६ वैशाख २०८१ बिहीबार
समाज

दुधकुण्ड पुगे सयौं दर्शनार्थी

सानो दुधकुण्डमा दर्शनका लागि लामबद्ध दर्शनार्थी। तस्बिर ः नागरिक

सोलुखुम्बु – जिल्ला सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने हिमाल नुम्बुर हो। त्यही नुम्बुर हिमालको काखैमा पोखरी छ, जुन दुधकुण्डको नामले चिनिन्छ। धार्मिक महŒवसमेत बोकेको प्राकृतिक सुन्दरताले भरिएको यो कुण्ड र सानो दुधकुण्डको नामबाट परिचित फाप्लुस्थित सेतीदेवीको मन्दिरमा जनै पूर्णिमाको अवसरमा सयौं दर्शनार्थीले दर्शन गरे।

सल्लेरीबाट नजिकै रहेको सेतीवेदी मन्दिर (सानो दुधकुण्ड) मा टाक्सिन्दुमा अवस्थित ठूलो दुधकुण्डमा भन्दा बढी दर्शनार्थी यातायातको सहजताकै कारण पुग्छन्। नेचाका हरी राई चिताएको कुरा पुग्ने विश्वासरमा सानो दुधकुण्ड मेला भर्न आएको बताउँछन्। ओखलढुंगा जन्तरखानीका गोरेबहादुर मगरले एउटा भाकल पूरा भएकाले दोस्रो पटक दुधकुण्ड आएको बताए। उनले भने, ‘मेरो आकांक्षा पूरा भयो। यसपटक मेरी पत्नीका लागि दुधकुण्ड आएका छौं। मनोकांक्षा पूरा हुन्छ भन्नेमा विस्वस्त छु।’

मगर मात्र होइन जिल्लाभित्र र बाहिरका सयौं दर्शनार्थी बर्सेनी दुधकुण्डको मेला भर्न आउँछन्।ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीले सानो दुधकुण्डको दर्शन गर्दै आएका छन्। श्रावण शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा धाँमीझाँक्री र विभिन्न स्थानबाट आएका दर्शनार्थीले पूजा गर्दै आएका छन्। कुण्डको व्यवस्थापनमा स्थानीय सरकारले पनि चासो देखाएको छ। सोलुदुधकुण्ड नगरपालिकाले चालु आर्थिक वर्ष सानो दुधकुण्ड पोखरीको व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको छ। आगामी दिनमा पनि आवश्यक व्यवस्थापन गर्दै जानेमा आफू प्रतिबद्ध रहेको मेयर नाम्गेलजाङबु शेर्पाले बताए।

समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा पर्ने दुधकुण्डमा बिहीबार विशेष मेला लाग्यो। विगतमा जस्तै यस वर्ष पनि जनैपूर्णिमाको अवसरमा ३ हजारभन्दा बढी दर्शनार्थी यहाँ आएको अनुमान छ। सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो। जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभइ बौद्धमार्गी, किरातीहरु समेत दुधकुण्ड पुग्ने गर्छन्।

ठूलो दुधकुण्डको व्यवस्थापनमा पनि नगरपालिकाले चासो देखाएको छ। अघिल्लो वर्ष शौचालयको व्यवस्थापन गरेको स्थानीय सरकारले यो वर्ष पोखरी केही नजिकसम्म सडक विस्तार गर्ने तयारीमा छ। नगरपालिका दुधकुण्ड पोखरीको महिमा विषयमा वृत्तचित्र समेत निर्माण गरी प्रचारप्रसारमा लागिसकेका छ। बर्र्सेनी लाग्ने मेलामा हाइअल्टिच्युडको समस्यालाई ध्यानमा राख्दै नगरपालिका र रेडक्रस सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ।

जनैपूर्णिमाको अवसरमा यस स्थानमा नुहाए पुण्य प्राप्त हुने जनविश्वास छ। पोखरीको अर्को छेउमा शिवलिंग छ। बुबाआमा भएकाले पूरै पोखरी नघुम्नु भन्ने भनाइ छ।यो तालको अतिरिक्त यसको आसपास गंगा–जमुना। भुतपोखरी गरी १० वटा स–साना तालसमेत छन्। पोखरीको सुरुको छेउमा अहिले सानो मन्दिर निर्माण गरिएको छ। यहाँ पूजाआजा गर्न तथा बत्ती बाल्ने प्रबन्ध मिलाइएको छ।

पोखरीको नजिकै सानो बुद्धको मूर्तिसमेत छ, जसलाई बौद्ध धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धाको रुपमा लिने गर्छन्। यो स्थानसम्म पुग्न पोखरीको वल्लो छेउदेखि लगभग २ घण्टा हिँड्नुपर्छ। यहाँबाट ओरालो झरेपछि विशाल ढुंगाको फेदमा आयु माग्ने स्थान छ, जहाँ पुजा गर्दा आयु बढ्ने तथा गाईवस्तु राम्रो हुने जनविश्वास छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App