालुले मन्दिर परिसरमा लुगा सुकाउने, पूराना काठ जथाभावी बाल्ने, भित्ता खन्नेलगायतका अवैध काम गरिरहेका छन्।
हेरालु मानबहादुर थापा कोषले चासो नदिएपछि आफूहरुले पनि मन्दिर परिसरलाई हेरचाह गर्न छाडेको बताउँछन्। ‘हामीले जम्मा एक हजार तलबमा मन्दिर हेरचाहको काम गरेका छौं। अरु पुनर्निर्माण र त्यसको सामानहरु व्यवस्थित गर्ने काम कोषकै हो,’ उनी भन्छन्, ‘तर, कोषले न त हाम्रो कुरा सुन्छ न त आफूलै नै सक्रिय भएर सम्पदा पुनर्निर्माणमा ध्यान दिएको छ।’ उनले आसपासमा डोरी बाँधेर सुकाएका भित्रीवस्त्रसहितका लुगा नसुकाउन सबैलाई आग्रह गर्ने बताए।
राणा प्रधानमन्त्री जंगबहादुर राणाले मन्दिर बनाएर त्यहीँ विश्वरुपाको मूर्ति प्रतिस्थापन गरेका थिए। अहिले विश्वरुपा मन्दिरको चारैतिर अन्य ऐतिहासिक मूर्ति छन्। यहाँ पुजारी पनि नियुक्ति गरिएको छ। २४ फिट लम्बाईमा बनेको शिव पार्वतीको अष्ट धातुको दुर्लभ मूर्ति रहेकाले यो मन्दिरलाई विश्वरुपा भनिएको हो। भूकम्पका कारण विश्वरुपामा मन्दिरभित्र सबैतिर क्षति पुगेको छ। क्षति पुगेपछि सबैभन्दा महत्वपूर्ण मानिएको विश्वरुपाको मूर्तिलाई त्यहीँ जीर्ण भवनमा ताला लगाएर राखिएको छ।
काठमाडौं महानगरपालिका–८ का वडाध्क्ष दिनेशकुमार डंगोलले केही महिनाअघि कोषकै बदमासीले विश्वरुपमा परिसरमा ठडिन लागेका टहरा आफूहरुले नै भत्काएको बताए। उनी भन्छन्, ‘कोषले ढलेको विश्वरुपा मन्दिर उठाउनुको साटो मन्दिरको आँगनमा मापदण्ड विपरीतका टहरा निर्माणको लागि जग खनेको रहेछ। त्यसको विरोध गर्दै हामीले भत्काएका थियौं। अहिले पनि पुनर्निर्माण गर्नुप¥यो भनेर दबाब दिइरहेका छौं तर कोषले सुनेकै छैन।’
पुशपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारी विश्वरुपा मन्दिरभित्र अष्ट धातुको शिव र पार्वतीको मूर्ति रहेको बताउँछन्। उनका अनुसार ती मूर्ति लिच्छवीकालीन समयका इतिहास हुन्। उनी भन्छन्, ‘भूकम्पयता मन्दिर ताला लगाएर राखिएको छ। बेला बेलामा कोषले खोल्ने गरेको पनि छ। तर पुनर्निर्माणको लागि कुनै पनि चासो देखाएको छैन।’ यो मन्दिरको शैली र त्यसमा प्रयोग हुने सामग्री फरक रहेको उनको भनाइ छ। भण्डारीका अनुसार विश्वरुपमा मन्दिरभित्र विश्वमै नभएको मूर्ति छ। त्यसलाई अहिले जीर्ण मन्दिरभित्र राखिएको छ।
भण्डारीकै भनाइ अनुसार २४ फिटको त्यो मूर्ति प्राचीन र अनुपम छ। यो अनमोल मूर्ति अहिले नष्ट हुने अवस्थामा छ। मन्दिरको भित्र खोपा–खोपामा स–साना अन्य भगवानका मूर्ति छन्। शिव र पार्वतीको विराट रुप भएकाले यो मूर्तिलाई विश्वरुपा भनिएको हो। यसबारेमा पुराण, शिव पुराण, नेपाल महात्मालगायत ग्रन्थमा पनि उल्लेख छ। भूकम्पछि कोषले सेना लगाएर मन्दिरको केही भाग भत्काएको थियो।
हतार गरेर मूर्ती निकाल्दा पार्वतीको मूर्ति भाँच्चिएको छ। प्रदेश सांसद नरोत्तम वैद्य पशुपति क्षेत्रभित्र पछिल्लो समय जथाभावी संरचना निर्माण भएको र त्यो मौलिकताअनुरुप नभएको बताउँछन्। उनी भन्छन् ‘सम्पदामा सबैको चिन्ता र भावना जोडिएको छ। कोषले सबैलाई समेटेर सम्पदा बनाउने काम गर्नुपर्छ। पछिल्लो समय कोषको काम चित्तबुझ्दो छैन। यति पुरानो मन्दिरको मर्मलाई वास्तै गरिएन।’ उनले यसअघि विश्वरुपा क्षेत्रमा सुशासन ऐन २०६४ विपरीत कोषले संरचना निर्माण गरेकोले त्यो सबै भत्काइएको बताए।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले कसैगरी विश्वरुपाको अस्तित्व भत्काउने नदिने बताए। उनले यसअघि आफूहरु गएर अवलोकन गरेकोले सबै वस्तुहरु सुरक्षित रहेको जानकारी दिए। ‘हामीले एकदमै निगरानी राखेका छौं। विश्वरुपालाई कसरी उठाउने भनेर सरोकारवालासँग पट्कपटक छलफल पनि भएको छ,’ उनले भने।
प्रकाशित: ३ भाद्र २०७६ ०२:०२ मंगलबार





